हामीले फलामलाई सोध्यौँ
तिमी कति बलियो छौ?
सिमेन्टलाई पनि सोध्यौँ
तिमी कति टिक्न सक्छौ?
तर माटोलाई सोध्न बिर्सियौँ
तिमीले यो घरको भार
कसरी थाक्नेछौ?
फलाम र सिमेन्टका बिम देखाएर
हामीले घोषणा गर्यौँ
सुरक्षा भनेको
फलामको सङ्ख्या हो
जमिनको त याद नै गरेनौँ
हामीले बुझेनौँ हरेक जमिनको
आफ्नै स्मृति हुन्छ
कहीँ पुरिएको खोल्सो
कहीँ थुपारिएको माटो
कहीँ चुपचाप रसाइरहेको पानी
यस्तै यस्तै अनेकन्
बाहिरी आवरणहरू बिच
सबै कथा कहाँ पढ्न सकिन्छ र?
प्रकृतिले हामीलाई हराउन होइन
बचाउन झरी पठाएकी हुन्
पानी बग्छ
माटो भिज्छ
धरती आफ्नै स्वभावमा रमाउँछ
तर हामीले नै हिसाब गलत गर्दा
पल्टने हो हाम्रो बास
पल्टिएको घरले अहिले पनि सोधिरहेछ
मलाई ढड्याउँदा
तिमीहरूले मेरो उचाइ हेर्यौ
तर म अडिने आधार
कहिल्यै हेरेनौ।
आइन्दा घरहरू उठाउँदा
स्मृतिका यी सबै प्रश्नलाई पनि उठाउनु होला
प्रत्येक निर्णयहरूमा
घरभित्र बस्नेहरूको अनुहार पनि हेर्नुहोला
किनकि
घरको सबैभन्दा ठुलो सौन्दर्य
घरको अग्लो शिर होइन
त्यही घरभित्र निदाएको जीवन
बिहान सकुशल ब्युँझनु हो।