बेइजिङ डायरी
सन् २०१९ को जुन १४ तारिख शुक्रबार राष्ट्रिय समाचार समितिका पत्रकार एकराज पाठकसँग म चीनको तिब्बत स्वायत्त प्रदेशको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा पुगेको थिएँ।
नेपाली महावाणिज्य दूतावासको भवन निर्माण अन्तिम चरणमा पुगेको थियो। चीन सरकारले अनुदानमा निर्माण गरिदिएको महावाणिज्य दूतावास भव्य र शानदार देखिन्थ्यो।
भवन अगाडि उभिएर तत्कालीन महावाणिज्यदूत गोबिन्द कार्की (हालका मुख्य सचिव) ले नेपाली महावाणिज्य दूतावास चाँडै नयाँ भवनबाट सञ्चालन हुने बताए।
कुराकानी क्रममा मैले एउटा प्रश्न कार्कीलाई सोधेँ, 'भवन निर्माणका लागि कार्यरत सबै मजदुरहरू तिब्बती मूलका नै त होलान् नि?'
मुसुक्क मुस्कुराएर कार्कीले जबाफ दिए, 'कहाँ तिब्बतीले श्रमको काम गर्छन् र? यहाँ श्रमको काम गर्ने सबै व्यक्तिहरु मुख्यभूमिबाट ल्याइन्छन्। तिब्बतीहरूले त जन्मिँदै आरक्षण र विशेष आर्थिक सुविधा पाउँछन्। उनीहरू शानदार गाडीमा हुइँकिन्छन्। तिब्बती जातिका नागरिकले पाएको आर्थिक सुविधा र जीवनस्तरले गर्दा यस्तो श्रम गर्ने काम उनीहरू गर्दैनन्।'
कार्कीको जबाफ सुनेर म छक्क परेँ।
मैले थाहा पाए अनुसार चीनकै सबभन्दा गरिब प्रान्त मानिन्छ तिब्बत। तर सरकारी विशेष सुविधाले गर्दा उनीहरु श्रमको काम गर्दैनन् भन्ने थाहा पाउँदा आश्चर्य लाग्नु स्वाभाविक थियो।
म सन् २०२५ मा फेरि तिब्बत भ्रमणमा पुगेँ। त्यति बेला तिब्बतको नाम परिवर्तन भएर सिचाङ भइसकेको थियो।
ग्रिनहाउसमा महावाणिज्यदूत
ल्हासामा निर्माणाधीन महावाणिज्यदूतवास अगाडि
यो भ्रमणमा ल्हासा मात्र नभई आली क्षेत्र पनि पुग्ने मौका मिल्यो। आली क्षेत्र तिब्बतको पश्चिमी भूभाग हो जहाँ कैलाश पर्वत र मानसरोवर ताल छन्।
सन् २०२५ जुलाई ३ तारिख आली क्षेत्रमा भ्रमण गर्दा एक जना तिब्बतीको घरमा हामी पुग्यौं। त्यहाँ ८८ र ८६ वर्षका दुई वृद्ध महिला थिए।
दोभासेको सहयोगमा मैले ८८ वर्षकी महिलासँग केहीबेर गफ गर्ने मौका पाएँ। कुराकानी क्रममा ती वृद्ध महिलाले दिएको जवाफ मेरा लागि अर्को आश्चर्यजनक थियो।
मैले ती महिलालाई ८८ वर्षको उमेरमा तपाईंलाई सबभन्दा खुसी बनाउने तीन वटा कुरा के हुन् भनेर प्रश्न गरेको थिएँ।
केहीबेर उनी घोरिइन्। दोभासेले दोहोर्याएर प्रश्न बुझाएपछि उनले जबाफ दिइन्।
उनको जबाफमा तीन वटा खुसीका कुराहरू मेरो सोचाइभन्दा बिल्कुलै फरक थिए।
उनले भनिन्, 'नाति–नातिना मात्र होइन, पनाति–पनातिना पनि मैले देख्न पाएँ। उनीहरू सबै जिउँदै हुर्किए।'
यति भनेर उनी केहीबेर मुस्कुराइन्।
त्यसपछि उनले दोस्रो खुसीको कुरा सुनाइन्, 'मेरा नाति–नातिनाले स्कुलमा पढ्न पाएको मेरै आँखाले देख्न पाएँ। कोही त बेइजिङसम्म पुगेर पढेका छन्।'
यसो भनेर उनले छेउमा उभिएको नातितिर हेरिन्।
अनि तेस्रो खुसीको कुरा सुनाइन्, 'मैले परिवारका सबैसँग बसेर ८८ औं जन्मोत्सव मनाउन पाएँ। यस्तो अवसर सबैले पाउँदैनन्।'
मेरा प्रश्नको जबाफ दिएर उनी निकैबेर हाँसिन्। हामी नेपालीहरू पनि हाँस्यौं।
खासमा मैले उनीबाट यस्तो जबाफको अपेक्षा गरेको थिइनँ।
उनको जबाफपछि मैले हाम्रा दोभासेलाई उनका जबाफलाई विस्तारित व्याख्या गर्न लगाएँ। त्यसपछि पो म आश्चर्यमा परेँ।
८८ वर्षीया वृद्धा र म (लेखक)
पछिल्ला पाँच दशकमा चीनको सिचाङ (तिब्बत) स्वायत्त प्रदेशले लोभलाग्दो प्रगति गरेको छ। यस अवधिमा सिचाङको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा आश्चर्यजनक वृद्धि भएको छ।
सन् १९६५ मा सिचाङको जिडिपी ३२ करोड ७० लाख चिनियाँ युआन थियो। यो सन् २०१४ मा ९ खर्ब २० अर्ब ८३ करोड युआन पुगेको थियो, जुन ६८.५ गुणाले वृद्धि भएको हो।
विगत २१ वर्षदेखि सिचाङको जिडिपी सधैं दोहोरो अंकको वृद्धि हुँदै आएको छ।
सिचाङमा भएको प्रगतिको अर्को सूचकांक त्यहाँ भएको गरिबी निवारण हो। चीनको केन्द्र सरकारले लगानी र अनुदानमार्फत सिचाङलाई गरिबीबाट मुक्त गराउन ठूलो सहयोग पुर्याएको छ।
आर्थिक सहायता र पूर्वाधार निर्माणले ४ लाख ३० हजार मानिसहरूलाई गरिबीको रेखाबाट उठाउन सहयोग गरेको छ। सिचाङ यति बेला खाद्यान्नमा पनि आत्मनिर्भर बनेको छ।
नेपालसँग सीमा जोडिएको सिचाङमा भएको पूर्वाधार विकास इर्ष्यालाग्दो छ। पचास वर्ष अगाडि सडकको अभाव रहेको यो क्षेत्रमा अहिले विशाल सडक सञ्जाल निर्माण भएको छ।
पहिले कुनै पक्की सडक नभएको सिचाङमा अहिले ७५,००० किलोमिटर लामो सडक सञ्जाल छ भने चीनका अन्य प्रान्त र नेपाल लगायतका चीनका छिमेकी मुलुकसँग जोड्ने काम पनि गरेको छ।
पूर्वाधार विकासमा त सिचाङले विश्वका अर्थशास्त्री, भूगोलविद, भौगर्भशास्त्री, विकासविद, वैज्ञानिक सबैलाई 'फेल' बनाएको छ।
विश्वको सबभन्दा अग्लो भूभाग त्यसमाथि अत्यन्त कठिन भूगोल रहेको सिचाङमा रेल चलाउन असम्भव भनेर ती विज्ञले लगभग पाँच दशक अगाडि घोषणा गरेका थिए। कसैका कुरा पनि नसुनी चीन आफ्नो काममा निरन्तर लागिरह्यो। फलस्वरूप दुई दशक अगाडि ल्हासामा रेल गुड्यो।
अहिले रेल सेवाले सिचाङलाई चीनको राष्ट्रिय रेल सञ्जालसँग जोडेको छ।
सन् २००६ जुलाई १ तारिख उद्घाटन गरिएको छिङहाई–तिब्बत रेलमार्ग विश्वको सबभन्दा अग्लो भूभागको रेलमार्ग हो, जसले ल्हासालाई देशका अन्य भागहरूसँग जोडेको छ र पर्यटन तथा व्यापारमा वृद्धि भएको छ।
ल्हासादेखि पश्चिमतिर सिगाच्छेसम्म यो रेलमार्ग विस्तार भएको छ भने ल्हासादेखि दक्षिण पूर्वमा रहेको अर्को सहर लिन्चसम्म पनि रेलसेवा विस्तार भएको छ। यो रेलमार्ग ५ हजार २ सय मिटरको उचाइबाट पार हुन्छ।
सिचाङको अर्को महत्वपूर्ण उपलब्धि त्यहाँका नागरिकमा देखिएको उच्चस्तरको स्वास्थ्य सेवा हो।
सिचाङ स्वायत्त प्रदेशको स्वास्थ्य आयोगले जारी गरेका प्रतिवेदन अनुसार सन् १९५१ मा तिब्बतीहरूको औसत आयु ३५.५ वर्ष थियो। अहिले ७२.५ वर्ष पुगेको छ।
यसका लागि शिक्षा, स्वास्थ्य, पौष्टिक खाद्यान्न आदि कुरामा आएको सुधारले यस्तो भएको हो।
अहिले सिचाङमा १,६०० अस्पतालमा २१,५०० शय्या छन्। सन् १९५९ मा सिचाङमा गर्भवती मृत्युदर (प्रति १,००,०००) ५,००० थियो। सन् २०२२ मा ३४.९४ मा झरेको छ। त्यसैगरी शिशु मृत्युदर (प्रति १,०००) ४३० बाट घटेर अहिले ४.३२ मा झरेको छ।
तिब्बती सडक किनारमा रोपिएका बिरूवा
त्यहाँको शिक्षा सेवा पनि उस्तै तीव्र गतिमा अगाडि बढेको छ। सिचाङमा सेरफ सेन प्रथाको अन्त्यपछि आम जनताको शिक्षामा पहुँच नाटकीय रूपमा बढेको छ।
अहिले सिचाङमा ९८.५ प्रतिशत प्राथमिक विद्यालय उमेर समूहका बालबालिका विद्यालय भर्ना भएका छन्। सन् २००८ सम्ममा सन् १९५० को दशकको ९५ प्रतिशत निरक्षरता दर घटेर समग्रमा २.४ प्रतिशतमा झरेको छ।
सिचाङ विभिन्न सांस्कृतिक सम्पदाले भरिपूर्ण छ। चीन सरकारले सिचाङमा सांस्कृतिक संरक्षण गरेर सम्पदा संरक्षणमा पर्याप्त लगानी गरेको छ। सिचाङका विद्यालय, सरकारी कार्यालय र कानुनी कार्यहरूमा तिब्बती भाषा प्रयोग हुन्छ।
सिचाङमा १,७०० भन्दा बढी धार्मिक स्थलहरू पुनः निर्माण गरिएको छ। ती स्थलहरूमा भिक्षु र आनीलाई धार्मिक तिब्बती भाषामा पठनपाठन हुन्छ।
सिचाङको प्राकृतिक सौन्दर्य र ट्रान्स–हिमालयन पर्यटनको विकाससँगै पर्यटन उद्योगमा उल्लेख्य वृद्धि भएको छ।
सन् २०१८ मा मात्रै ३ करोड ३६ लाख ९० हजार पर्यटकले सिचाङ भ्रमण गरेका थिए। ती पर्यटकबाट ४९ अर्ब चिनियाँ युआन राजस्व संकलन भएको थियो। यसले स्थानीय अर्थतन्त्र र रोजगारी वृद्धिमा ठूलो योगदान दिएको छ।
सिचाङ पठार मरूभूमि भएको मुलुक हो। चीन सरकारले विभिन्न अत्याधुनिक प्रविधि प्रयोग गरेर त्यहाँ हरितकरणको विकास गरेको छ। यस कार्यले छिङहाई–तिब्बत पठारलाई 'राष्ट्रिय पार्क' क्षेत्रका रूपमा विकास गरेर आर्थिक प्रगतिसँगै वातावरणीय सन्तुलनमा पनि विशेष ध्यान दिइएको छ।
हाल सिचाङको लगभग ४० प्रतिशत भूभाग (पठारको एक तिहाइभन्दा बढी) प्राकृतिक आरक्षमा परेको छ, जुन चीनको अन्य भागहरूमा १५ प्रतिशत मात्रै छ। पछिल्लो ५० वर्षमा सिचाङबाट कुनै पनि वन्यजन्तुको प्रजाति लोप भएको छैन र यो संसारको सबैभन्दा स्वच्छ वातावरणहरू मध्ये एक हो।
सिचाङ स्वायत्त क्षेत्रको तथ्यांक ब्युरोले प्रकाशन गरेको प्रतिवेदन अनुसार सन् २०२५ मा सिचाङको कुल गार्हस्थ्य उत्पादन ३०३१.८९ अर्ब युआन पुगेको छ। सिचाङको जिडऽपीले पहिलो पटक ३०० अर्ब युआनको कोसेढुंगा पार गरेको हो। यसलाई सिचाङको आर्थिक विकासमा एउटा ऐतिहासिक उपलब्धि मानिन्छ।
अहिले सिचाङवासीको प्रतिव्यक्ति आम्दानी ३३ हजार ६ सय युआन पुगेको छ। सिचाङको अर्थतन्त्रको मुख्य चालक शक्ति पहिलो त्यहाँको स्थिर लगानी हो जुन वार्षिक १७.२ प्रतिशतले वृद्धि हुँदै आएको छ।
त्यसैगरी दोस्रो चालक शक्तिमा त्यहाँको औद्योगिक विकास हो जुन १२.४ प्रतिशत वृद्धि हुँदै आएको छ।
मानसरोवर र कैलाश
सिचाङ स्वायत्त प्रदेशको यातायात विभागले सन् २०२६ जनवरी १ मा सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२५ को अन्त्यसम्म, सिचाङमा १ लाख २५ हजार २०० किलोमिटर सडक सञ्जाल पुगेको छ।
सिचाङका सबै नगरपालिकामा सडक पहुँच शतप्रतिशत पुगेको छ भने ग्रामीण क्षेत्रमा ९२.४८ प्रतिशत सडक पहुँच पुगेको छ।
सन् २०२५ मा सम्पन्न चीनको १४ औं पञ्चवर्षीय योजनाको अवधिमा मात्र ६,५९५ किलोमिटर ग्रामीण सडक विस्तार गरी ग्रामीण सडकको कुल लम्बाइ ९४,४०० किलोमिटर पुगेको छ।
ल्हासालाई केन्द्र बनाएर सिचाङका पाँच वटा सहरमा तीन घन्टामा पुग्ने गरी द्रुतमार्ग यातायात सञ्जाल विकसित भएको छ, जसले ल्हासा, शिगात्से, चाम्दो, लिन्ची र नाग्छु सहरहरूलाई जोडेको छ।
चिनियाँ रेलवेको आधिकारिक तथ्यांक अनुसार हाल सिचाङमा १,३५९ किलोमिटर रेलमार्ग सञ्चालनमा छ। छिङहाई–तिब्बत रेलवे सन् २००६ देखि सञ्चालनमा छ भने ल्हासा–शिगात्से रेलवे सन् २०१४ देखि सञ्चालनमा आएको हो।
त्यसैगरी ल्हासा–लिङ्ची रेलवे सन् २०२१ मा सञ्चालनमा आएको हो।
सिचाङको रेलमार्गलाई सन् २०३५ सम्म ५,००० किलोमिटर पुर्याउने योजना छ। अहिले ल्हासा पुग्ने रेल कान्सु प्रान्तको लान्चौदेखि छिङहाई प्रान्तको सदरमुकाम सिनिङ हुँदै जान्छ। निकट भविष्यमै सिचुआन–तिब्बत रेलवे सञ्चालनमा आउँदैछ। यो रेलमार्ग सञ्चालनमा आएपछि निकै सस्तो र कम समयमै चिनियाँ सामान नेपाल पुग्नेछ।
आली क्षेत्रमा ती ८८ वर्षीया तिब्बती महिलाले दिएको जवाफको अर्थ त मैले उल्लिखित तिब्बतको विकासका तथ्यांकबाट बुझ्ने मौका पाएँ।
सरदर आयु ३५ वर्ष रहेका तिब्बतीहरूमा नाति–नातिना देख्न पाउने सौभाग्य सबैमा रहेनछ। पढ्न पाउने गुन्जायस पनि थिएन।
अझ बेइजिङ पुगेरै नाम चलेका विश्वविद्यालय पढ्ने कुरा त उनीहरूले सपनामा पनि चिताएका थिएनन्।
कार चढेर जागिरमा जाने र जन्मोत्समा तीनदेखि चार पुस्ता भेला हुनु साँच्चै खुसीको कुरा हो भन्ने मैले बल्ल अनुभूति गरेँ। विकास भौतिक पूर्वाधारमा मात्र मापन नहुने रहेछ।
विकास त जनताको खुसी र हँसिलो अनुहारमा पो चम्किने रहेछ।
त्यसपछि मैले तत्कालीन महावाणिज्यदूत गोविन्द कार्कीले भनेको कुरालाई पनि मनन गरेँ।