न्यायपरिषदका सदस्य रामप्रसाद सिटौलाले पछिल्लोपटक सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका मनोजकुमार शर्मा र उच्च अदालतमा नियुक्त भएकी रेणुका साहबारे आफ्नोपनि असन्तुष्टीका रहेको बताएका छन्।
चैत १९ गते न्यायपरिषदले सर्वोच्चमाल शर्मासहित ५ र उच्च अदालतमा साहसहित १८ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो।
त्यही विषयलाई लिएर नेपाल बार एशोसिएशनले उनीसँग जवाफ मागेको थियो। उनी बारकै प्रतिनिधित्व गरेर परिषदको सदस्य भएकाले उनीसँग बारेले न्यायाधीश नियुक्तिको अनुभव बताउन बोलाएको थियो।
बिहीबार नेपालबारको केन्द्रीय समितिमा उपस्थित भएका सिटौलाले न्यायाधीश नियुक्ति सिफारिसका बेला सर्वोच्चका लागि मनोजकुमार शर्मा र उच्च अदालतका लागि रेणुका शाहको नाममा आफुले असतुष्टी व्यक्त गरेको बताए।
बिहीबारको बैठकमा बार कोषाध्यक्ष रूद्र प्रसाद पोखरेलले विशेष गरि शर्मा र उच्च अदालतको न्यायाधीश बनाइएकी रेणु शाहको नियुक्ति किन गरेको र त्यसमा किन सहमति दिएको भनेर सिटौलालाई प्रश्न गरेका थिए।
जवाफमा सिटौलाले ती नाममा आफ्नो पनि असन्तुष्टी रहेको जवाफ दिएको बार सदस्य गंगासागर खत्रीले सेतोपाटीलाई जानकारी दिए।
‘तपाईंले भनेका मान्छेका विषयमा कुरा उठेपछि मैले उहाँलाई नगरौं भनेको थिएँ। मैले असन्तुष्टी राखेपनि उहाँहरू तीनजनाले लिएर आएको नाममा मेरो केही लाग्दैन बहुमतले नै पारित हुन्छ। म त गठ्यौला जस्तो हुने भएँ कमिलाले तानेर लान्छन् त्यसैले नोटअफ डिसेन्ट लेख्ने आँट पनि गर्न सकिन,’ सिटौलालाई उद्धृत गर्दै खत्रीले भने।
उनको भनाइ बारका एक पदाधिकारीले पनि पुष्टि गरे।
ती पदाधिकारीका अनुसार, यसपालिको न्यायाधीश सिफारिस गर्ने बैठक पनि अध्यक्षले अकस्मात राखेको हुँदा पर्याप्त छलफल गर्ने समय आफूलाई समेत नमिलेको सिटौलाको जवाफ थियो। आउँदा दिनमा नेपालबारसँग समन्वय गरेरै आफू अघि बढ्ने आश्वासन उनले दिए।
यसपालीको नियुक्तिमा प्रधानन्यायाधीश, सत्तारूढ नेपालकम्युनिष्ट पार्टी र त्यसका नेता साथै विपक्षीदल नेपाली कांग्रेसको नातावाद र भागबण्डा भएको भन्दै विरोध भएको थियो।
सर्वोच्चको न्यायाधीश बनाइएका मनोज कुमार शर्माको योग्यता नपुगेको भन्दै बरिष्ठ अधिवक्ता शम्भू थापाले रिट नै दायर गरेका थिए। अरू कतिपय अधिवक्ताको पनि यो नियुक्तिमा असन्तुष्टी थियो।
शर्मा पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिजा र साह पूर्वप्रधानन्यायाधीश रामकुमार प्रसाद साहकी छोरी हुन्। दुवैलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको जोडबलमा नियुक्त गरिएको हो।
नेपालबारले न्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न भन्दै वैशाख ९ गते आफ्नो प्रतिनिधित्व गरेर परिषद सदस्य बनेका सिटौलालाई बोलाउने निर्णय गरेको थियो।
यही निर्णय अनुसार बारले उनलाई पत्र लेखेको थियो। त्यो पत्रलाई लिएर वैशाख २६ गते कानुन दिवसका दिन बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सिटौलाको सर्वोच्च परिसरमै भनाभन भएको थियो।
त्यो बेला सिटौलाले बारअध्यक्षलाई उक्त पत्रको ‘धोती लगाइदिन्छु’ भन्ने धम्की दिएका थिए। त्यसपछि उनीहरूबीच भनाभन भएको थियो।
उनले अशिष्ट भाषा प्रयोग गरेको भन्दै पूर्व बारअध्यक्षहरूको सल्लाहमा बारले सिटौलालाई दिन तोकेरै जवाफ दिन बोलाएको थियो।
बिहीबार भने सिटौलाले कानुन दिवसका दिन प्रेसर बढेकाले आवेशमा आएको उत्तर दिए।
‘त्यसअघि केही न्यायाधीशहरूले पनि मलाई यहीबिषयमा सोधेका थिए उहाँले पनि कुरा झिक्नुभो त्यसैले आवेशमा आएर के बोलेँ मैलाई थाहा छैन तर बार अध्यक्षलाई होच्याउने नियत मेरो थिएन,’ सिटौलालाई उद्धृत गर्दै ती बार पदाधिकारीले भने।
उनीसँगको छलफलपछि बार बैठकआजका लागि सकिएको छ।
भोली पनि बैठक बस्ने र छलफलमा उठेका विषयमा निर्णय भोली नै गर्ने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए।