सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र वामघटक राष्ट्रिय जनमोर्चाबीच मंसीर १४ गते हुने उपनिर्वाचनमा तालमेल गर्ने सहमति भएको छ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीका अध्यक्षहरूबीच भएको बैठकले उपनिर्वाचनमा तालमेल गर्ने सहमति गरेका हुन्।
‘बागलुङको प्रदेशसभा क्षेत्रमा जनमोर्चाका उम्मेदवारलाई नेकपाले सघाउने, अन्यत्र नेकपाका उम्मेदवारलाई जनमोर्चाले सघाउने गरी तालमेल गर्ने निर्णयमा पुगेका छौं,’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सेतोपाटीसँग भने।
यसअघि २०७४ सालमा भएको निर्वाचनमा पनि त्यसबेलाको बामगठबन्धनसँग जनमोर्चाले तालमेल गरेको थियो। बागलुङ निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र ‘ख’ मा विजयी भएका टेकबहादुर घर्तीको निधन भएपछि यहाँ उपनिर्वाचन हुँदैछ। ‘उम्मेदवारका लागि एक महिला र दुई पुरूषको नाम सिफारिस भएर आएको छ। धर्म कुँवर, खिमविक्रम शाही र सुनमाया पुनको नाम आए पनि पार्टीले उम्मेदवार चयन गरिसकेको छैन। २१ गतेसम्म समय छ छिट्टै चयन गर्छौं,’ उनले भने।
विगतमा जस्तै तालमेल गरेर जान प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली तयार रहेको केसीले जानकारी दिए।