प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा कुनै सम्झौता नहुने बताउँदै भारतसँगको विवादमा रहेका नेपाली भूभाग फिर्ता गर्न सरकार लागिरहेको बताएका छन्।
सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधनपछि सांसदको प्रश्नको जवाफ दिँदै उनले पश्चिम नेपालका कालिनदीको मुहान, लिम्पियाधुरा र लिपुलेक क्षेत्र तथ्य प्रमाणले नेपालका भूभाग भएको बताए।
भारतसँगको सीमा विवाद समाधानका लागि के काम भइरहेको छ भन्ने सांसदको जिज्ञासामा प्रधानमन्त्री ओलीले भने, ‘भारतसँग वार्ता गर्ने विषय एकपक्षीय भन्ने कुरा होइन। हामी मुलुकको भूभाग फिर्ता गर्न लागिरहेका छौँ, नक्सा त तुरुन्तै छापिन्छ।’
संविधान संशोधनका सम्बन्धमा सोधिएको प्रश्नको जवाफका सम्बन्धमा उनले उपयुक्त समयमा र औचित्यका आधारमा संविधान संशोधन हुने बताए।
‘संविधान मानेर नै हामी सबै यहाँ आएका छौं। संविधान असंशोधनीय होइन । संविधानको संशोधन र स्वीकार्यता फरक फरक कुरा हो‘ उनले भने।
यसैगरी मुलुकमै रोजगारी सिर्जना भई १९ प्रतिशतले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले एनसेललाई दिइएको छुट अदालतको फैसला कार्यान्वयन मात्र गरेको बताए।