प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर तथा नर्सहरूलाई अहिले उपलब्ध सामग्रीको अधिकाधिक प्रयोग गरेर काममा खट्न अनुरोध गरेका छन्।
बिहीबार दिउँसो ट्वीट गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्- चिकित्सक तथा प्राविधिक साथीहरू, हाल मौज्दात सामग्रीको अधिकाधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔं, तपाईंहरूकै सिफारिसका थप सामग्रीहरू उपलब्ध हुँदैछन्, धैर्य गरौं, कोभिड-१९ मानवीय संकटको एकजुट भएर सामना गरौं, सरकार तपाईंहरूसँगै छ चिन्तित नहोऔं।’
कोरोनाभाइरसको संक्रमण आशंका गरिएका व्यक्तिको परीक्षण गर्दा भाइरस छ भने आफूलाई नसरोस् भनेर चिकित्सकले व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगाउनु पर्छ।
नेपालमा अहिले पिपिई अभाव छ। त्यसैगरी कोरोना परीक्षण गर्ने किट नेपालमा पर्याप्त छैन।
डाक्टर/नर्सहरूले ज्यान जोखिममा राखेर आफूहरूले बिरामीको परीक्षण गर्न नसक्ने बताउँदै आएका छन्।
बिहीबारमात्र सरकारले कोरोनाको परीक्षण र उपचारमा चाहिने सामग्रीहरू चीनबाट ल्याउने जानकारी दिएको छ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ती सामग्री ल्याउन नेपाल वायु सेवा निगम शनिबार चीन जाने र आइतबारदेखि सातै प्रदेशमा मेडिकल सामग्री वितरण गरिने जानकारी दिएका छन्।