प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा सरकारले जनताबाट व्यापक समर्थन पाएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमबारे सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली जुन देशले लकडाउनको राम्ररी पालना गरे त्यहाँ कोरोनाभाइरसको संक्रमण कम भएको र जुन देशले यसको महत्व बुझेनन् त्यहाँ अवस्था भयावह भएको बताए।
उनले नेपालमा पनि सुरूमै लकडाउन गरिएकाले कोरोनाभाइरसको संक्रमण नियन्त्रणमा राख्न सकेको दाबी गरे।
जनताको चेतना, जनप्रतिनिधिको दबाब र सीमामा आएर बस्नेहरूका कारण संक्रमण बढे पनि त्यो धेरै नागरिकले लकडाउन पालना गरेको उनले बताए। तर केही मानिसहरूले भने लकडाउनलाई सरकार असफल देखाउने अवसर ठानेको प्रधानमन्त्रीको भनाइ छ।
‘केहीले लकडाउनमा कोरोना नियन्त्रण गर्नेभन्दा पनि सरकारलाई असफल देखाउने र राजनीतिक खेल खेल्ने गरे पनि जनताबाट व्यापक समर्थन प्राप्त गर्यौं,’ प्रधानमन्त्री ओलीले भने।
सरकारले गत चैत ११ गतेदेखि देशभरि लकडाउन गरेको छ। अन्तिम पटक थपिएको लकडाउन जेठ २० मा सकिँदैछ।