प्रधानमन्त्री केपी ओलीले कोरोना महामारी नियन्त्रणका लागि चालिएका कदम उत्साहजनक देखिएको दाबी गरेका छन्।
कोरोना नियन्त्रणमा सरकार असफल भएको गुनासो आइरहेका बेला प्रधानमन्त्री ओलीले अहिलेसम्मको कामका तस्बिर उराठलाग्दो हैन, उत्साहजनक रहेको दाबी गरेका हुन्।
संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले डिलमा बसेर आलोचना गर्नु बेग्लै हो भन्दै यस्तो दाबी गरेका हुन्।
‘डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमको संक्षिप्त समीक्षा गर्ने हो भने अहिलेसम्मको कामका तस्बिर उराठलाग्दो हैन, उत्साहजनक देखिन्छन्,’ उनले भने।
कोभिड-१९ संक्रमण नेपालमा देखिनुपूर्वको कमजोर र अहिले उपचारका पूर्वाधार तथा क्षमतामा उल्लेखनीय प्रगति भएको बीचमा आकाश-जमिनको फरक रहेको उनले दाबी गरे।
सुशासन र पारदर्शीता विकासको अत्यावश्यक सर्त रहेको बताउँदै अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चुनौतीपूर्ण रहेको बताए। तर, आफू भ्रष्टाचारमा कठोर हुने उनले बताए।
‘मैले पटक-पटक भन्दै आएको छु, भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीविरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ,’ उनले भने।
भ्रष्टाचारविरुद्ध सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्रै बितेका दुई आर्थिक वर्षमा ७९२ केसहरुमा मुद्दा चलाएको, राजश्व अनुसन्धान विभागले १ हजार २७ जनाविरुद्ध ३१ अर्ब ५ करोड भन्दा बढीको बिगो दाबीसहित राजश्व चुहावट, विदेशी मुद्रा अपचलन तथा अवैध हुण्डी कारोबारमा मुद्दा चलाएको उदाहरण उनले दिए।
सम्बोधनको पूर्णपाठ