निर्वाचन आयोगले नेकपाको राजनीतिक किचलोलाई कानुनी रुपमा पन्छाएको छ।
निर्वाचन आयोगको आइतबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई साविककै विवरण कायम रहेको जानकारी दिने निर्णय गरेको हो।
नेकपाको अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय समिति विस्तार गर्दै अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाएको थियो। त्यस्तै नेकपाको पुष्पकमल दाहाल प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको थियो।
दुवै पक्षले निर्वाचन आयोगलाई पछिल्लो राजनीतिक विवादपछि हेरफेरबारे जानकारी दिएका थिए। निर्वाचन आयोगले पार्टीको आधिकारिकताको विवाद उठेपछि दुवैपक्षलाई कागजात मागेको थियो। आयोगले दुवै पक्षलाई यसअघि भएका निर्णयहरु विधानसम्मत नभएको समेत सम्झाएको थियो।
नेकपा विभाजन भए पनि आयोगले भने पुरानै नेकपालाई मान्यता दिएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विवरण हेरफेर गर्न नमिल्ने निर्णय गरेको बताए।
'उहाँहरुको विवरण हेरफेर गर्न मिल्ने देखिएन,’ श्रेष्ठले सेतोपाटीसँग भने, ‘साविकको विवरण कायम रहेको जानकारी नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिने भन्ने निर्णय भयो।'