राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बारा क्षेत्र नम्बर २ मा उम्मेदवार बन्न लागेका पूर्वडिआइजी रमेश खरेलले आफू उपनिर्वाचन लड्नुका आधारहरू बताएका छन्।
शनिबार बसुन्धारास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपनिर्वाचन लड्नुको आधार के हो भन्ने पत्रकारको प्रश्नपछि उनले आफ्ना आधारहरू बुँदागत रूपमा बताएका थिए।
आफूले २९ वर्ष देशको सेवा गर्नु नै पहिलो आधार भएको उनले बताए। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) समेत रहँदा गरेको सेवाबारे बताएका हुन्।
‘७७ वटै जिल्ला, १६५ वटै निर्वाचन क्षेत्रमा रमेश खरेल उठ्ने आधारहरू छन्। स्वर्णिम वाग्ले पनि उठ्ने आधारहरू छन्,’ उनले भने, ‘म टेस्टेड मान्छे हुँ। म मौका पाएर इमानदार भएर निस्केको मान्छे हुँ भन्दा घमण्डी नभन्नुहोला। यो मेरो आधार हो।’
नेपाली जनता इमानदार मान्छेको खोजीमा रहेको पनि उनले बताए।
नेपाल सुशासन पार्टी एकीकरण पनि हुनसक्ने र यसबारे छलफल भइरहेको उनले बताए।
खरेलले मंसिर ४ गते भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए। तर त्यहाँ नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पुकार बम उम्मेदवार थिए। यस क्षेत्रमा निर्वाचन हारेपछि पुन: उपनिर्वाचनमा बाराबाट चुनाव लड्न जानुका आधार के हुन् भनेर पत्रकारले प्रश्न गरेका थिए।
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९, १८:०४:००