नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई विदेश पठाउने धन्धा राष्ट्रघाती भएको हुँदा यसमा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताएका छन्।
राष्ट्रिय युवा संघ, नेपालको प्रथम बैठकलाई सोमबार तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
महासचिव पोखरेलले उक्त विषयको छानबिन तथ्य र प्रमाणका आधारमा गर्नुपर्ने बताउँदै उनले भने, ‘आशंकाको आधारमा कोही पनि व्यक्तिको बदनाम गर्न पाइँदैन।’
भुटानी शरणार्थीको छुटेको विवरण संकलन गर्ने काम एमाले सरकारका समयमा नभएको स्पष्ट गर्दै महासचिव पोखरेलले शरणार्थीको विवरण संकलन गरी प्रमाणीकरण गर्ने निर्णय नेपाली कांग्रेस नेतृत्वको सरकारका समयमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणकोे मन्त्रिस्तरीय निर्णयबाट भएको बताए।
महासचिव पोखरेलले यो विषय नेकपा (एमाले) सरकारका समयमा अगाडि बढाइएको भनी भ्रमपूर्ण प्रचार गरिएकोमा आपत्ति प्रकट गरे।
महासचिव पोखरेलले भने, ‘यो धन्धा नेपाली कांग्रेस नेतृत्वको सरकारका समयमा सुरू भएको हो। सूची तयार गर्ने काम तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको मन्त्रिस्तरीय निर्णयबाट भएको हो। भुटानी शरणार्थी पहिचान गर्ने नाममा मान्छे खोज्ने धन्धा गरियो।’
उनले नेकपा (एमाले) को नेतृत्वको सरकारका समयमा बाँकी रहेका भुटानी शरणार्थीको व्यवस्थापनका लागि सुझाव दिन कार्यदल बनाउने काम भएको स्पष्ट पारे।
महासचिवले भने, ‘त्यो भुटानी शरणार्थी प्रमाणीकरणको विषय थिएन।’