दोधार छ, विचलित छ
चौबाटोको मोडमा छ
केही विशेष सिर्जना गर्नेभन्दा पनि
कमाउने, हल्ला गर्ने
सर्वत्र ढोङ पिट्ने
र देखाउने होडमा छ!
इतिहास लेख्नु, लेखाउनु
अनुसन्धानले, आविष्कारले
देश चिनाउनु
दन्त्यकथा भए
जसरी हुन्छ फरक देखिनु छ उसलाई
अरू सबै आउरेभाउरे
म हुँ एक्लै, मै हुँ सुपरियर
सञ्जालभरि लेखिनु छ उसलाई
स्क्रिन उसको साथी भाछ
आजभोलि उसको सङ्गत
कि भाषामा छ कि कोडमा छ
मेसिनजस्तो भो रोबोटे मान्छे
आधुनिक बन्ने अस्वस्थ दौडमा
दुनियाँलाई रमिता देखाउने
अनौठो एउटा होडमा छ!
दुर्घटनाको घाइते रगताम्य छ
सेवाभाव हराएर खोलै खोल गयो
उसलाई भिडियो खिच्न भ्याइ नभ्याइ छ
खै गिदीमा के गडेको छ
भाइरल हुने भूत चढेको छ
कलिसँगै मान्छे सकिन्छ भन्थे
सायद पहिला विवेक सकिँदैछ
ईर्ष्या, अहङ्कार र घमण्ड बढेको छ
दया, माया, स्नेह घटेर गयो
घृणा, हेलाँ र तिरस्कार
गुणा अनि जोडमा छ
देशैभरि नैतिक शिक्षा
लागू गर्नुपर्यो ए सरकार
यो कलियुगे मान्छे
कि भिरमा छ कि रोडमा छ
कहिलेकाहीँ फेल खाएको
गुगल म्यापजस्तो
कुहिरोको कागझैँ
अनिश्चित र गन्तव्यविहीन
चौबाटोको मोडमा छ
मात्रै सर्वत्र ढोङ पिट्दै
आफूलाई जबर्जस्ती सर्वश्रेष्ठ
देखाउने होडमा छ!