भारतका चर्चित युट्युबर ध्रुव राठीले यही सोमबार सामाजिक सञ्जालमा एउटा तस्बिर सार्वजनिक गरे।
तस्बिरमा उनीसँगै थिइन्, भारतमा पछिल्लो समय जारी आन्दोलनबाट चर्चामा आएकी विद्यार्थी नेता नेहा बोरा।
दुवै जना एउटै सोफामा बसेका छन्। पछाडि भित्तामा महात्मा गान्धी र भीमराव अम्बेडकरका तस्बिर छन्।
इन्स्टाग्राममा यो तस्बिर राख्दै राठीले लेखे, 'विथ अ टाइग्रेस' अर्थात् 'एउटी बघिनीसँग'।
त्यसको तीन दिनअघि दुवै जना भारतको निर्वाचन आयोगविरूद्ध जारी आन्दोलन क्रममा प्रहरी नियन्त्रणमा परेका थिए।
नेहा विद्यार्थी आन्दोलनमा सक्रिय थिइन्। राठी भने केही दिनअघि मात्रै विरोध प्रदर्शनमा सहभागी हुन सडकमा ओर्लिएका थिए।
उनीहरूको पृष्ठभूमि बिल्कुलै फरक छ।
नेहा अखिल भारतीय विद्यार्थी संघ (एआइएसए) की राष्ट्रिय अध्यक्ष हुन्। रंगमञ्चबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेकी उनी विश्वविद्यालय हुँदै सडक आन्दोलनमा आइपुगेकी छन्।
राठीको सार्वजनिक जीवन भने न कुनै राजनीतिक संगठनबाट सुरू भएको थियो, न कुनै आन्दोलनबाट।
उनको सुरूआत त घुम्न जाँदा खिचेका दृश्य युट्युबमा राख्ने सामान्य सोखबाट भएको थियो।
सन् २०१४ मा भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री बन्दै गर्दा जर्मनीमा पढिरहेका राठी पनि उनको उदयलाई आशाका रूपमा हेरिरहेका थिए। तर त्यसको दुई वर्षपछि उनी मोदी सरकारको आलोचना गर्ने भिडिओ बनाउन थाले।
अहिले ३२ वर्षका राठी भारतका चर्चित राजनीतिक टिप्पणीकार बनिसकेका छन्। उनको मुख्य युट्युब च्यानलमा तीन करोडभन्दा बढी सब्स्क्राइबर छन्।
अनि यसपालि उनले भिडिओमा उठाउँदै आएका प्रश्न सडकमा पनि उठाउन थालेका छन्।
कुनै बेला मोदीका समर्थक रहेका युवक कसरी उनका चर्चित आलोचक बने? अनि जर्मनीमा बसेर इन्टरनेटमार्फत भारतीय राजनीतिमा प्रभाव जमाएका उनी किन सडकमा ओर्लिए?
यसको कथा भारतको हरियाणाबाट सुरू हुन्छ।

क्यामराको सोखले बनाएको युट्युबर
ध्रुव राठीको जन्म सन् १९९४ अक्टोबर ८ मा भारतको हरियाणामा भएको हो।
सानैदेखि उनलाई प्रविधि र भिडिओ निर्माणमा रूचि थियो।
नौ वर्षको उमेरमै उनले एउटा साधारण वेबक्यामबाट माटोका आकृतिहरू चलायमान देखिने भिडिओ बनाएका थिए।
यो प्रसंग उनले सन् २०२४ मेमा 'अल जजिरा' सँगको अन्तर्वार्तामा सुनाएका हुन्।
विद्यालयको पढाइ सकेपछि उनी उच्च शिक्षाका लागि जर्मनी गए। त्यहाँको कार्लस्रुहे इन्स्टिच्युट अफ टेक्नोलोजीमा मेकानिकल इन्जिनियरिङ पढे। त्यसपछि नवीकरणीय ऊर्जा इन्जिनियरिङमा स्नातकोत्तर गरे।
तर पढाइसँगै उनको रूचि घुमफिर र भिडिओ निर्माणमा पनि थियो।
सन् २०१४ मा उनले आइफोन–५ एसबाट एउटा ट्राभल भिडिओ खिचे। त्यो उनको युट्युब यात्राको सुरूआत थियो।
अल जजिरालाई उनले बताए अनुसार पहिलो भिडिओ सम्पादन गर्न मात्रै दुई महिनाभन्दा बढी समय लागेको थियो।
त्यति बेला उनको लक्ष्य राजनीतिक टिप्पणीकार बन्नु थिएन। उनी आफूले देखेका ठाउँ र अनुभव अरूलाई देखाउन चाहन्थे।
तर भारतमा भइरहेका राजनीतिक घटनाक्रमले उनको रूचिलाई अर्कैतिर मोडिदियो।
मोदीलाई आशाका रूपमा हेर्ने युवक
ध्रुव राठीको राजनीतिक यात्राको सबभन्दा रोचक पक्ष के हो भने, उनी सुरूबाटै नरेन्द्र मोदीका आलोचक थिएनन्।
बरू कुनै बेला मोदीका समर्थक थिए।
सन् २०११ मा भारतमा सामाजिक अभियानी अन्ना हजारेको नेतृत्वमा भ्रष्टाचारविरूद्ध ठूलो आन्दोलन चलेको थियो।
तत्कालीन कांग्रेस नेतृत्वको सरकारविरूद्ध उठेको त्यो आन्दोलनले लाखौं युवालाई आकर्षित गरेको थियो।
राठी पनि त्यसबाट प्रभावित भए।
उनलाई लाग्थ्यो, भारतको ठूलो समस्या भ्रष्टाचार हो र त्यसलाई नियन्त्रण गर्न राजनीतिक परिवर्तन आवश्यक छ।
सन् २०१४ को आमनिर्वाचनमा नरेन्द्र मोदी भ्रष्टाचार नियन्त्रण, कालोधनविरूद्ध कारबाही र सुशासनको वाचा गर्दै अघि आए।
राठीलाई पनि मोदीबाट आशा थियो।
तर त्यो आशा लामो समय टिकेन।
सन् २०१५ मा दिल्लीको अरविन्द केजरीवाल नेतृत्वको सरकारले भ्रष्टाचारविरूद्ध उजुरी दिन हेल्पलाइन सुरू गरेको थियो। त्यसको अधिकारलाई लिएर दिल्लीको राज्य सरकार र मोदी नेतृत्वको केन्द्र सरकारबीच विवाद भयो।
राठीका अनुसार त्यही घटनाले मोदी सरकारप्रति उनको विश्वास कमजोर बनायो।
सन् २०२४ मे २९ मा प्रकाशित अल जजिराको प्रोफाइलमा उनले उक्त विवादपछि मोदी भ्रष्टाचार नियन्त्रण गर्न वास्तवमै प्रतिबद्ध छैनन् भन्ने निष्कर्षमा आफू पुगेको बताएका छन्।
यो उनको व्यक्तिगत मूल्यांकन थियो। तर त्यही घटनापछि सरकारप्रति उनको दृष्टिकोण आलोचनात्मक बन्दै गयो।
भारतका मूलधारका टेलिभिजन च्यानलहरू सरकारप्रति अत्यधिक अनुकूल देखिएको पनि उनलाई लाग्थ्यो।
उता सामाजिक सञ्जालमा राजनीतिक प्रचार र भ्रामक सूचनाको प्रभाव बढिरहेको थियो।
राठीसँग क्यामरा थियो। भिडिओ सम्पादन गर्न आउँथ्यो। नयाँ विषय अध्ययन गर्ने रूचि पनि थियो। उनले यी सीपलाई राजनीतिक विषय बुझाउने काममा प्रयोग गर्ने निर्णय गरे।
एउटा भिडिओले बदलेको बाटो
सन् २०१६ सेप्टेम्बर १६ मा राठीले पहिलो राजनीतिक टिप्पणीसहितको भिडिओ युट्युबमा राखे।
विषय थियो, भारतीय जनता पार्टीको सूचना प्रविधि अर्थात् आइटी सेल।
भाजपाका पक्षमा सामाजिक सञ्जालमा चल्ने प्रचार अभियानमा भ्रामक सामग्री प्रयोग हुने गरेको आरोपलाई उनले भिडिओको विषय बनाएका थिए।
त्यति बेला उनीसँग अनुसन्धानकर्ता, स्क्रिप्ट लेखक वा सम्पादकको टोली थिएन।
विषय खोज्नेदेखि अनुसन्धान, लेखन, छायांकन र सम्पादनसम्म उनी आफै गर्थे।
त्यही भिडिओले उनको सार्वजनिक जीवनलाई नयाँ दिशा दियो।
अब उनी घुमफिरका दृश्य देखाउने युवक मात्र रहेनन्। राजनीतिक घटनाको पृष्ठभूमि खोज्ने, सार्वजनिक दाबीमाथि प्रश्न उठाउने र आफ्नो विश्लेषण दर्शकलाई सुनाउने व्यक्ति बन्न थाले।
बिस्तारै उनका भिडिओका विषय पनि फराकिला भए।
राजनीति, इतिहास, अर्थतन्त्र, विज्ञान, वातावरण, सार्वजनिक नीति र अन्तर्राष्ट्रिय सम्बन्धसम्म उनले सामग्री बनाउन थाले।
उनको एउटा चिनिने शैली बन्यो।
भिडिओको सुरूआतमा उनी भन्छन्, 'नमस्कार दोस्तों।'
त्यसपछि विषयसँग सम्बन्धित प्रश्न उठाउँछन्। पृष्ठभूमि बताउँछन्। सरकारी कागजात, तथ्यांक र अध्ययनका विवरण देखाउँछन्। ग्राफिक्स र एनिमेसन प्रयोग गर्छन्।
अनि आफ्नो विश्लेषण प्रस्तुत गर्छन्।
जटिल विषयलाई सामान्य हिन्दी भाषामा बुझाउने यही शैली उनको लोकप्रियताको प्रमुख कारण बन्यो।
अल जजिरासँगको कुराकानीमा राजनीतिक व्यंग्यकार तथा 'देशभक्त' युट्युब च्यानलका सञ्चालक आकाश बनर्जीले राठीको सरल भाषालाई उनको सफलताको महत्त्वपूर्ण कारण बताएका थिए।
उनका अनुसार राठीले मोदी समर्थक वा राजनीतिक रूपमा अनिर्णीत दर्शकले पनि बुझ्न सक्ने भाषामा कुरा राख्छन्।
त्यसैबीच भारतमा सस्तो स्मार्टफोन र इन्टरनेट विस्तार भइरहेको थियो। राठीले त्यही परिवर्तनको लाभ उठाए। उनका भिडिओ लाखौं हुँदै करोडौं दर्शकसम्म पुग्न थाले।
तर उनको काम आलोचनाबाट मुक्त थिएन।
राठी आफैले अल जजिरासँग सुरूका भिडिओमा कतिपय तथ्य र व्यक्तिगत विचार मिसिएको स्वीकार गरेका थिए।
पछि उनले अनुसन्धानकर्ता र सम्पादकको टोली विस्तार गरे। तथ्य जाँच गर्ने प्रणाली सुधारिएको पनि उनको दाबी छ।
उनी आफूलाई परम्परागत पत्रकारभन्दा युट्युबमार्फत शिक्षा दिने व्यक्ति मान्छन्।

मोदीको तेस्रो चुनावमा चर्चित बनेको भिडिओ
सन् २०२४ मा भारत आमनिर्वाचनमा होमिएको थियो। नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि जनादेश मागिरहेका थिए।
त्यही बेला राठीले एउटा भिडिओ सार्वजनिक गरे।
शीर्षक थियो — इज इन्डिया बिकमिङ अ डिक्टेटरसिप?
अर्थात्, के भारत तानाशाहीतर्फ गइरहेको छ?
करिब २९ मिनेटको भिडिओमा उनले मोदी सरकारमाथि लाग्दै आएका विभिन्न आरोपहरू समेटे।
निर्वाचन प्रणाली, सञ्चारमाध्यमको स्वतन्त्रता, विपक्षी नेताहरूमाथिको कारबाही र अनुसन्धान निकायहरूको प्रयोगमाथि प्रश्न उठाए।
उनको मुख्य तर्क थियो — लोकतन्त्रको मूल्यांकन निर्वाचनबाट मात्र गर्न सकिँदैन। सरकारको आलोचना गर्ने स्वतन्त्रता, संवैधानिक संस्थाहरूको स्वायत्तता र राजनीतिक प्रतिस्पर्धाको अवस्था पनि हेर्नुपर्छ।
भाजपा नेतृत्वले भने यस्ता आरोप अस्वीकार गर्दै आएको थियो।
अल जजिराको रिपोर्टमा तत्कालीन केन्द्रीय मन्त्री किरेन रिजिजुले भारतमा व्यापक अभिव्यक्ति स्वतन्त्रता रहेको र आलोचकहरूले प्रधानमन्त्रीविरूद्ध खुलेर बोलिरहेको बताएका थिए।
त्यही बहसबीच राठीको भिडिओ व्यापक रूपमा फैलियो।
सन् २०२४ मेमा अल जजिराले उनको मुख्य युट्युब च्यानलमा दुई करोडभन्दा बढी सब्स्क्राइबर रहेको उल्लेख गरेको थियो। यो संख्या प्रमुख विपक्षी दल कांग्रेसको आधिकारिक च्यानल र राहुल गान्धीको व्यक्तिगत च्यानलभन्दा धेरै थियो।
कतिपय स्थानमा विपक्षी समूहहरूले उनका भिडिओ सार्वजनिक रूपमा देखाउन थाले।
राठी कुनै दलका नेता थिएनन्। उनको चुनाव चिह्न वा राजनीतिक संगठन थिएन। तर उनको एउटा भिडियो करोडौं मानिससम्म पुग्न सक्थ्यो।
भारतीय राजनीतिमा राजनीतिक दल र परम्परागत सञ्चारमाध्यमभन्दा बाहिर पनि जनमत निर्माण गर्ने शक्तिशाली मञ्च विकसित भइरहेको संकेत थियो यो।
उनको लोकप्रियता भने सन् २०२४ को चुनावअघि नै अन्तर्राष्ट्रिय स्तरमा पुगिसकेको थियो।
सन् २०२३ अक्टोबरमा अमेरिकी पत्रिका टाइम ले उनलाई 'नेक्स्ट जेनेरेसन लिडर्स' सूचीमा समावेश गरेको थियो।
पत्रिकाले भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिने गलत सूचनाको तथ्य जाँच गर्न युट्युब प्रयोग गर्ने व्यक्तिका रूपमा उनलाई प्रस्तुत गरेको थियो।
जर्मनीमा बसेर हिन्दीमा भिडिओ बनाउने हरियाणाका युवक अब अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको नजरमा पनि परेका थिए।
लोकप्रियतासँगै विवाद
राठीको लोकप्रियता बढेसँगै उनीमाथि राजनीतिक पक्षपातको आरोप पनि बढ्यो।
आलोचकहरूले मोदी सरकारका कमजोरीमा उनी बढी केन्द्रित हुने तर विपक्षी दलका गल्तीप्रति त्यत्तिकै कठोर नहुने आरोप लगाउँछन्।
सन् २०२४ को निर्वाचन बेला केन्द्रीय मन्त्री किरेन रिजिजुले उनलाई कांग्रेस र आम आदमी पार्टीको प्रवक्ताजस्तो व्यवहार गरेको आरोप लगाएका थिए।
राठीले भने कांग्रेस शासनकालका भ्रष्टाचारका घटनाको समेत आलोचना गरेको जबाफ दिए।
आफू कुनै राजनीतिक दलको पक्षमा नभई सार्वजनिक विषयमा टिप्पणी गर्ने व्यक्ति भएको उनको भनाइ थियो।
यद्यपि राठीका भिडिओमा तथ्य र अध्ययन उद्धृत गरिएको भन्दैमा उनका सबै निष्कर्ष निर्विवाद हुँदैनन्। कुन विषय छान्ने, कुन तथ्यलाई बढी महत्त्व दिने र त्यसबाट के निष्कर्ष निकाल्ने भन्ने कुरा उनको आफ्नै सम्पादकीय निर्णय हो।
उनी अरूलाई प्रश्न गर्छन्। उनका सामग्रीमाथि पनि प्रश्न उठ्छन्।
सन् २०२४ मा आम आदमी पार्टीकी सांसद स्वाति मालिवालले राठीको एउटा भिडिओसँग सम्बन्धित सार्वजनिक बहसपछि आफूले धम्की सामना गर्नुपरेको आरोप लगाएकी थिइन्। राठीले उक्त आरोप अस्वीकार गरेका थिए।
विवादहरूबीच उनको डिजिटल पहुँच भने विस्तार भइरह्यो। उनको मुख्य युट्युब च्यानलमा अहिले ३ करोड ३२ लाख सब्स्क्राइबर छन्। भिडिओहरू ६ अर्ब ३७ करोडभन्दा बढी पटक हेरिएका छन्।
तर युट्युबमा भिडिओ हेर्नु, त्यसमा प्रस्तुत विचारसँग सहमत हुनु र त्यसको समर्थनमा सडकमा ओर्लिनु फरक कुरा हुन्।
राठीको पछिल्लो यात्राले यही भिन्नतालाई नयाँ बहसमा ल्याएको छ।
जन्मदिनमा सडकमा ओर्लिए राठी
सन् २०२६ अक्टोबर ८।
त्यो दिन राठीको ३२औं जन्मदिन थियो।
उनी त्यस दिन भारतको बेंगलुरूस्थित फ्रीडम पार्कमा आयोजित विरोध प्रदर्शनमा सहभागी हुन पुगे।
प्रदर्शन भारतको निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता सूची अद्यावधिकविरूद्ध आयोजना गरिएको थियो।
राठीसँगै अभिनेता प्रकाश राज र कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिप्के लगायत प्रदर्शनमा सहभागी थिए।
आन्दोलनकारीहरूले मतदाता सूची अद्यावधिक क्रममा ठूलो संख्यामा नाम हटाएर योग्य मतदाताको अधिकार प्रभावित पारिएको आरोप लगाएका थिए।
उनीहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागिरहेका थिए।
भारतीय सञ्चारमाध्यमहरूले उक्त प्रदर्शनमा राठी सहभागी भएको उल्लेख गरेका छन्।
तर निर्वाचन आयोगले आन्दोलनकारीका आरोप स्वीकार गरेको छैन।
आयोगका अनुसार मृत्यु भएका, बसाइँ सरेका, दोहोरिएका वा पत्ता नलागेका मतदाताको नाम मात्र सूचीबाट हटाइएको हो।
सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले पनि निर्वाचन प्रक्रियामा आफ्नो पक्षमा चलखेल गरिएको आरोप अस्वीकार गरेको छ।
मतदाता सूची अद्यावधिक क्रममा १३ करोडभन्दा बढी नाम हटाइएको विषय अहिले भारतमा आन्दोलनको मुख्य मुद्दा बनेको छ। यद्यपि हटाइएका सबै नाम योग्य मतदाताका थिए र ती सबैले मतदान अधिकार गुमाए भन्ने कुरा स्वतन्त्र रूपमा स्थापित भएको छैन।
यही विवादबीच राठी सडकमा ओर्लिएका थिए।
यसअघि यस्ता घटनाबारे उनी भिडिओ बनाउँथे। सरकार र निर्वाचन आयोगका निर्णयमाथि आफ्नो विश्लेषण सुनाउँथे। यसपालि भने उनी आफै प्रदर्शनमा सहभागी भए।
यसले उनको सार्वजनिक भूमिकामा नयाँ परिवर्तन देखायो।
तर सडकमा ओर्लिएलगत्तै उनी अर्को विवादमा पनि तानिए।
भाजपाका नेता एवं पूर्वप्रहरी अधिकारी भास्कर रावले उनको नागरिकतामाथि प्रश्न उठाए।
जर्मनीमा बस्दै आएका राठीको नागरिकता र भारतमा राजनीतिक प्रदर्शनमा सहभागी हुने कानुनी हैसियतबारे छानबिन गर्न उनले माग गरे।
राठीले आफू भारतीय नागरिक रहेको बताए। अक्टोबर ११ मा आफ्नो भारतीय राहदानी देखाउँदै उनले नागरिकताबारे उठेका प्रश्नको जबाफ दिए।
तर उनको आन्दोलन यात्रा यतिमै रोकिएन।

दिल्लीको आन्दोलनअघि नै प्रहरी नियन्त्रणमा
अक्टोबर १० मा दिल्लीको जन्तरमन्तरमा निर्वाचन आयोगविरूद्ध प्रदर्शन गर्ने तयारी थियो।
कक्रोच जनता पार्टीले आयोजना गरेको प्रदर्शनमा मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्ने कार्यक्रम थियो।
राठी पनि सहभागी हुने तयारीमा थिए।
तर प्रदर्शन सुरू हुनुअघि प्रहरीले उनलाई गुरूग्रामस्थित निवासबाट नियन्त्रणमा लियो।
इन्डियन एक्सप्रेस, एनडिटिभी र टाइम्स अफ इन्डियाले अक्टोबर १० र ११ मा यसबारे समाचार प्रकाशित गरेका थिए।
प्रहरीका अनुसार अनुमति नदिइएको प्रदर्शनमा सहभागी नहुन चेतावनी दिँदासमेत राठीले नमानेपछि उनलाई नियन्त्रणमा लिइएको थियो।
त्यस दिन दिल्लीका विभिन्न स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। प्रहरीले अनुमति नभएको प्रदर्शन रोक्न र शान्ति सुरक्षा कायम गर्न कारबाही गरेको बतायो।
राठीले भने आफूलाई नियन्त्रणमा लिइएको तरिकामाथि गम्भीर प्रश्न उठाए।
रिहा भएपछि उनले प्रहरीको व्यवहारलाई अपहरणसँग तुलना गरेका थिए।
यस घटनापछि उनीबारे एउटा नयाँ प्रश्न उठ्यो — के राठी अब सक्रिय राजनीतिमा प्रवेश गर्न लागेका हुन्?
अक्टोबर १२ मा 'जनसत्ता' ले प्रकाशित गरेको समाचार अनुसार राठीले पत्रकार सम्मेलनमा आफू दलीय राजनीतिमा प्रवेश गर्न नचाहेको स्पष्ट पारेका छन्। तर गम्भीर सार्वजनिक मुद्दामा आवाज उठाउन राजनीतिक दलहरू समेत एकजुट हुनुपर्ने उनको भनाइ थियो।
अर्थात्, राठी दलीय राजनीतिमा प्रवेश गर्न चाहँदैनन्। तर सार्वजनिक राजनीतिक अभियानबाट टाढा पनि बस्न चाहँदैनन्।
नेहा र राठीको बाटो जहाँ जोडियो
यही पृष्ठभूमिमा अक्टोबर १३ को नेहा बोरा र राठीको तस्बिर अर्थपूर्ण देखिन्छ।
नेहा विद्यार्थी राजनीतिबाट आएकी हुन्। विश्वविद्यालय, विद्यार्थी अधिकार र नागरिक आन्दोलनमा सक्रिय हुँदै उनी निर्वाचन आयोगविरूद्धको आन्दोलनमा जोडिएकी छन्।
रंगमञ्चबाट सामाजिक र राजनीतिक सक्रियतामा प्रवेश गरेकी नेहालाई भारतको पछिल्लो युवा आन्दोलनको चर्चित अनुहारका रूपमा प्रस्तुत गरेको छ।
राठीको सार्वजनिक पहिचान भने इन्टरनेटले बनाएको हो।
नेहासँग विद्यार्थी संगठन र सडक आन्दोलनको अनुभव छ। राठीसँग करोडौं दर्शकसम्म पुग्ने डिजिटल माध्यम छ।
नेहा सडकबाट चिनिइन्। राठी पर्दाबाट।
अक्टोबरको आन्दोलनले भने उनीहरूलाई एउटै मुद्दामा ल्याइपुर्यायो।
प्रहरी नियन्त्रणमा परेको तीन दिनपछि दुवैले सँगै बसेको तस्बिर सार्वजनिक गरे। राठीले नेहालाई 'एउटी बघिनी' भनेर सम्बोधन गरे। त्यो नेहाप्रति उनको समर्थनको सार्वजनिक अभिव्यक्ति थियो।
राठीको पछिल्लो यात्राले भारतको राजनीतिक बहसमा आएको एउटा परिवर्तन पनि देखाउँछ।
राजनीतिक विचार र जनमत निर्माण गर्ने शक्ति अब दलका कार्यालय, संसद र टेलिभिजन स्टुडियोमा मात्रै सीमित छैन। सामाजिक सञ्जालबाट प्रभावशाली बनेका व्यक्तिहरू पनि सडक आन्दोलनमा सहभागी हुन थालेका छन्।
तर करोडौं डिजिटल दर्शक हुनु र सडकमा त्यही अनुपातको राजनीतिक प्रभाव पार्नु एउटै कुरा होइन।
राठीका लागि अब यही नयाँ चुनौती हुनेछ।
हिजोसम्म उनका भिडिओमा सडक आन्दोलनका दृश्य देखिन्थे। यसपालि त्यही दृश्यमा उनी आफै पनि छन्।
***