गत फेब्रुअरी २८ का दिन इरानको मिनाबस्थित शजराह तय्यबा प्राथमिक विद्यालयमा अमेरिकी टोमाहक क्षेप्यास्त्र प्रहार हुँदा १२३ बालबालिकासहित १५० भन्दा बढी मानिसको ज्यान गयो।
२१ औं शताब्दीमा अमेरिकी सेनाबाट भएको यो सबभन्दा ठूलो र विनाशकारी सैन्य त्रुटि मानिएको छ।
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले गरेको आन्तरिक अनुसन्धानलाई उद्धृत गर्दै ब्लूमबर्गले सार्वजनिक गरेको रिपोर्ट अनुसार यो घटना कुनै एउटा ठूलो वा विनाशकारी निर्णयका कारण मात्र नभई, एकपछि अर्को गर्दै गरिएका साना गल्तीहरू र रोकथामका अवसरहरू गुमाउँदाको परिणाम स्वरूप भएको हो।
पेन्टागनका अधिकारीहरूका अनुसार युद्ध सुरू हुनुअघि अमेरिकी सेनाले इरानका सैन्य ठेगानाहरूको सूची तीव्र गतिमा तयार पारेको थियो।
मिनाबमा रहेको उक्त भवन वर्षौंअघि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी) को सैन्य क्षेत्र मानिन्थ्यो।
तर सन् २०१७ देखि नै उक्त भवनलाई विद्यालयका रूपमा प्रयोग गरिँदै आइएको थियो र सन् २०१८ को स्याटलाइट तस्बिरहरूमा त्यहाँ खेलकुद मैदान र बालबालिकाका लागि चित्र कोरिएका पर्खालहरू प्रस्ट देखिन्थे।
तर पेन्टागनका लक्ष्य निर्धारण गर्ने टोलीले सात वर्ष पुराना स्याटलाइट तस्बिरहरू प्रयोग गरे। त्यसमा विद्यालय बनेको देखिँदैन थियो।
सन् २०१९ मै केही अमेरिकी गुप्तचर विश्लेषकहरूले उक्त भवनमा परिवर्तन आएको टिप्पणी लेखेका थिए। तर त्यो मुख्य सैन्य गुप्तचर डेटाबेसमा प्रविष्ट नै गरिएन।
यसैगरी अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले पालान्टिर टेक्नोलोजी कम्पनीद्वारा निर्मित 'माभेन स्मार्ट सिस्टम' नामक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सफ्टवेयरमाथि अत्यधिक भरोसा गर्यो।
सेनाका अधिकारीहरूले एआईले पुराना वा बाझिएका सूचनाहरू स्वतः पत्ता लगाउने अपेक्षा गरेका थिए। तर, सफ्टवेयरले त्यस्ता गल्तीहरू औंल्याउन सकेन।
त्यसैले पुराना डेटाकै आधारमा उक्त विद्यालयलाई पहिलो दिनकै आक्रमणको प्रमुख लक्ष्य को रूपमा छनोट गरियो।
अमेरिकी रक्षा मन्त्री पेट हेगसेथले युद्धको सुरूआतमा 'अत्यधिक सैन्य अधिकार र तीव्र आक्रमण' को नीति लिएका थिए।
२४ घन्टाभित्र एक हजारभन्दा बढी लक्ष्यहरूमा आक्रमण गर्ने निर्देशनका कारण सामान्यतया हप्ता वा महिनौं लाग्ने 'किल चेन' प्रक्रियालाई केही मिनेटमै छोट्याइयो।
यसका साथै, हेगसेथले पूर्ववर्ती जो बाइडेन सरकारका पालामा बनाइएका सर्वसाधारणको क्षति कम गर्ने सम्बन्धी 'नागरिक क्षति न्यूनीकरण टोली' का ९० प्रतिशत कर्मचारी कटौती गरिदिएका थिए।
सेन्टकममा १० जनाको टोली घटाएर एक जनामा सीमित गरिएको थियो। जस कारण आक्रमणअघि मिनाबको उक्त भवनको स्थलगत वा सर्वसाधारणको उपस्थितिबारे समीक्षा नै हुन पाएन।
घटना कसरी भयो?
फेब्रुअरी २८ को बिहान विद्यालयमा २५० भन्दा बढी बालबालिका उपस्थित थिए। युद्ध सुरू भएको खबर पाएपछि शिक्षकहरूले अभिभावकलाई बालबालिका लैजान बोलाएका थिए।
तर बिहान ११ बजेअघि नै पहिलो क्षेप्यास्त्र विद्यालयमा खस्यो।
भागाभाग भएपछि शिक्षकहरूले बालबालिकालाई प्रार्थना कक्षमा लगेका थिए। तर केही मिनेटभित्रै दोस्रो क्षेप्यास्त्र प्रहार भयो, जसले सम्पूर्ण भवन ध्वस्त पार्यो।
संयुक्त राष्ट्र संघको तथ्यजाँच टोलीले गत साताको बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार अमेरिकाले उक्त विद्यालय सैन्य लक्ष्य हो वा होइन भनी पुष्टि गर्ने आधारभूत कर्तव्यसमेत पूरा नगरेको औंल्याएको छ।
त्यसैले यो कार्य युद्ध अपराधको दायरामा पर्ने पर्याप्त आधार रहेको निष्कर्ष निकालेको छ।
अमेरिकी रक्षा मन्त्रालयले भने यसबारे आधिकारिक प्रतिक्रिया दिन अस्वीकार गर्दै अनुसन्धान अझै जारी रहेको जनाएको छ।
तर पेन्टागन भित्रैबाट बाहिरिएका यी विवरणहरूले आधुनिक युद्धमा एआई र द्रुत सैन्य कारबाहीका नाममा मानवीय र प्राविधिक पक्षलाई बेवास्ता गर्दा कति भयानक परिणाम आउन सक्छ भन्ने उजागर गरेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)