नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको सबैभन्दा नयाँ पार्टी एमाले भएको बताएका छन्।
सोमबार राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै ओलीले एमालेको विचार नै सबैभन्दा नवीन पनि भएको दाबी गरे।
कार्ल्स मार्क्सले प्रतिपादन गरेको मार्क्सवाद नै अहिले पनि संसारको सबैभन्दा नयाँ सिद्धान्त भएको ओलीले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै ओलीले उसको कुनै विचार नभएको बताए।
‘बुढो विचार बोकेको पार्टी कसरी नयाँ हुन्छ? त्यो नयाँ होइन, त्योसँगसमाज परिवर्तनको कुनै एजेन्डा छैन,’ उनले भने,‘त्यो नयाँ बोतल होला तर रक्सी उही हो। कहाँ पुग्ने स्पष्ट भिजनबिना त्यो अगाडि बढ्न सकिँदैन।’
उनले रास्वपाका पक्षमा अहिले आएको मत ह्विम भएको बताए।
‘यस्ता ह्विम कहिले-कहिले आउँछन्। त्यस्ता हामीले देखेका छौं। २४० मध्ये १२० सिट जतेपछि माओवादीले खायो भनेर दुनियाँ कराए। मैले त्यतिबेला नै यो अस्थायी फेनोमेना हो भनेको थिएँ।’
छोटो आयु भएकाहरू हलक्कै बढ्ने ओलीको तर्क छ।
‘पिपल र तीतेपाती सँगै रोप्नुभयो भने पिपल टुसो हालेको हुँदैन तितेपातीले तीन महिनामै उधुम मच्चाउँछ,’ ओलीले भने,‘मान्छेहरू अब तीतेपातीले पिपललाई खायो भनेर कराउँछन्। तर चार महिनामा तीतेपाती सुक्न थाल्छ, तीतेपातीले बर्खा देखे हिउँद देख्न पाउँदैन, हिउँद देखे बर्खा देख्न पाउँदैन। पिपल हजार वर्ष बाँच्छ। एमाले पिपल हो।’