काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल छाङ्सा फ्राग्रान्ट टुरिजम समिटमा सहभागी हुन चीन गएकी छन्।
मंगलबारदेखि सुरू हुने तीन दिने समिटमा सहभागी हुन ४ सदस्यीय प्रतिनिधि मण्डल सोमबार चीन गएका हुन्।
उनीसँगै कार्यपालिका सदस्य मैयालक्ष्मी महर्जन, सचिवालय प्रमुख नुरनिधि न्यौपाने र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख सुदर्शन भट्टराई चीन गएका हुन्।
सम्मेलनमा पर्यटनका आपसी हित र सीप, क्षमता विकास, सिकाइ तथा अनुभव आदान प्रदान हुने महानगरले जनाएको छ।
सहरी पर्यटन, कोभिडपछिको पर्यटन पुनःस्थापना, मेयर्स डाइलग, पर्यटन विकासका नयाँ सूचक, सांस्कृतिक पर्यटन लगायतका विषयमा प्रस्तुतीकरण, छलफल, स्थलगत अवलोकन भ्रमणसहित रहेको महानगरले जनाएको छ।
सम्मेलनको दोस्रो दिन उपप्रमुख डंगोलले काठमाडौंको सहरी पर्यटनको सम्भावनाका लागि लोक तथा सांस्कृतिक जीवन, कला, साहित्य र सिर्जनाका विषयमा प्रस्तुतीकरण गर्ने तालिका भएको महानगरले जानाएको छ।
बेइजिङको पहलमा बनेको विश्व पर्यटन सहर महासंघ सहरहरूमा केन्द्रित विश्वको पहिलो अन्तर्राष्ट्रिय पर्यटन संगठन हो।
उपप्रमुख शनिबार नेपाल फर्कने तालिका रहेको महानगरले जनाएको छ।