लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अबको दुई-चार दिनमै सरकारले पूर्णता पाउने बताएका छन्।
सोमबार तुलसीपुर पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री चौधरीले चाँडोभन्दा चाँडो आफूहरू सरकारलाई पूर्णता दिने तयारीमा लागेको बताए। छिटो सरकारलाई पूर्णता दिएर समयमै बजेट ल्याउनु पर्ने चुनौती उनको सरकारलाई छ।
‘अहिले परिस्थिति त्यस्तै बनिदियो र सुदूरपश्चिममा पनि ढिलाइ भइरहेको छ,’ उनले भने, ‘सुदूरपश्चिम र यहाँ सँगैसँगै सरकारलाई पूर्णता दिने तयारी छ।’
वैशाख १२ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले १५ गते माओवादीका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई बिनाविभागीय मन्त्रीको रूपमा सपथ खुवाएका थिए।
बिनाविभागीय भनिए पनि मन्त्री मास्कीलाई माओवादीका नेता- कार्यकर्ता तथा शुभचिन्तकले सामाजिक सञ्जालमार्फत् अर्थमन्त्री बन्न सफल भएको भन्दै धमाधम बधाई दिइरहेको छन्।
अब कांग्रेसले ४ र माओवादीले ३ मन्त्रालय पाउने सहमति भएको बताइन्छ। यसअघि नै साना दलहरूबाट दुई मन्त्री नियुक्त भइसकेका छन्। चौधरी आठ दल र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए। समर्थन गरेका अन्य दलहरूले पनि मन्त्रिमण्डलमा भाग खोजे सरकार टिकाइराख्न मन्त्रालयको संख्या थप्न चौधरी बाध्य हुने छन्। यसअघिका नेकपा (एमाले) का नेता तथा मुख्यमन्त्री लीला गिरीले मन्त्रालयको संख्या घटाएर दशमा झारेका थिए।
मन्त्रालयको संख्या थप्न लागेकोबारे प्रश्न गर्दा मुख्यमन्त्री चौधरीले स्पष्ट जवाफ दिएनन्।
‘दुई-चार दिन पर्खनुस्,’ उनले भने, ‘मन्त्रालय थप्ने/नथप्ने सबै थाहा भइहाल्छ।’