बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ।
सोमबार बिहान तीन नेताबीच झन्डै डेढ घन्टा बालुवाटारमा छलफल भएको हो। छलफलमा के-के विषयमा कुराकानी भयो भन्नेबारे तीन जना नेताहरूले कुनै प्रतिक्रिया दिएनन्।
प्रधानमन्त्री प्रचण्डको सचिवालय भने सदनमा विचाराधीन विधेयकबारे तीन नेताबीच छलफल भएको जनाएको छ।
यस्तै बैठकमा प्रधानमन्त्रीले नीति तथा, बजेटमा सुझाव मागेको पनि सचिवालयले बताएको छ।
‘संसदमा विचाराधीन संवैधानिक परिषद्, संक्रमणकालीन न्याय, सम्पत्ति शुद्धीकरण आदि विधेयकबारे छलफल गर्न नै प्रधानमन्त्रीले बैठक राख्नुभएको हो, त्यस्तै प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेटमा सुझाव माग्नुभएको छ,’ प्रधानमन्त्रीको सचिवालयले सेतोपाटीलाई भन्यो।