लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्विनी प्रदेश सरकारले आयोजना गर्न लागेको लौरियट्स एन्ड लिडर्स शिखर सम्मेलनको एकमात्र उद्देश्य लुम्बिनीको ‘ब्राण्डिङ’ गर्ने रहेको दाबी गरेका छन्।
लुम्बिनी प्रदेश सरकारले आगामी फागुन २८ र २९ गते लुम्बिनीमा लौरियट्स एण्ड लिडर्स चौथो शिखर सम्मेलन आयोजना गर्दै छ।
विभिन्न मुलुकका ९ जना नोबेल शान्ति पुरस्कार विजेता सहित विदेशी दातृ निकायका प्रतिनिधिहरुको समेत सहभागिता रहने शिखर सम्मेलनबारे प्रदेश सरकारका सत्ता साझेदार राजनीतिक दल तथा विभिन्न क्षेत्रबाट हुने गरेका टिका टिप्पणीबारे प्रष्ट्याउँदै मुख्यमन्त्री चौधरीले लुम्बिनीमा हुने शिखर सम्मेलन शान्ति र बालबालिकाको विषयमा मात्र सम्बन्धित रहेको र कुनैपनि छिमेकी राष्ट्रलाई असर पर्ने गतिविधि हुन नदिने प्रतिवद्धता व्यक्त गरेका हुन्।
‘हामी पञ्चशिलको सिद्धान्त अनुसार चल्छौं, कुनैपनि छिमेकी राष्ट्रलाई असर गर्ने हाम्रो उद्देश्य छैन,’ उनले भने।
शान्तिभूमि लुम्बिनीलाई विश्वसामु परिचित गराउन ‘बालबालिका, विकास र शान्तिको लौरियट्स एण्ड लिड्स चौथो शिखर सम्मेलन आयोजना गरिएको उनले बताए।
मुख्यमन्त्री चौधरीले प्रदेश सरकारको स्वार्थ लुम्बिनीको प्रचारप्रसार र यसक्षेत्रको विकास भन्दा अर्को कुनै नभएको भन्दै लुम्बिनीको नाममा प्रदेश सरकारलाई राजनिति गर्नु नपर्ने बताए।
‘प्रदेश सरकारलाई भू राजनिति गर्नुपर्ने कुनैपनि आवश्यकता छैन, भू राजनितिको लागि संघीय सरकार छँदै छ,’ उनले भने।
नोबेल शान्ति पुरस्कार विजेताहरुको उपस्थितीमा शान्तिको उद्गम स्थल बुद्ध जन्मस्थल लुम्बिनी रहेको र लुम्बिनी नेपालमा छ भन्ने विश्वभर चिनाउन शिखर सम्मेलन लुम्बिनीमै आयोजना गरिएको उनले बताए।
मुख्यमन्त्री चौधरीले शिखर सम्मेलनको माध्यमबाट विदेशी दातृ निकायहरु लुम्बिनीमा लगानीका लागि आकर्षित हुने र यसक्षेत्रको समृद्धिमा पनि सम्मेलन फलदायी हुने दाबी गरे। ‘समृद्धिबिनाको शान्ति दीगो हुँदैन र शान्तिबिनाको समृद्धि पनि टिकाउ हुँदैन, हामीले समृद्धि र शान्तिलाई जोड्न चाहेका छौं,’ उनले भने।
सम्मेलनमा विभिन्न देशका ९ जना नोबेल शान्ति पुरस्कार विजेताहरु लुम्बिनी आउने निश्चित भइसकेको छ। सम्मेलनमा ३ सय जना विज्ञहरु सहभागी हुनेछन्। सम्मेलनमा विभिन्न देशका २ सय भन्दा बढी विकास साझेदार सहभागी हुने निश्चित भइसकेको छ।
उनीहरुलाई लुम्बिनीमा मात्र नभई पाल्पा, प्यूठानको स्वर्गद्वारी, बर्दिया राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा अवलोकनको लागि लैजाने कार्यक्रम रहेको छ। फागुन २८ गते लुम्बिनी सम्मेलन केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने सम्मेलनमा शान्ति र बालबालिकाका विषयमा १० वटा कार्यपत्र प्रस्तुत हुनेछन्।
बालबालिकाको समग्र विकास प्रक्रियामा देखिएका चुनौतीहरु आधुनिक दासत्व, बेचबिखन, बालविवाह, बालश्रम र प्राकृतिक विपत्तिको सिकार भइरहेका विश्वभरका बालबालिकाको संरक्षणका लागि छलफल हुनेछन्। छलफलपछि बालशोषण अन्त्यका लागि सबैको प्रतिबद्धतासहितको घोषणापत्र जारी गर्नेछ।
सम्मेलनका लागि प्रदेश सरकारले बजेटमै ६ करोड ५० लाख रुपैयाँ छुट्याएको भएपनि विभिन्न दातृ निकायबाट सहयोग जुटेपछि सरकारको २ करोड रुपैयाँभन्दा बढी खर्च नहुने मुख्यमन्त्री चौधरीको भनाई छ।
सन् १८९५ मा स्वीडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा स्थापना भएको बाह्र लाख अमेरिकी डलर पुरस्कार राशीको नोबेल शान्ति पुरस्कार विश्वको सर्वाधिक ठूलो राशीको पुरस्कार मानिन्छ। साहित्य, शान्ति, भौतिक, रसायन, क्रिया विज्ञान तथा चिकित्सा र अर्थशास्त्र क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका व्यक्ति तथा संस्थाहरुलाई प्रदान गरिने नोबेल पुरस्कार विश्वकै सम्मानित मानिन्छ।
यति ठूलो महत्वको पुरस्कारका विजेता नौ जनालाई एकैपटक विश्वशान्ति स्थल लुम्बिनीमा ल्याएर शिखर सम्मेलन आयोजना गर्नु प्रदेश सरकारको मात्र नभई नेपालकै गौरवको विषय भएको मुख्यमन्त्री चौधरीले बताए।
विशेषगरी बालहिंसा, बालश्रम, बालविवाह, बालबालिकाको बेचबिखनको अन्त्यको प्रतिबद्धताका लागि आयोजना गरिएको शिखर सम्मेलनमा सहभागी हुने नोबेल शान्ति पुरस्कार विजेताहरुको संयोजन सन् २०१४ का नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीले गरिरहेका छन्।
सम्मेलनमा सत्यार्थीसहित सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेताहरु टिमोर लेस्टेका राष्ट्रपति जोजे मामोस ओर्टा (१७९६), जोडी विलयम्स (१९९७), सन् २०११ का संयुक्त विजेता लेह्म बोवी र टुवाको कर्मयान, सन् २०१५ का नोबेल शान्ति पुरस्कार विजेता ट्युनिसियाको नेसनल डायलग, क्वार्टेटका संस्थापक मध्येका अब्देससतार वेन मौसा र विदेद बुसामावुईसँगै चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस (१९९३), रसायन शास्त्रका नोबेल विजेता एरी वार्सनल (२०१३) पनि लुम्बिनी आउनेछन्।
त्यस्तैगरी शिखर सम्मेलनमा अर्थशास्त्री जेफ्री स्याक्स, जोर्डनका राजकुमार अली विन अल हुसेन, स्कट होम इन्टरनेसनल पिस रिसर्च इन्स्च्यिुटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पनामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङ्गो लगायतको पनि सहभागिता रहने निश्चित भएको छ।
सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेतासँगै बालबालिका, शान्ति क्षेत्रका विज्ञ, संयुक्त राष्ट्रसंघका विकास साझेदार लगायत एकसय जना बढी विदेशी विशिष्ट व्यक्ति र सरकारी तथा गैरसरकारी क्षेत्रका अधिकारी गरी नेपालका २ सयभन्दा बढी विशिष्ट व्यक्तिहरुको सहभागिता रहने सम्मेलनको सचिवालयका कार्यालय प्रमुख सुमन घिमिरेले जानकारी दिए।