करिब ६ करोड ६० लाख वर्षअघि एउटा विशाल क्षुद्रग्रह पृथ्वीमा ठोक्कियो।
त्यसको प्रभावले पृथ्वीको वातावरणमा उथलपुथल ल्यायो।
सूर्यको प्रकाश अवरूद्ध भयो, तापक्रम घट्यो र खाद्य प्रणाली तहसनहस भयो। डाइनसोरका अधिकांश प्रजातिसहित पृथ्वीका करिब तीनचौथाइ जीव प्रजाति लोप भए।
तर त्यही विनाशकारी घटनाबाट गोहीका पुर्खाहरू बाँच्न सफल भए।
डाइनसोरसँगै अस्तित्वमा रहेका गोहीका प्राचीन नातेदारहरू कसरी बाँचे? यो प्रश्नले वैज्ञानिकहरूलाई लामो समयदेखि अलमल्याउँदै आएको छ।
अहिले एउटा नयाँ अनुसन्धानले यसको सम्भावित कारणबारे महत्त्वपूर्ण संकेत दिएको छ।
गोहीका प्राचीन नातेदारहरू बदलिँदो जलवायुसँग जुध्न नयाँ वातावरणमा घुलमिल हुनुभन्दा आफूलाई उपयुक्त न्यानो क्षेत्र पछ्याउँदै बसाइँ सर्ने गरेका थिए। यही विशेषताले पृथ्वीको ठूलो विनाशका बेला उनीहरूलाई जोगाएको हुन सक्ने वैज्ञानिकहरूको निष्कर्ष छ।
बेलायतको युनिभर्सिटी कलेज लन्डन (युसिएल) का वैज्ञानिकहरूको नेतृत्वमा गरिएको अध्ययन वैज्ञानिक जर्नल साइन्स 'एड्भान्सेज' मा अक्टोबर २१ मा प्रकाशित भएको छ।
अनुसन्धानकर्ताहरूले गोही र तिनका प्राचीन नातेदारसँग सम्बन्धित ७ हजारभन्दा बढी जीवाश्म तथा भौगोलिक अभिलेख अध्ययन गरेका थिए। यसमा जीवित र लोप भइसकेका चार सयभन्दा बढी प्रजातिको जानकारी समावेश थियो।
त्यसपछि उनीहरूले पृथ्वीको प्राचीन जलवायुका ५२ वटा कम्प्युटर पुनर्निर्माणसँग ती अभिलेख तुलना गरे।
यसरी करिब २४ करोड ५० लाख वर्षको अवधिमा गोहीसँग सम्बन्धित जीवहरू कहाँ बसे र जलवायु परिवर्तनसँगै तिनको बासस्थान कसरी बदलियो भन्ने पत्ता लगाउने प्रयास गरियो।
अध्ययनबाट एउटा रोचक तथ्य देखियो।
गोहीका प्राचीन नातेदारहरू आजका गोहीजस्ता मात्रै थिएनन्। कुनै ठूलो आकारका हिंस्रक सिकारी थिए भने कुनै वनस्पति खाने जीव थिए। कतिपय जमिनमै बस्ने गर्थे। केही समुद्रमा जीवन बिताउँथे।
'सार्कोसुकस' नामको प्राचीन गोहीसँग सम्बन्धित जीव करिब १२ मिटर लामो हुने गर्थ्यो। अर्कोतर्फ 'सिमोसुकस' जस्ता साना जीव वनस्पति खान्थे।
शरीरको आकार, आहार र जीवनशैलीमा यति ठूलो विविधता भए पनि उनीहरूको एउटा विशेषता भने धेरै लामो समयसम्म लगभग उस्तै रह्यो।
त्यो थियो, न्यानो जलवायुप्रतिको आकर्षण।
अनुसन्धानको नेतृत्व गरेका जीवाश्मविज्ञ अल्फियो अलेसान्द्रो कियारेन्जाका अनुसार यी जीवहरू सामान्यतया नयाँ किसिमको तापक्रममा घुलमिल हुनुभन्दा आफूलाई उपयुक्त न्यानो वातावरण जहाँ पुग्थ्यो, त्यतै फैलिन्थे।
पृथ्वी तात्दा उनीहरू ध्रुवीय क्षेत्रतर्फ लाग्थे। पृथ्वी चिसिँदा फेरि भूमध्यरेखानजिकका तातो क्षेत्रमा सीमित हुन्थे।
यसको उदाहरण करिब पाँच करोड वर्षअघिको पृथ्वीमा भेटिन्छ।
त्यति बेला पृथ्वीको औसत तापक्रम अहिलेभन्दा करिब १० डिग्री सेल्सियस बढी थियो। ध्रुवीय क्षेत्रमा अहिलेको जस्तो स्थायी बरफ थिएन।
त्यसैले गोहीका प्राचीन नातेदारहरू उत्तर अमेरिका, युरोप र अन्टार्कटिकासम्म पुगेका थिए। अहिले अत्यन्त चिसो मानिने ठाउँमा समेत उनीहरू बस्ने गर्थे।
तर त्यसपछिका लाखौं वर्षमा पृथ्वी चिसिँदै जाँदा उनीहरूको फैलावट पनि खुम्चिँदै गयो।
यो निष्कर्षले डाइनसोर लोप भएको समयको अर्को महत्त्वपूर्ण प्रश्नतर्फ वैज्ञानिकहरूको ध्यान तानेको छ।
६ करोड ६० लाख वर्षअघि अहिलेको मेक्सिकोको युकातान प्रायद्वीपनजिक चिक्सुलुब क्षेत्रमा क्षुद्रग्रह ठोक्किँदा त्यसले पृथ्वीभर समान असर पारेको थिएन।
वायुमण्डलमा फैलिएका धुलो र सूक्ष्म कणले सूर्यको प्रकाश घटाए पनि भूमध्यरेखा र त्यस नजिकका केही क्षेत्रमा गोहीका पुर्खालाई बाँच्न मिल्ने तापक्रम कायम रहेको हुन सक्ने नयाँ अध्ययनले देखाएको छ।
वैज्ञानिकहरूले क्षुद्रग्रह ठोक्किएपछिको सम्भावित जलवायु बुझ्न विभिन्न कम्प्युटर परीक्षण गरेका थिए।
सूर्यबाट प्राप्त हुने प्रकाश ५ प्रतिशत र १० प्रतिशत घटेको अवस्थामा समेत भूमध्यरेखा नजिकका कतिपय क्षेत्र गोहीका प्राचीन नातेदारका लागि उपयुक्त देखिए।
तर प्रकाश १५ प्रतिशत घटेको परीक्षणमा त्यस्तो अनुकूल अवस्था कायम रहेन।
अनुसन्धानकर्ताहरूका अनुसार यो अत्यधिक अँध्यारो हुने परिदृश्य अहिले कम सम्भावित मानिन्छ।
यसबाट वैज्ञानिकहरूले विनाशकारी घटनापछि पनि केही न्यानो क्षेत्र सुरक्षित आश्रयस्थल बनेका हुन सक्ने अनुमान गरेका छन्।
कियारेन्जाका अनुसार क्षुद्रग्रहले पृथ्वीलाई सबै जीवका लागि समान रूपमा प्रतिकूल बनाएको थिएन। गोहीका पुर्खाहरू लामो समयदेखि न्यानो क्षेत्रसँग सम्बन्धित रहेकाले उनीहरूका केही समूह विनाशपछि पनि बस्न मिल्ने ठाउँमै रहेका हुन सक्छन्।
यद्यपि न्यानो क्षेत्रमा बस्नु मात्र उनीहरू बाँचेको कारण थिएन।
गोहीहरूको शरीरको तापक्रम बाहिरी वातावरणबाट प्रभावित हुन्छ। सामान्यतया उनीहरूलाई कम ऊर्जा चाहिन्छ। क्षुद्रग्रह ठोक्किएपछि सूर्यको प्रकाश घट्दा वनस्पति उत्पादन र खाद्य शृंखलामा ठूलो संकट आएको थियो। यस्तो अवस्थामा लामो समयसम्म खाना नखाई बाँच्न सक्ने जीवलाई फाइदा पुगेको हुन सक्छ।
अहिलेका गोहीहरू प्रतिकूल अवस्थामा आफ्नो शारीरिक गतिविधि घटाएर ऊर्जा बचाउन सक्छन्। तीव्र गर्मी, खडेरी वा चिसोको समयमा उनीहरू निष्क्रिय अवस्थामा रहन सक्छन्।
यसका अतिरिक्त पानी र जमिन दुवैसँग जोडिएको जीवनशैली, विभिन्न किसिमका आहार खान सक्ने क्षमता र तुलनात्मक रूपमा सानो शरीर भएका केही समूहको अस्तित्व पनि महत्त्वपूर्ण हुन सक्छ।
अनुसन्धानकर्ताहरूले यी सम्भावनालाई स्वीकार गरे पनि कुन विशेषताले कति योगदान गर्यो भन्ने निश्चित गरेका छैनन्।
यस अध्ययनले एउटा अर्को मान्यता पनि सच्याएको छ।
गोहीलाई प्रायः करोडौं वर्षदेखि नबदलिएको जीव मानिन्छ। तर उनीहरूको विकासक्रम हेर्दा धेरै प्रजाति उत्पत्ति भए, विभिन्न वातावरणमा फैलिए र लोप पनि भए।
अध्ययनले ती विविध परिवर्तनबीच न्यानो जलवायुसँगको सम्बन्ध भने असाधारण रूपमा स्थिर रहेको देखाएको छ।
अस्ट्रेलियामा करिब ३ करोड ४० लाख वर्षअघि केही प्राचीन गोहीसम्बन्धी जीवले सुक्खा वातावरणमा अनुकूलन गरेको अपवाद पनि भेटिएको छ।
यो अनुसन्धान विगत बुझ्न मात्र महत्त्वपूर्ण छैन।
अध्ययनका सहलेखक युसिएलका प्राध्यापक फिलिप म्यानियनका अनुसार पृथ्वी तात्दै जाँदा अहिलेका गोहीहरूले पनि उपयुक्त बासस्थान खोज्नुपर्ने हुन सक्छ।
तर प्राचीन समयमा उनीहरू फैलिन सक्ने प्राकृतिक क्षेत्र आज सडक, खेतीपाती र सहरले खण्डित गरेका छन्। त्यसैले जलवायु परिवर्तनसँगै सुरक्षित बासस्थानतर्फ सर्नु उनीहरूका लागि कठिन बन्न सक्छ।
यस अनुसन्धानले गोहीका पुर्खाहरू बाँचेको सम्पूर्ण रहस्य सुल्झाएको छैन। जीवाश्म र कम्प्युटरमा आधारित जलवायु पुनर्निर्माणले सम्भावित कारण देखाएका हुन्, प्रत्येक जीव कसरी बाँच्यो भन्ने प्रत्यक्ष प्रमाण होइनन्।
तर यसले एउटा महत्त्वपूर्ण संकेत दिएको छ।
पृथ्वीको सबभन्दा ठूलो विनाशमध्ये एउटा घटनामा जीवहरू बाँच्ने वा लोप हुने कुरा उनीहरूको बल र आकारले मात्र निर्धारण गरेको थिएन। उनीहरू कहाँ बस्थे, कस्तो वातावरण सहन सक्थे र संकट बेला कति कम ऊर्जामा जीवन धान्न सक्थे भन्ने पनि निर्णायक हुन सक्थ्यो।
डाइनसोरका अधिकांश समूह हराउँदा गोहीका केही पुर्खा बाँच्नुको रहस्य सम्भवतः यिनै विशेषताको सम्मिश्रणमा लुकेको थियो।
***