जाडोयाम सुरू हुँदै गर्दा घाम कम लाग्ने ठाउँमा बस्ने मानिसका लागि 'भिटामिन डी' को चर्चा बढ्छ।
विकसित देशमा मात्रै नभएर पछिल्ला वर्षमा नेपालमै पनि भिटामिन डी खाने चलन बढेको छ।
घामको पराबैजनी (युभी) किरण छालामा पर्दा शरीरले भिटामिन डी बनाउँछ। त्यसैले दिन छोटिँदै जाँदा भिटामिन डीको कमी र यसको सप्लिमेन्टमा (सामान्यतया चक्की औषधिका रूपमा) चासो बढ्छ।
भिटामिन डी स्वास्थ्यका लागि अत्यावश्यक पोषक तत्त्व हो। यसको गम्भीर कमी हुँदा बालबालिकामा 'रिकेट्स' हुन्छ। यसले हड्डी नरम भएर बांगिन सक्छ।
पछिल्ला वर्षमा भिटामिन डीलाई हड्डीको स्वास्थ्यभन्दा धेरै रोगको समाधानका रूपमा पनि प्रस्तुत गरिँदै आएको छ। क्यान्सरदेखि मुटुरोग, रूघाखोकी, मस्तिष्कको कार्यक्षमता र लडेर हुने चोटपटकसम्म रोक्न भिटामिन डी उपयोगी हुन सक्ने देखिएको थियो।
सन् १९८० को दशकमा केही प्रभावशाली अध्ययनहरू भएका थिए। तिनमा समेत अमेरिकाका उत्तरी राज्यमा विभिन्न प्रकारका क्यान्सरका कारण हुने मृत्यु घाम लाग्ने दक्षिणी राज्यको तुलनामा उल्लेख्य रूपमा बढी रहेको देखाएका थिए।
यसको सम्भावित कारण भिटामिन डी कमी हुन सक्ने वैज्ञानिकहरूले बताएका थिए।
केही अनुसन्धानकर्ताले जाडोयाममा रूघाखोकीका घटना बढ्नुको कारण पनि शरीरमा भिटामिन डी कमी हुन सक्ने अनुमान गरेका थिए।
त्यस्तै, जनावरमा गरिएका अध्ययनले पर्याप्त भिटामिन डीले क्यान्सरका कोषिकाको वृद्धि रोक्न सक्ने सम्भावना पनि देखाएका थिए।
भिटामिन डीका 'रिसेप्टर' शरीरका विभिन्न अंगमा भेटिनुले पनि यस्तो आशा बढाएको हो। आन्द्रा, मिर्गौला, मांसपेशी र मस्तिष्क लगायतका अंगमा यसको भूमिका हुन सक्ने देखिएपछि वैज्ञानिकहरूले यसको थप सम्भावित फाइदाबारे अध्ययन थालेका हुन्।
तर ठूलो स्तरका मानव अध्ययनले यीमध्ये धेरै आशा पुष्टि गर्न नसकेको बेलायती पत्रिका दि इकोनोमिस्टले जनाएको छ।
अमेरिकामा गरिएको भाइटल, अस्ट्रेलियाको डी–हेल्थ र न्युजिल्यान्डको भीडा जस्ता ठूला अध्ययनमा हजारौं मानिसलाई लामो समयसम्म भिटामिन डी सप्लिमेन्ट दिइएको थियो।
यी अध्ययनमा भिटामिन डी सप्लिमेन्ट खाँदा क्यान्सरको जोखिम घट्ने वा मुटुको स्वास्थ्यमा उल्लेखनीय सुधार हुने प्रमाण भेटिएन।
त्यस्तै, भिटामिन डीले मानिसलाई लड्नबाट जोगाउने, मस्तिष्कको क्षमता बढाउने वा जाडोयाममा बढ्ने रूघाखोकी रोक्ने प्रभाव पनि देखिएन।
अझ भिटामिन डीको हल्का कमी भएका मानिसमा समेत सप्लिमेन्ट खाँदा विशेष लाभ देखिएन। हड्डीका लागि आवश्यक मानिने भिटामिन डीले हड्डी भाँचिने जोखिमसमेत अपेक्षा अनुसार घटाएको पाइएन।
सन् २०२२ मा 'न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिन' मा प्रकाशित समीक्षात्मक सम्पादकीयले पनि भिटामिन डी सप्लिमेन्टका यस्ता अतिरिक्त फाइदाबारे प्रमाण कमजोर रहेको निष्कर्षतर्फ संकेत गरेको थियो।
तर यसको अर्थ शरीरलाई भिटामिन डीको आवश्यकता छैन भन्ने होइन। शरीरका लागि निश्चित मात्रामा भिटामिन डी अनिवार्य छ। विशेषगरी हड्डीको स्वास्थ्यका लागि यसको भूमिका महत्त्वपूर्ण छ।
शरीरले सूर्यको प्रकाशबाट भिटामिन डी बनाउन सक्छ। खानाबाट पनि केही मात्रामा भिटामिन डी प्राप्त हुन्छ। माछा, अण्डा र रातो मासु यसका केही स्रोत हुन्।
तर सबै मानिसले पर्याप्त घाम पाउँदैनन्।
भूमध्यरेखाबाट धेरै टाढा बस्ने मानिस, गाढा छाला भएका व्यक्ति, अधिकांश समय घरभित्रै बिताउने मानिस तथा खानाबाट पर्याप्त भिटामिन डी नपाउने व्यक्तिमा यसको कमी हुने सम्भावना बढी हुन सक्छ।
यस्तो अवस्थामा चिकित्सकीय सल्लाह अनुसार भिटामिन डी सप्लिमेन्ट आवश्यक पर्न सक्छ।
त्यस्तै जति धेरै भिटामिन डी खायो, उति राम्रो भन्ने एउटा सामान्य भ्रम छ।
अहिलेसम्म उपलब्ध प्रमाणले भने शरीरलाई आवश्यक न्यूनतम मात्रा महत्त्वपूर्ण भए पनि धेरै सप्लिमेन्ट खाँदैमा अतिरिक्त स्वास्थ्य लाभ पाइन्छ भन्ने देखाउँदैन।
विगतमा वैज्ञानिक सिद्धान्त र प्रारम्भिक अध्ययनका आधारमा भिटामिन डीले विभिन्न रोगबाट जोगाउन सक्ने आशा गरिएको थियो। तर ठूलो संख्यामा मानिसलाई समेटेर गरिएको अध्ययनले त्यस्ता दाबी चित्तबुझ्दो गरी पुष्टि गरेन।
यसले औषधि वा सप्लिमेन्टबारे एउटा महत्त्वपूर्ण पाठ पनि दिन्छ— प्रयोगशाला वा प्रारम्भिक अध्ययनमा देखिएको सम्भावित फाइदा मानिसमा वास्तविक रूपमा प्रयोग गर्दा नदेखिन पनि सक्छ।
त्यसैले कुनै सप्लिमेन्ट उपयोगी छ कि छैन भन्ने निष्कर्षमा पुग्न ठूलो संख्यामा मानिसमा गरिएको विश्वसनीय अध्ययन आवश्यक हुन्छ।
उसो भए कसलाई भिटामिन डी सप्लिमेन्ट आवश्यक पर्न सक्छ?
घाम कम हुने मौसम वा स्थानमा बस्ने, धेरैजसो समय घरभित्र बिताउने, गाढा छाला भएका तथा खानाबाट पर्याप्त भिटामिन डी नपाउने व्यक्तिले आफ्नो भिटामिन डीको अवस्थाबारे चिकित्सकसँग परामर्श गर्न सक्छन्।
स्वस्थ व्यक्तिले भने कुनै विशेष कारणबिना उच्च मात्रामा भिटामिन डी खानु आवश्यक हुँदैन। भिटामिन डी शरीरका लागि आवश्यक छ, तर धेरै मात्रामा सेवन गर्नु स्वास्थ्यका लागि अझ राम्रो हुन्छ भन्ने होइन।