सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पार्टीका नेता मेटमणि चौधरीलाई लिएर बुधबार विपक्षी दलहरूको छलफलमा पुगे।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार अपराह्न ५ बजे भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवासहित अधिकांश पदाधिकारी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर थिए।
विपक्षी दलहरूको यो छलफलमा सत्तारूढ एकीकृत समाजवादी अध्यक्ष नेपाल पनि मिसिए। कांग्रेसले पछिल्लो समय राप्रपासहित विपक्षी दलहरूसँग संवाद गर्दै आएको थियो। तर बुधबार बूढानीलकण्ठमा भएको छलफलमा राप्रपा नेताहरू सहभागी थिएनन्।
विपक्षी दलहरूको छलफल मुख्यगरी सरकारले जेठ १५ मा ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट, सुदूरपश्चिम र मधेस प्रदेश सरकारलगायत विषयमा कुराकानी केन्द्रित रहेको थियो।
मधेसमा जसपा नेपाल नेतृत्वमा सरकार छ भने सुदूरपश्चिममा एकीकृत समाजवादीको नेतृत्वमा सरकार छ।
मधेस सरकार जोगाउन जसपा नेपालले एकीकृत समाजवादी र लोसपाको साथ खोजेको छ।
सुदूरपश्चिममा अहिलेको सत्ता गठबन्धनले एकीकृत समाजवादी संसदीय दल नेता रहेका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वास मत दिए पनि एमाले सरकारमा सहभागी छैन।
सत्ताघटक एकीकृत समाजवादी नै विपक्षी दलहरूको छलफलमा गएपछि राजनीतिमा सानोतिनो तरङ्ग ल्याएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले बिहीबार बिहानै माधव नेपालसँग टेलिफोनमा कुराकानी गरेका छन्। एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बालुवाटार पुगेर बिहीबार बिहान प्रधानमन्त्रीसँग भेटवार्ता पनि गरे।
नेता खनालले अध्यक्ष नेपाल देउवा निवासको छलफलमा गएको आफूलाई 'मीठो' नलागेको प्रतिक्रिया दिएका छन्।
प्रधानमन्त्री दाहालले भने सत्ता गठबन्धनमा समस्या नरहेको प्रष्ट पारेका छन्। उनले मधेसमा पनि संघीय गठबन्धनअनुसारकै समीकरणबाट सरकार बन्ने दाबी पनि गरेका छन्।
एकीकृत समाजवादी अध्यक्ष नेपाल देउवा निवासको छलफलमा गएकोबारे प्रधानमन्त्री दाहालले बिहीबार विराटनगरमा पुगेर भने, ‘माधवजी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितको बैठकमा सहभागी हुनुलाई मैले त्यत्ति असहज ठानेको छैन।’
प्रधानमन्त्री दाहालले माधव नेपाल पहिलादेखि नै यताउता गरिराख्ने पनि बताएका थिए।
‘माधवजी पहिलादेखि नै उता पनि यता पनि जोडिने जस्तो देखिएको त थियो तर अहिले मेरो बिहान कुरा हुँदा माधवजी यो समीकरण भन्दा बाहिर छैन, हुँदैन भन्ने कुरा क्लियर गर्नुभएको छ,’ प्रधानमन्त्री दाहालले भने।
यो पनि:
प्रचण्डसँग भेटेपछि झलनाथले भने– गठबन्धन तलमाथि हुँदैन
प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच कुराकानी
देउवा निवासमा विपक्षी दलहरूको बैठक, माधव नेपाल पनि सहभागी