धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपाल पत्रकार महासंघलाई कहाँ, कसरी पत्रकारलाई धम्की दिएको हो भन्ने प्रमाणित गर्न चुनौती दिएका छन्।
पत्रकार महासंघले सोमबार गृहमन्त्री रमेश लेखकलाई भेटेर सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहाललाई समाचार लेखेकै कारण गालीगलौज गर्ने, धम्की दिने र थप समाचार लेख्नै नदिने हर्कत भएको भन्दै महासंघले यस्तो गतिविधि गर्नेमाथि राज्यबाट कुनै कारबाही नगर्नुले प्रेस स्वतन्त्रताप्रतिको दृष्टिकोणमै प्रश्न उठिरहेको उल्लेख गरेको थियो।
यो पनि: धरान र चितवनमा पत्रकारहरूमाथि धम्की र कुटपिट, महासंघको भर्त्सना
धरानका पत्रकार गोपाल दाहालले खोज पत्रकारिता केन्द्र (खोपके) मा 'हर्क साम्पाङको मनमौजी शासन, बेथितीको दलदलमा धरान' शीर्षकमा समाचार लेखेका थिए। उक्त समाचार प्रकाशित भएपछि मेयर साम्पाङ र उनका समर्थकहरूले धम्की दिएको घटना आएपछि पत्रकार महासंघले यसबारे अध्ययन गर्न समिति नै गठन गरेको थियो।
महासंघको प्रतिवेदनमा धरानका मेयर हर्क साम्पाङ र उनका समर्थकले गोपाल दाहाललाई समाचार लेखेकै कारण ज्यान लिनेसम्मको धम्की दिएको उल्लेख छ।
यो पनि: गृहमन्त्रीलाई भेटेर पत्रकार महासंघले भन्यो- मेयर साम्पाङसहितलाई कारबाही गर्नुपर्यो
‘नेपाल पत्रकार महासंघले गोपाल दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन गर्न गठन गरेको मिसनले तयार पारेको प्रतिवेदनले दोषी औल्याएका जो कोहीलाई तत्काल कानुनी कठघरामा उभ्याएर प्रेस स्वतन्त्रताप्रति सरकारको प्रतिबद्धतालाई व्यहारमा उतार्न आवश्यक कदम चालिदिनु हुन गृहमन्त्रीसमक्ष अनुरोध गर्दछ,’ महासंघका महासचिव रामप्रसाद दाहालले हस्ताक्षर गरेको र गृहमन्त्री लेखकलाई बुझाएको मात्रपत्रमा उल्लेख छ।
पत्रकार महासंघले गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएपछि मंगलबार मेयर साम्पाङले एक विज्ञप्ति जारी गर्दै कहाँ, कसरी धम्की दिएको हो प्रमाणित गर्न पत्रकार महासंघलाई भनेका छन्।
‘पत्रकारलाई धम्की दिएको भन्ने कुरा अनर्गल प्रचार गर्ने पत्रकार महासंघलाई मेरो चुनौती छ- कहाँ, कति बजे, कुन मिडियामा के कसरी धम्की दिएको हो सो प्रमाणित गरिदिन चुनौती दिन्छु’ मेयर साम्पाङले निकालेको विज्ञप्तिमा उल्लेख छ।
यस्तो छ विज्ञप्ति:
