सरकारले ल्याएको प्रहरीसम्बन्धी नयाँ विधेयकले नेपाल प्रहरीमा कर्मचारी बढुवा सिफारिस हुँदा दिइने अंकमा हेरफेर गरेको छ।
कर्मचारीको बढुवा हुनेक्रममा चलखेल हुने गरेको भन्दै आरोप लाग्ने गरेको थियो। त्यसलाई न्यूनीकरण गर्न सरकारले बढुवा समितिले दिने अंकलाई समेत घटाएको छ।
नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकले बढुवा समितिले जम्मा तीन अंक दिने प्रावधान ल्याउन लागेको हो। प्रहरी नियमावली २०७१ मा बढुवा समितिले ७.५ अंक दिने व्यवस्था छ।
मंगलबार संसदमा दर्ता भएको विधेयकले अन्य अंकहरूमा पनि हेरफेर गरेको छ।
कार्यसम्पादन मूल्यांकनबापत ४० अंकबाट बढाएर ५० अंक बनाउने प्रस्ताव सरकारले गरेको छ।
जेष्ठताको पनि २२ अंकबाट २७ अंक बनाउने भएको छ।
शैक्षिक योग्यता पहिले १० अंक दिइन्थ्यो। तर अहिले तीन वटा तहमा वर्गीकरण गरिएको छ।
राजपत्र अनङ्कितको लागि ५ अंक दिइने भएको छ। राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणी र प्रथम र विशिष्ट श्रेणीका लागि ८ अंक दिने प्रस्ताव यस विधेयकमा गरिएको छ।
तालिम बापत ७.५ अंक दिइँदै आएको छ। अब नयाँ विधेयकले अनङ्कितका लागि १० र बाँकी तहका लागि ८-८ अंक दिने प्रस्ताव भएको छ।
चुनौतीपूर्ण वा विशेष जिम्मेवारी बापत भने कुनै हेरफेर भएको छैन।