नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय कोषाध्यक्षमा फूलमाया रानामगर 'खुसी' निर्वाचित भएकी छन्।
पेरिसडाँडामा जारी उपत्यका विशेष र विश्वविद्यालय विशेष प्रदेशको मतगणनामा कोषाध्यक्ष पदको गणना सकिँदा खुसी निर्वाचित भएकी हुन्।
उनले ५९६ मत ल्याएकी छन्। उनी उपमहासचिव जनार्दन शर्मानिकट हेमन्त राई प्यानलकी हुन्।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट उपदेश यादव प्यानलकी पार्वता चाम्लागाई (पारू) दोस्रो, उपमहासचिव शक्ति बस्नेतनिकट विजयप्रकाश सापकोटा प्यानलका महेन्द्रबहादुर चन्द तेस्रो र वर्षमान पुननिकट सुदिन पौडेल प्यानलका शिव श्रेष्ठ चौथो भएका छन्।
पदाधिकारीमध्ये कोषाध्यक्ष र सचिवको मतगणना सकिएको छ। अहिले उपमहासचिव र महासचिवको मतगणना भइरहेको छ।
त्यसपछि उपाध्यक्ष र अध्यक्षको मतगणना सुरू हुनेछ। सात प्रदेशको नतिजाअनुसार अध्यक्षमा विजयप्रकाश र हेमन्तबीच टक्कर हुने देखिएको छ।