परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गरेका छन्।
भेटमा नेपाल-भारत सम्बन्धका विविध विषयका साथै आपसी चासो, साझा हित र आगामी दिनमा गरिने सहकार्यबारे कुराकानी भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्री राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको चर्चा गर्दै नेपाल र भारतका नागरिक तथा दुई देशको पारस्परिक हितका लागि नेपाल सधैं भारतसँग नजिक रहेर सहकार्य गर्न चाहेको बताएकी थिइन्।
दुई देशबीचको सीमासम्बन्धी कार्यदल, बाउन्ड्री वर्किङ ग्रुप एक महत्त्वपूर्ण संयन्त्र रहेको र दुई देशका बीचमा सीमा सम्बन्धमा कुनै मुद्दा उठेमा सोही समूह बसेर आवश्यक कार्य गर्नुपर्नेमा केही वर्षदेखि त्यसको बैठक बस्न नसकेकाले उक्त ग्रुपको बैठक बस्ने विषयमा छलफल भएको थियो।
सन् २०२४ को जनवरीमा बसेको नेपाल इन्डिया ज्वाइन्ट कमिसनको बैठकले पनि सो ग्रुपको बैठक तत्कालै बसेर सीमाका सम्बन्धमा आवश्यक कार्य गर्न निर्देशन दिएकाले सो बैठक छिटो बस्नेबारे छलफल गर्दै यस्ता बैठक तथा द्विपक्षीय संयन्त्रका बैठकहरुले सम्बन्ध सुधार तथा आपसी सहकार्यमा सहजीकरण गर्ने चर्चा सो बैठकमा भएको थियो।
नेपालले यस अघिदेखि नै भारतसँग अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेको तथा भैरहवास्थित गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिन्न सहरबाट हवाई उडानका लागि अनुरोध गरिएको विषयमा स्मरण गराउँदै मन्त्री राणाले यस विषयलाई विशेष प्राथमिकतामा राखिदिन सचिव महावर मार्फत् भारत सरकारलाई आग्रह गरेकी छन्।
यसै महिना काठमाडौंमा बसेको द्विदेशीय व्यापारसम्बन्धी इन्टर गभर्मेन्टल कमिटी, आइजिसीका साथै नेपाल भारत ऊर्जासम्बन्धी बैठक फलदाली रहेका उल्लेख गर्दै द्विपक्षीय बैठकलाई निरन्तरता दिनुपर्ने विषयमा पनि उनीहरूबीच कुराकानी भएको सचिवालयले जनाएको छ।
नेपालले महाकाली नदीको पूर्वी तर्फबाट दार्चुला हुँदै टिंकरसम्म पुग्ने सडक निर्माण गरिरहेको र भौगोलिक विकटताका कारण निर्माण कार्यका लागि आवश्यक उपकरण एवं सामग्री ढुवानीका लागि समस्या भएकाले भारतको भूमि भएर ती सामग्रीको ओसारपसारका लागि नेपालले औपचारिक रूपमा नै आग्रह गरिसकेकाले त्यसका लागि सहजीकरण गरिदिन पनि मन्त्री राणाले आग्रह गरेकी छन्।