राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन्।
अध्यक्ष लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायत नेताहरू बुधबार साँझपख त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन्।
अध्यक्ष लिङ्देन नेतृत्वको टोलीलाई विमानस्थल पुगेर राप्रपा महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरूङले स्वागत गरेका थिए।
अध्यक्ष लिङ्देनलगायत नेताहरू प्रवास संगठन र पशुपति वेलफेयर समाजले गरेको कार्यक्रममा भाग लिन भारतको राजस्थान गएका थिए।
उक्त कार्यक्रम उत्साहजनक वातावरणमा सम्पन्न भएको अध्यक्ष लिङ्देनको भनाइ छ।
‘विभिन्न पेशा, व्यवसायका सन्दर्भमा रहेका तथा स्थायी रूपमै बसोबास गर्ने नेपाली समुदायमा राप्रपाप्रतिको विश्वास तथा आकर्षण देखेर हामी असाध्य उत्साहित भएका छौं,’ उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्।
केन्द्रीय समिति राख्ने समयमा अध्यक्ष लिङ्देन भारत गएको भन्दै पार्टीभित्र संस्थापनइतर पक्षका नेताहरूले प्रश्न उठाएका थिए।
अध्यक्ष लिङ्देनले गत माघदेखि केन्द्रीय समिति बैठक राखेका छैनन्।
यो पनि: केन्द्रीय समिति बैठक राख्ने दबाब छल्न राजेन्द्र लिङ्देन गए राजस्थान