नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच एकताको गृहकार्य निर्णायक तहमा पुग्न लागेको थाहा पाएपछि सम्मानित नेता झलनाथ खनालले काउन्टर दिएका छन्।
जेनजी पुस्ताको आन्दोलनका क्रममा निवासमै आगजनीमा परेकी पत्नीको उपचारका लागि भारतमा रहेका नेता खनालले एकताको सहनाई नबजाउन बरू अविलम्ब पार्टी पुनर्गठनको दिशा समात्न भनेका हुन्।
‘म अहिले पत्नीको उपचारको सिलसिलामा भारत छु। त्यहाँ पार्टी एकताको गृहकार्य भइरहेको भन्ने सुनेको छु। केही दिनअघि मसँग कुरा हुँदा दस्तावेजमा काम भइरहेको छ भन्ने जबाफ पाएको थिएँ,’ उनले सेतोपाटीसँग भने, ‘म कहाँ त्यो दस्तावेज पनि आइपुगेको छैन। एकताको मोडालिटी (प्रारूप) बारे पनि थाहा छैन। भनिएको पनि छैन।’
नेता खनालले अहिले पार्टीलाई आमरूपमा पुनर्गठनको खाँचो रहेको औंल्याए। अहिले सबै पार्टीमा पुनर्गठनको बहस बाक्लिएका बेला एकीकृत समाजवादीले एकताको बेमौसमी बाजा बजाउनुको तुक नरहेको बताए।
‘एकीकृत समाजवादीलाई आमरूपमा पुनर्गठन गर्न जरूरी छ। पार्टीलाई व्यापक पुनर्गठन गर्दै क्रान्तिकारी शक्ति बनाउनुपर्ने छ। त्यसपछि मात्रै एकताको सान्दर्भिकता रहन्छ,’ उनले भने।
उनले विगतमा पनि नेपाली कांग्रेसको पुच्छर बनेर हिँड्दा पार्टी आन्दोलन संगठित नै हुन नपाएको स्मरण गर्दै अहिले पनि माओवादी केन्द्रसँग एकता गर्न हतारिँदा एकीकृत समाजवादीको औचित्य नै समाप्त हुने तर्क गरे।
‘म बृहत् वामपन्थी एकताको पक्षधर नै हुँ। लामो समयदेखि भन्दै पनि आएको छु तर सबैलाई हेक्का होस्, त्यो बेला आइसकेको छैन,’ उनले भने।
एकीकृत समाजवादीका एक नेताले दाबी गरेअनुसार अध्यक्ष प्रचण्ड र माधव नेपाल एकताको अन्तिम गृहकार्यमा छन्। गत असोज १७ देखि १९ गतेको बाढी–पहिरोकै बीचमा अध्यक्ष नेपालले महासचिव घनश्याम भूसाललाई केन्द्रीय कमिटीको बैठक राख्न भनेका थिए।
त्यतिबेला महासचिव भूसालले नै देश बाढी–पहिराले आक्रान्त रहेका बेला केन्द्रीय कमिटी बैठकको औचित्य नहरने भन्दै एकता टुंगिन लागेको हो र भन्ने प्रश्न गरेका थिए।
जबाफमा अध्यक्ष नेपालले संगठनबारे केही कुरा टुंगो लाग्न बाँकी रहेको बताएका थिए। ती नेताले बताएअनुसार अहिले प्रचण्ड र नेपाल दुवै एकताका लागि हतारिएका छन्।
यही चाल पाएर अध्यक्ष खनालले शनिबार भारतबाटै सन्देश पठाउँदै कुबेलाको सहनाई नबजाउन र सशक्त क्रान्तिकारी पार्टी बनाउने मार्गमा अघि बढ्न भनेका हुन्।
‘युवा आन्दोलनको विस्फोटन उनीहरूको फगत आवेग वा बाह्य शक्तिको षड्यन्त्र मात्र होइन, यो दुई तिहाई बहुमत भएको संसद विघटन भएदेखि मुलुकलाई नेतृत्व गर्दै आएका र सत्तामा बसेका पार्टीहरूको मुख्य नेतृत्वको घनघोर असफलता पनि हो। यो नै मुख्य र निर्णायक कुरा हो। त्यसले मुलुकलाई यो दुःखद् अवस्थामा ल्याइ पुर्याएको छ। हाम्रो पार्टी लगायत यस बीचमा सत्तामा रहेका र सत्तामा सहभागी भएका सबै पार्टीका नेतृत्वले मुलुकलाई सही दिशा दिन नसकेकोमा उनीहरुले जिम्मेवारी लिनैपर्छ,’ उनले सन्देशमा भनेका छन्।
मुलुकलाई सही दिशा दिने भनेको राजनीतिले र आजको अवस्थामा राजनीतिक पार्टीले नै भएको उनको ठहर छ।
‘हामी अहिले बहुदलीय प्रणालीमा छौं। दलबाहेक कसैले पनि जनता र मुलुकलाई सही बाटो देखाउन सम्भव हुँदैन। त्यसमाथि वामपन्थी दलले नै आम जनता र राष्ट्रलाई सही मार्ग देखाउनुपर्ने हो। तर दक्षिणपन्थीहरूका पछि लागेर हाम्रो पार्टीको नेतृत्वसहित अन्य वामपन्थी नेतृत्वहरू समेतले मुलुकको चौतर्फी सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रियतालाई सुदृढ गर्ने कार्यभारलाई छोडेर यथास्थितिवादको मार्गमा हिँडेपछि र विदेशीहरुसँग अपमानपूर्ण सन्धी र सझौता गर्न थालेपछि मुलुक भयावह संकटमा जानु र विदेशीहरूको क्रिडास्थल बन्तु अनुवार्य नै थियो। अहिले त्यही नै भइरहेको छ,’ खनालले विज्ञप्तिमार्फत् भनेका छन्।
अब देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य रहेको उनले बताएका छन्।
‘तपाईं हामीले देखिरहेका छौं। हरेक साना ठूला पार्टीहरूमा र खुद जेन्जी समूहमा समेत उथलपुथल र विभाजन भइरहेका छन्। त्यसले गर्दा सबैतिर सर्वत्र पुनर्गठन र रूपान्तरणको माग उठिरहेको छ। यो युगको माग हो, यो समयको माग हो, यो जनताको माग हो र यो सिंगो राष्ट्रको माग समेत हो। यो फगत पुस्तावादको माग होइन, सबै पुस्ताको क्रान्तिकारी पुनर्गठन र रुपान्तरणको माग हो। त्यसलाई अस्वीकार गरेर कोही अघि जान सक्दैन,’ उनको निष्कर्ष छ।
यतिबेला एकीकृत समाजवादीका निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम नभएको उनको भनाइ छ।
‘हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरूलाई पार्ने दिशामा नलागौं। सबभन्दा पहिले हाम्रो चार वर्षे विद्रोहको यात्राको निर्मम समीक्षा गरौं। ठीक बेठीक के गर्यौं, दूध र पानी छुट्याऔं। हामीले नवौं राष्ट्रिय महाअधिवेशनदेखि नै उठाएको युवा आवाज र कार्यविधिको कुरालाई ध्यान दिऔं,’ उनले भनेका छन्।
हाम्रै पार्टी भित्रका युवाहरूको आवाज अनुरूप समेत पार्टीलाई सही वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तका आधारमा पुनर्गठन गर्न माग गरेका छन्।
‘पार्टीलाई आमूल परिवर्तनकारी र नेपाली विशेषताको सामजवादका निम्ति दृढ संकल्पित पार्टीमा रूपान्तरण गरौं, यही दिशाका आधारमा सकेसम्म सबै क्रान्तिकारी कम्युनिष्ट, वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिहरुलाई गोलबन्द गरौं। एउटा बृहत राष्ट्रिय मोर्चाको निर्माण गरौं र प्रतिनिधि सभाको निर्वाचनको तयारीमा बृहत् योजनाका साथ अघि बढौं। मेरो विचारमा आजको सही मार्ग यही हो। कुबेलाको सहनाई बजाउनतिर कोहि पनि नलागौं। सिंगो पार्टीलाई एकताबद्ध बनाएर पुनर्गठन र रुपान्तरणको ऐतिहासिक मार्गतिर अघि बढौं,’ उनले भनेका छन्।