नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएकाहरूले आज भेला गर्ने भएका छन्।
काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँ ब्याङ्केटमा आज मध्याह्नदेखि भेला हुने नेता गुरूराज घिमिरेको भनाइ छ।
१४ औं महाधिवेशनका ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये २४८८ जनाले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका थिए।
उनीहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग पनि गरिसकेका छन् तर प्रक्रिया अघि बढेको छैन।
कांग्रेस शीर्ष नेताहरू नियमित महाधिवेशनमै जोड दिइरहेका छन् तर केन्द्रीय समितिबाट कार्यतालिका ल्याउन सकेका छैनन्।
यस्तो अवस्थामा विशेष महाधिवेशन झन् सान्दर्भिक बन्दै गइरहेको भन्दै उनीहरूले विशेष महाधिवेशन प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।
कार्यवाहक सभापति खड्कालाई गत शनिबार र नेता शेखर कोइरालालाई सोमबार भेटेर विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका नेताहरूले विशेष महाधिवेशन अघि बढाउन आग्रह गरेका थिए।
नेतृत्वलाई थप दबाब दिन विशेष महाधिवेशन पक्षधरले आज भेला गर्न लागेका हुन्। 
साथै आज दिउँसो १ बजे सानेपामा केन्द्रीय समिति बैठक पनि बस्दैछ। महाधिवेशन कार्यतालिकामा सहमति खोज्न दुई दिन स्थगित बैठक आजदेखि पुन: सुरू गर्न लागिएको हो।
सभापति शेरबहादुर देउवा पक्षले चुनावपछि वैशाखमा नियमित महाधिवेशन गर्न सकिने बताएका छन् भने दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइरालाले चुनावअघि १५ औं महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन्।
नेताहरूबीच महाधिवेशन कार्यतालिकामा मतभेद हुँदा केन्द्रीय समितिमा महाधिवेशन प्रस्ताव नै पेस हुन सकेको छैन।
यो पनि:
देउवानिकट ४ नेताले भने– महाधिवेशन गरेर मात्र चुनावमा जानुपर्छ
धोविघाटमा कांग्रेसका दुई पक्ष दुईतिर, दिनभर ओहोरोदोहोरो गरिरहे कार्यवाहक सभापति खड्का