नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले वाम आन्दोलन पुनःगठनका लागि प्रस्तावित कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द विप्लवदेखि नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा सहितसँग छलफल सुरू गरेका छन्।
महासचिव भूसालले केही दिनभित्रै वाम आन्दोलन पुनर्गठनको खाका तयार पार्ने सेतोपाटीलाई जानकारी दिए।
माओवादी केन्द्रसहित ८ वटा वाम घटक एकताका लागि सहमतिमा पुगेपछि माओवादी नेता जनार्दन शर्माले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर बिदा मागेका थिए।
सेतोपाटीसँगको कुराकानीमा शर्माले बृहत् वाम–लोकतान्त्रिक शक्तिहरूबीचको ध्रुवीकरणको पक्षमा आफू रहेको बताउँदै त्यसकै लागि क्रियाशील हुने बताए।
सम्मानित नेता झलनाथ खनाल र महासचिव भूसालसहितको एकीकृत समाजवादीको पंक्ति एकतामा नजाने र नयाँ ढंगले पार्टी पुनःगठन गर्ने बताइरहेका छन्।
यही सन्दर्भमा हामीले महासचिव भूसालसँग कुराकानी गर्यौं।
उनले वाम–लोकतान्त्रिक शक्तिहरू समेटेर नयाँ ढंगले आन्दोलन पुनःगठन गर्ने बताए। उनले नेता जनार्दन शर्मा र नेत्रविक्रम चन्द लगायत वाम–प्रगतिशील शक्तिहरूसँग संवाद भइरहेको बताए।
‘वाम आन्दोलन पुनःगठन गरौं भन्ने कुरामा हाम्रो मोटो समझदारी छ। अरू कुरा चाहिँ छलफल गर्नुपर्नेछ,’ उनले भने, ‘विप्लवजीसँग पनि रूपान्तरण र पुनःगठनको आन्दोलनमा हामी सँगै छौं। पहिले पनि हामी सँगै थियौं।’
शर्माले आज दिउँसो पत्रकार सम्मेलन पनि गर्न लागेका छन्। उनले सम्भवत: आज आफूले अगुवाइ गर्ने भनेको वाम लोकतान्त्रिक ध्रुवीकरणबारे धारणा राख्नेछन्।
‘सत्ताको पुच्छर हुने वाम आन्दोलन अब चाहिएन’
सेतोपाटीसँगको कुराकानीमा महासचिव भूसालले सत्ताको वरिपरि फेरो मारिरहने, सत्तादेखि सत्तासम्म गन्तव्य भएको र मूलतः सत्ताकै पुच्छर बनिरहने चरित्र, नीति र सिद्धान्त बोकेको वाम आन्दोलनको अनुहार अब नेपाली राजनीतिलाई नचाहिएको बताए। 
‘मेरो, नीति, निष्ठा र संकल्प भनेकै वाम आन्दोलनको पुनःगठन हो। अझ भनौं न, लोकतान्त्रिक आन्दोलनकै पुनःगठन पनि हो,’ उनले भने, ‘सत्ताको पुच्छर बनिरहने, त्यस्तो चरित्र ग्रहण गरेको, राजनीतिक सिद्धान्त र विचार बोक्ने वाम आन्दोलन नागरिकहरूले खोजेका छैनन्, त्यसकारण पनि जनताप्रति जवाफदेयी, सामाजिक न्याय, लोकतन्त्र र राष्ट्र हितमा सौदाबाजी नगर्ने गरी वाम आन्दोलनको पुनःगठन आजको आवश्यकता हो।’
महासचिव भूसालले एकीकृत समाजवादीभित्रको एउटा ठूलो तप्का वाम आन्दोलन र पुनःगठनको पक्षपाती रहेको बताउँदै तर केही अन्तरविरोध पनि देखिएको बताए।
खास गरी पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाक्री, निवर्तमान सांसद अमरबहादुर थापा, किसान श्रेष्ठ, होम बुढाथोकी, डा.वंशिधर मिश्रलगायत कतिपय नेताहरू एमालेमा समाहित हुनुपर्ने धारणा राखिरहेका छन्।
तर नेकपा (एमाले) ले पनि उनीहरूसँग संवादको ढोका खोलिसकेको छैन।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका असन्तुष्ट नेता कार्यकर्ताहरूलाई समूहगत रूपमा पार्टीमा नभित्र्याउने बताइसकेका छन्।
उनीहरूलाई व्यक्तिगत रूपमा स्वागत गर्ने बताइसकेका छन्। सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालको समूहमा पनि नबस्ने र एकता प्रक्रियामा पनि नजाने कतिपय एकीकृत समाजवादीका नेता अहिले एमालेसँग संवादमै छन्।
घनश्याम भूसालले आफ्नो समूहभित्र देखा परेको अन्तरविरोध समाधान गर्ने बताए। ‘पहिले त हामीले आफूभित्रकै अन्तरविरोधलाई सेटल गर्नुपर्नेछ,’ उनले भने।
त्यसपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल, माओवादी केन्द्रबाट एकीकरण प्रक्रियामा छुट्ने नेताहरूसँग थप छलफल गर्ने महासचिव भूसालले बताए।
‘हामीभित्र देखिएको अन्तरविरोध समाधान गरेपछाडि हामी विप्लवलगायत विभिन्न समूहमा छरिएका वाम शक्तिहरू, राजनीतिकप्रति चासो राख्ने, विगतमा वाम आन्दोलनको पृष्ठभूमि बोकेका, अहिले पनि व्यक्तिगत रूपमा सामाजिक न्यायका पक्षका, विभेदविरूद्ध आवाज उठाइरहेका, त्यसप्रति लगाव, निष्ठा, समर्पण देखाइरहेकाहरूसँग पनि संवाद गर्छौं,’ उनले भने।
तर एमालेमा जाने मन बनाइसकेर मोलमोलाइ गर्न थालेकाहरूसँग भने संवाद नहुने भूसालले बताए। पछिल्लो समय नेतृत्व तहले गरेको राजनीतिक मोलमोलाइ मुलुककै लागि दुर्भाग्य बनिरहेको र त्यसैको सिको तलतलका कार्यकर्ताले समेत गरिरहेको सन्दर्भमा त्यसलाई निरूत्साहित गर्नुपर्ने दायित्व पनि आफूहरूको रहेको उनले बताए। 
‘म धेरै कुरामा के प्रष्ट छु भने राजनीतिक रूपमा मोलमोलाइ हाम्रो राजनीतिको भयंकर ठूलो अभिशाप बनेको छ। नेताहरूले मोलमोलाइ गरे, जसले गर्दा कार्यकर्ता पंक्तिमा पनि मोलमोलाइ गर्ने परिपाटी बसेको छ। एकातिर देखाउने, अर्कोतिर फाइदा खोज्ने, बार्गेनिङ गर्ने प्रवृत्ति देखापरेको छ। यस खालका प्रवृत्तिहरू, गलत चिन्तनहरू हामीभित्र पनि छन्,’ उनले भने।
तर ठूलो पंक्ति पुनःगठनको पक्षमा रहेको उनको दाबी छ। आन्दोलनप्रति इमान्दार व्यक्तिहरू मोलमोलाइमा नलाग्ने, राजनीतिक चरित्र देखाउने र विचलितसमेत नहुने हुँदा पुनःगठनको पक्षमा जबरजस्त माहौल बन्ने पनि उनले बताए।
‘मोलमोलाइ आन्दोलनको एउटा चरित्र बनेको छ। त्यस्तो प्रवृत्तिमा लाग्नेहरूको जिन्दगी नै मोलमोलाइ गर्दागर्दै बितेको छ। तिनीहरूलाई केही भन्नु छैन,’ उनले भने, ‘जो आन्दोलनको पुनःगठनको पक्षमा छन्, जसमा राजनीतिक चरित्र छ, उनीहरू विचलित छैनन्।’
प्रचण्डसँग भेटेरै बिदा
महासचिव घनश्याम भूसालले माओवादी केन्द्र, एकीकृत समाजवादीसहित आठ दलबीच हुन लागेको एकतामा आफू नजाने नेतृत्वलाई स्पष्ट पारेको बताए। पार्टी नेतृत्वलाई उनले केन्द्रीय कमिटीमै स्पष्ट पारिसकेका थिए। अहिले एकीकरण भन्दा पनि आन्दोलनकै पुनःगठन आवश्यक रहेको आफूले केन्द्रीय कमिटी बैठकमा राखेको उनले बताए।
माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भेटेर एकता प्रक्रियामा आफू संलग्न नहुने भन्दै बिदाबारी भइसकेको भूसालले बताए। प्रचण्ड र भूसालबीच आइतबार र सोमबार दुई दिन नै भेटवार्ता भएको थियो।
ती भेटमा आफूले अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न भनेको भूसालले बताए। 
‘आफ्नो तर्फबाट म हिजो भन्न गएको थिएँ। हिजोको भेटमा पनि प्रचण्डजीलाई मैले भनें– तपाईंहरू दुवै जना (माधवकुमार नेपालसहित) ले नेतृत्व छोड्नुहोस्। प्रचण्डलाई  व्यक्तिगतरूपमा पनि भनें– तपाईंको भूमिका बदल्नुस्। नेतृत्वको भूमिकामा अब लाग्नुहुँदैन। तपाईंको नेतृत्वरूपी मेसिनमा घिसावट आइसकेको छ। त्यो पुर्जालाई तपाईंले अर्को भूमिकामा राख्नुपर्छ भनेँ,’ भूसालले बताए।
जबाफमा संयोजक प्रचण्डले सिद्धान्ततः सहमत छु भनेको भूसालले बताए। तर संयोजक प्रचण्डले विगतका छलफलमा पनि त्यस्तै बताउने गरेकाले यसमा धेरै आशावादी हुने ठाउँ नरहेको भूसालको भनाइ छ।
‘सधैं यसै भनिरहने (सिद्धान्ततः सहमत छु आदि) कुरा भयो। अब फाइनल गरौं भनेर गएको थिएँ। हिजो पनि चुनावपछि, महाधिवेशनपछि भन्ने अमूर्त खालको कुरा भयो,’ उनले भने, ‘म बिदा भएर आएँ।’
प्रचण्ड र माधवकुमार नेपाल अहिलेको परिस्थितिमा पनि नेतृत्व छाड्न तयार नभएकाले कहिले पनि तयार नहुने रूपमा आफूले बुझेको बताए।
‘उहाँहरू अहिले छाड्नुहुन्न भने। यो बेला पनि छाड्नुहुन्न भने, कुनै बेला पनि छाड्नुहुन्न। जति बेला छाड्नुहुन्छ, त्यतिबेला छाड्नु र नछाड्नुको कुनै औचित्य रहँदैन। त्यसको सन्देश पनि हुँदैन,’ उनले भने।
‘पुनःगठनको नेृतत्व अब मैले गर्छु’
एकीकृत समाजवादीबाट सम्मानित नेता खनाल, महासचिव भूसालसहित कम्तीमा तीन पदाधिकारी, आधा दर्जन स्थायी समिति, त्योभन्दा बढी पोलिटब्युरो र ५० जनाभन्दा बढी केन्द्रीय सदस्यहरूले एकता प्रक्रियामा समाहित नहुने निर्णय गरिसकेका छन्।
घनश्याम भूसालले वाम आन्दोलनको पुनःगठन अब आफ्नै नेतृत्वमा हुने बताए। त्यसो त शनिबार नै बसेको झलनाथ–घनश्याम भूसाल पक्षधरको भेलाले पुनःगठनको जिम्मा भूसाललाई नै दिएको छ।
महासचिव भूसाल अहिले एमाले हिँडिरहेको राजनीतिक कार्यदिशाको बाटो मात्र नभइ समग्र वाम–प्रगतिशीलहरूको भाष्य बनेको समाजवाजी आन्दोलनको रूपरेखा आफूले नै तयार पारेको दाबी गर्छन्। एमालेको नवौं महाधिवेशनका भूसालले नै यो विचारको अगुवाइ गरेका थिए। त्यतिबेला उनले अघि सारेको राजनीतिक बाटो नै पारित भएको थियो।
‘वाम आन्दोलनभित्र भाष्यका रूपमा स्थापित समाजवादी आन्दोलनको विचार मैले नै अघि सारेको हुँ। गएको केन्द्रीय कमिटी बैठकमा पनि भनें– अहिलेको समाज कस्तो छ? नेपालको समाजको चरित्र कस्तो छ? अब जाने कतापट्टि हो? नेपाली समाजवादी आन्दोलनको कार्यदिशा के हुने भनेर उठाए। जुन कार्यदिशा तयार पारेँ। त्यो भाष्य, एमाले, माओवादी, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ र अरू घटकका बीचमा पनि छ। त्यो त मैले बनाएको हुँ। मैले नै अघि सारेको हुँ,’ उनले भने।
तर माधवकुमार नेपालसहितका नेतृत्व पंक्तिमा रहेकाहरू आफूलाई वरिष्ठ दाबी गर्दै नेतृत्व हस्तान्तरण गर्न अटेर गरिरहेको बताए। उहाँहरूले वरिष्ठ भनिरहनुको सान्दर्भिकता अब नरहेको भूसालको कथन छ।
‘आजको वाम आन्दोलन मेरो विचारले निर्देशित गरेको छ भने तपाईंहरू भन्दा म कसरी जुनियर भएँ? भनेर मैले बारम्बार प्रश्न गरेको छु,’ उनले भने।
उनले १५ वर्ष अघिदेखि नेपाली समाजमा प्रधान रूपमा रहेका मुद्दाहरू; गरिबी, बेरोजगार, भ्रष्टाचार, कुशासन आदि समस्याका रूपमा चित्रण गर्दै आएको र यी समस्याहरू समाधान नगरे मुलुक अकल्पनीय दुर्घटनामा पर्छ भनिरहेको तर नेतृत्व पंक्तिले सुन्दै नसुन्दाको परिणति आदि मुलक र सिंगो कम्युनिस्ट आन्दोलनले भोग्नु परेको पनि बताए।
‘आज कुशासन, बेरोजगारी, त्यही गरिबीका कुरा नै सबैतिर मुख्य बनेर आएको छ। नेपोबेबी र त्यससँगै अरू जे कुरा उठेको छ, त्यसलाई म १५ वर्षदेखि भन्दैछु,’ उनले भने, ‘राजनीतिकले यस्तो कुरा समाधान गर्न सक्दैन भने हाम्रो लोकतन्त्र जहिले संकट र खतरामै छ भनेर भन्दै आएको छु।’
त्यसैले यी मुद्दाहरू समाधान गर्ने खालको जबाफदेयी, पारदर्शी, रोजगारमुखी, सुशासनलाई ग्यारेन्टी गर्ने गरी वाम आन्दोलनको पुनःगठन अपरिहार्य रहेको उनले बताए।
‘एकीकरण र पुनःगठन प्रशवकालमा छ’
महासचिव भूसालले अहिले वाम आन्दोलन एकीकरण र पुनःगठनको प्रशवकालमा रहेको चित्रण गरे। २०१९ सालपछाडि वाम आन्दोलनमा टुट, फुट र विभाजन देखिन थालेको बताउँदै २० को दशक त्यसैगरी बितेको बताए। 
२० को आखिरीबाट एकता र पुनःजागरणको अध्याय सुरू भएको बताउँदै अब नेपाली आन्दोलन क्षयीकरणको अन्तिम–अन्तिमतिर पुगेको उल्लेख गरे।
‘वाम राजनीतिभित्र हेर्दा १९ साल पछाडि कम्युनिस्ट आन्दोलन असाध्यै विभाजित भयो। त्यो दशक भयंकर विभाजनको दशक थियो। २०२८ सालपछि विस्तारै पुनःगठन, एकीकरणको प्रक्रिया सुरू भयो। सम्भवतः विभाजनको प्रक्रिया अन्तिमअन्तिमतिर पुगेको छ। अहिले एकता, एकीकरण र पुनःगठन प्रशवकालमा छ,’ उनले भने, ‘यसकारण हामी ठूलो संक्रमणको कालमा छौं। अहिले नवीन वाम बनाउनका लागि असाध्यै चुनौतीपूर्ण र उपयुक्त बेला पनि हो।’