नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले आजको केन्द्रीय समिति बैठकमा १५ बुँदे धारणा राखेका छन्।
उनले नियमित महाधिवेशन गरेर जानुपर्ने कुरालाई जोड पनि दिए।
‘अहिलेसम्म हामीबीच महाधिवेशन कहिले गर्ने भन्ने प्रश्नमा मतैक्य हुन नसकिरहेको हो भन्ने मलाई लाग्दछ। मेरो व्यक्तिगत धारणाअनुसार नियमित महाधिवेशनका सम्बन्धमा महामन्त्री गगन थापाको प्रस्तावले सबैलाई एउटै विन्दुमा ल्याउँछ जस्तो लाग्दछ,’ उनले भने।
नियमित महाधिवेशन नभए विशेष महाधिवेशनको पनि चर्चा रहेको उनको भनाइ थियो।
यस्तो छ पोखरेलको भनाइ:
१) सात दशक बढीको इतिहासमा नेपाली कांग्रेसले अनेकन् आरोह अवरोह खेपेको छ। नेपाली जनताको स्वतन्त्रता र सम्मानको लडाइँमा कैयन पटक चौबाटोमा उभिएर नयाँ दिशा र गन्तव्यको मार्ग पहल्याउन कांग्रेस सफल भएको छ। इतिहासको कुनै कालखण्डमा अलमलिदा, अनिश्चय र अनिर्णयको बन्दी हुँदा ठूलो मूल्य चुकाउनु पनि परेको छ कांग्रेसले तर पनि कांग्रेसका संस्थापक नेताहरूले अत्यन्त विषम र कठिन परिस्थितिमा पनि पार्टीको मूल चरित्र जोगाएर आम नागरिकको विश्वास र भरोसा कहिल्यै मर्न दिनुभएन, जुनकुरामा हामी गौरव गर्दछौं। कैयन मेरा अग्रजहरू नेताहरू यो कार्य समितिमा त्यस इतिहासको साक्षी हुनुहुन्छ। आज फेरि एकपटक कांग्रेस कठिन चौबाटोमा छ। कुन बाटो कांग्रेस हिँड्ला भनी हाम्रो निर्णय देशभरिका कांग्रेस प्रतिनिधिहरूले विश्वास र भरोसा गरेर हामी तिर हेरिरहेका छन्। करिब तर २० दिनको केन्द्रीय समिति बैठक चलिरहँदा पनि हामी न त पार्टीको आन्तरिक अजेण्डामा एकमत भयौ न त राष्ट्रिय राजनीतिको समीक्षासहित हाम्रो भनाइ सार्वजनिक गर्न सफल भयौं। देशको राजनीतिक संकटमा सधैं सबैलाई मिलाएर लैजाने नेपाली काग्रेस आज दिशाविहीन र आन्तरिक तिक्तताले भरिएको निराश जमातमा परिणत हुने हो कि भन्ने डर हामीलाई भन्दा नेपालका सबै लोकतन्त्रवादीलाई परेको छ। महाधिवेशन जस्तो आन्तरिक विषयमा किचलो गरेर फागुन २१ पछि देशको बागडोर अरूलाई सुम्पनु पनि देश, लोकतन्त्र र कांग्रेसका लागि अशुभ हुनेछ।
२) केही उत्साहीत साथीहरू र अग्रज नेताहरूले नियमित महाधिवेशन नभए विशेष महाधिवेशन भनी अभियान चलाउनु भएको छ। पार्टी कार्यालयमा महाधिवेशन प्रतिनिधिहरूको करिब ५४ प्रतिशत सदस्यको हस्ताक्षर सहितको डकुमेण्ट वैधानिकरूपमा दर्ता भएको अवस्था छ। समयमा नियमित महाधिवेशनको आवश्यकतावोध केन्द्रीय कार्य समितिलाई पनि भएको यहाँ प्रस्तुत धेरै नेताहरुको विचारहरूबाट बुझ्न सकिन्छ। अहिलेसम्म हामीबीच महाधिवेशन कहिले गर्ने भन्ने प्रश्नमा मतैक्य हुन नसकिरहेको हो भन्ने मलाई लाग्दछ। मेरो व्यक्तिगत धारणाअनुसार नियमित महाधिवेशनका सम्बन्धमा महामन्त्री गगनकुमार थापाको प्रस्तावले सबैलाई एउटै विन्दुमा ल्याउँछ जस्तो लाग्दछ।
३) जेनजी आन्दोलनले देशको राजनीतिमा नयाँ परिस्थिति निर्माण गर्यो। अन्यथा धेरै नेताहरू र खासगरी पदाधिकारी महाधिवेशन सार्नुपर्छ भन्ने मनेविज्ञानमा विश्वस्त नै हुनुहुन्थ्यो। त्यस्ता कुरालाई यहाँ धेरै कोट्याएर पार्टी भित्र थप तिक्तता बढाउन चाहन्न तर यसो भनिरहँदा कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला प्रति अन्याय गरेको ठहर्छ। उहाँले ०८२ मंसिरमा महाधिवेशन गरौ मात्र भनिरहनु भएको थिएन, अभियानकै रूपमा यो एजेन्डा जिल्ला जिल्लाका साथीहरु माझ पुगाइरहनु भएको थियो। म कैयन ठाउँमा त्यसको साक्षी भएको छु। म सम्झन्छु पार्टी सभापति देउवा र डा. शेखरको नोकझोक कार्य समितिमा यसै विषयलाई लिएर भएको। तिनताका २०८२ मंसिरमै महाधिवेशन गरौं भन्ने डा. शेखर कोइराला एक्लो वृहस्पति झैं म देख्दथे।
तर किन आज चाहियो कांग्रेसमा महाधिवेशन प्रश्न यहाँ छ। के नेतृत्व परिवर्तनको लागि हो? त्यो पनि हो। के नयाँ राष्ट्रिय एजेन्डाहरू अगाडि आएका छन् र त्यसमा महाधिवेशनको आवश्यकता भएको हो? त्यो पनि हो। देशमा जेनजी आन्दोलनले नयाँ राजनीतिक नक्सा कोर्न सफल भएको छ र त्यसलाई सम्बोधन गर्न नियमित अधिवेशन चाहिएको हो? त्यो पनि हो। निसन्देह जेनजी आन्दोलन नभएको भए न अहिले आम चुनाव हुने समय थियो न कांग्रेसको १५ औं महाधिवेशन गर्ने तयारी पूरा थियो। नयाँ राजनीतिक परिस्थिति र परिवेशमा कांग्रेसले नयाँ ढंगले आफूलाई प्रस्तुत गर्नुपर्छ भनी १५औं महाधिवेशनलाई स्मार्टरुपमा सम्पन्न गरौं र यो सकिन्छ भन्ने पक्षमा मेरो समर्थन छ र माग पनि छ।
४) के कांग्रेसको अधिवेशनले आम निर्वाचनलाई प्राथमिकता नदिएको देखिन्छ? त्यो विल्कुल होइन। कांग्रेसको १५ औं महाधिवेशन नै आम निर्वाचनको पार्ट भएर अगाडि आउँछ। यसमा लाखौ सचेत लोकतन्त्रवादीहरू सहभागी हुन्छन् र आम निर्वाचनको माहौल निर्माणमा सघाउँछन्। कांग्रेसको महाधिवेशन र आम निर्वाचन परस्पर विरोधी नभएर हामीले चाहेमा समानान्तर अभियान नभएर एकअर्काका पूरक अभियान भएर अगाडी आउन सक्छन जुन कुरा महामन्त्रीज्यूको प्रस्तावमा पनि झल्कन्छ। त्यो गहन जिम्मेवारी हामी सबैको हो। १५औ महाधिवेशन नगरी जेनजी युवा जो राजनीतिमा प्रवेश गरेका छन् तिनलाई नियमित महाधिवेशन मार्फत निश्चित प्रतिशत जेनजी युवा पुस्ताको लागि सहभागिता फेरि पनि सुनिश्चित गरेर मात्र जेनजी पुस्ता कांग्रेसमा समाहित हुन्छन्।
५) एकपटक सोचौं सांसदहरूले प्रतिनिधिसभा जोगाउन नसकेर विघटनको अवस्थामा गयो र आम निर्वाचन यही फागुन २१ गते फेस गर्दैछौ हामी। २०७९को प्रतिनिधि सभाका लागि दिएको नागरिकको सचेत मत असान्दर्भिक भयो, त्यो म्यान्डेट काम लागेन। कांग्रेसको १४ औं महाधिवेशनको म्यान्डेट समाप्त भएको अवस्था छ, परिस्थिति पनि फेरिएका छन्। नयाँ म्यान्डेट लिनुपर्ने अवसर जेनजी आन्दोलनले अगाडि ल्याएको हो, समयमै गर्न हामीलाई अवसर प्रदान गरेको हो।
आदरणीय नेताहरूज्यूहरूलाई कांग्रेसको महाधिवेशनको तयारी गर्नुपर्दा र त्यसपछि उत्पन्न परिस्थितिमा आम निर्वाचन प्रभावित हुन्छ भनी शंका गर्नु अस्वभाविक होइन, त्यो शंका निरबारण गर्नको लागि पार्टी भित्र अतिरिक्त उर्जा र नैतिक उर्जाले चार्ज गर्न सक्नुपर्छ। त्यो अतिरिक्त उर्जा महाधिवेशनवाट नै उत्पन्न हुन्छ भन्ने मेरो विश्वास हो। पार्टीमा नैतिक उर्जा भर्न विपी कोइरालाले भनेझै “राजनीति र नैतिकताको एउटा उपयुपक्त समन्वय खोज्ने अवसर” आज नेपाली राजनीतिमा आइसकेको होइन र? पार्टी संगठनमा तल देखि माथि सम्म १५ औं अधिवेशनबाट यो पहल गर्न सकिन्छ भन्ने म ठान्दछु।
६) म कांग्रेसको केन्द्रीय समितिमा त्यो जिल्लाबाट प्रतिनिधित्व गर्छु जसलाई लामो समय देखि “कम्युनिष्ठ किल्ला” भनिन्थ्यो र अझै भनिन्छ। हाम्रा यहाँ हुने विवाद, बहस, छलफल र निर्णय ति विषम परिस्थितिमा विपरित विचारसँग लडेर पनि कांग्रेसको दियो बालेर बसेका तमाम कांग्रेसजनको भावना अनुरुप हुने हो की होइन यहाँ मेरो चिन्ता छ। मलाई लाग्दछ हामी सबैको साझा चिन्ता पनि यही दिशामा केन्द्रित हुनुपर्छ। अर्थात हामी भन्दा पर दुरदराजमा पनि कांग्रेसका जुझारू कार्यकर्ता छन्, हामीलाई कैयन गल्ती माफ गरिदिने हाम्रा मतदाता, समर्थक र शुभचिन्तक पनि हामीतर्फ आश लगाएर हेरिरहेका छन्। हामी अनिर्णयको बन्दी भएर तिनलाई निराश नपारौं।
७) विगतमा अन्य दलका हिंसात्मक गतिविधिले कांग्रेसजनले कैयन जिल्लामा खेदिनुपर्यो, कुटिनुपर्यो। फेरि केही पछि कांग्रेस भएकै कारण हिंस्रकदल वा समूहबाट धेरै कांग्रेसजन मारिनु पर्यो, आफ्नो गाउँघर छाडेर पलायन हुन वाध्य पारियो। “कांग्रेसको मूल आधार क्षेत्र भनिने तराई मधेसमा” हामीलाई अन्यदलले विस्थापित गर्नसक्यो र आफूलाई स्थापित गर्न खोजेका छन्। नयाँ नयाँ पार्टीहरू स्थापना भएको चार-छ महिनामै कांग्रेसलाई कैयन ठाउँ हराउन सफल भए गएको निर्वाचनमा। पार्टी सत्ता र राज्यसत्तामा हाम्रो पकड मजबुत भैरहँदा र क्रियाशिल कांग्रेस संख्यामा विस्तारित भएको गर्व गरिरहँदा हामी लोकप्रिय मतमा क्रमशः पछाडी परिरहेको तितो यथार्थ हामी सामुछ।
८) अहिले जेनजी आन्दोलनको क्रममा घुसपैठ गरी अपराधिक समूहबाट कैयन आदरणीय कांग्रेसका नेताहरूका घर, उद्योग व्यवसायी र सार्वजनिक संरचना जलाइए, तोडफोड गरियो। जिल्लाका पार्टी भवनलगायत हामी बसिरहेको केन्द्रीय कार्यसमिति भवन पनि जलेको अवस्थामा छ। यी सबै भौतिक संरचनाको क्षतिले हामीलाई थप राजनीतिक क्षति भविष्यमा नहोस भनेर सिकाईरहेको छ कि छैन? हामी कहाँ चुकिरहेका छौं? कांग्रेसमाथि पनि किन यस्तो भइरहेको छ? म भन्दा धेरै त्यागी, संघर्षगरेको र नेतृत्व दिन सक्षम अग्रज र अनुभवीहरु मेरा अगाडि हुनुहुन्छ। हाम्रो राष्ट्रिय राजनीतिमा र अन्तराष्ट्रिय जगतमा गिर्दो हैसियत वारे हामीले सुधारका लागि विश्लेषण गर्ने थलो कहाँ हो? की फगत को नेता हुने भन्ने विषयमा यस कार्य समिति र पार्टीलाई बन्धक बनाउने हो?
९) कुनै पनि पार्टीलाई आम नागरिकसँग जोडन नेतृत्वको खोजी हुन्छ। कांग्रेसका अगुवा कार्यकर्ताहरुले खोजेका कारणले हामी धेरैले यहाँ बस्ने सुविधा पाएका छौं। हामी सबैलाई १४ औ महाधिवेशनका प्रतिनिधिहरूले यहाँ पठाएका हुनु। हामीले प्रतिनिधिहरूले दिएको जिम्मेवारी पूरा गर्न नसक्दा पार्टीमा विशेष महाधिवेशनको माग भएको छ, देशमा आज अनिर्वाचित सरकार जेनजीले आन्दोलनमार्फत स्थापित भएको छ। यो अवस्था किन आयो?
१०) दक्षिण एसियामा सरकार विरोधी प्रदर्शन हुँदा नेपालमा हुँदैन भनी हामी कसरी आश्वस्त भएर तत्कालिन केपी ओली सरकारमा सहभागी भइरह्यो र त्यो सरकारलाई सफल पार्छौं भन्दै रटान दिइरह्यौं, धेरैले वंगलादेश लगायतको चेतावनी दिदा दिँदै। ओली सरकारको दम्भ, अहंकार र असफलताको हामी साक्षी मात्र थिएनौं, सरकारमा सहभागी भएर त्यो सरकारको कुकर्मको हिस्सेदार पनि हामी भयौं।
त्यति मात्र होइन जतिखेर नेपालमा सरकार विरोधी जेनजी आन्दोलनले उभार पायो त्योभन्दा अगाडि झण्डै १०० करोड मानिस सडकमा बिभिन्न सरकारहरूको विरोधी प्रदर्शनमा विश्वभरि सहभागी भैसकेका थिए। हामी यी सवैबाट अनभिज्ञ थियौं भन्ने मलाई लाग्दैन। हामी देश भित्र भएको असमानता, नातावाद र कृपावादले उत्पन्न युवा आक्रोस र आक्रान्त बेरोजगारीको समस्या बुझन असमर्थ भएको स्विकार्न सक्नु पर्छ र काग्रेसका कार्यक्रता, शुभेच्छुक र आम नेपालीसँग माफि पनि माग्नु पर्दछ।
११) मलाई थाह छ कांग्रेसको भविष्य कांग्रेसको एकतामा छ, मलाई यो पनि थाह छ लोकतान्त्रिक नेपालको भविष्य र आम नेपाली जनताको समुन्नतिको यात्रा पनि कांग्रेसको काँधमा छ। कांग्रेसको मूर्धन्य नेता विपी कोइरालाले बढो प्रभावशाली ढंगले “कांग्रेस साधन हो राष्ट्र निर्माणको साध्य नेपाली जनता हुन्” भनी भन्नु भएको कुरा हामी कसरी विर्सन सक्छौं। तर संगै प्रश्न त उठेको छ: अहिलेको कांग्रेस नेपाली जनताको लागि हो? वा नेपाली जनता कांग्रेसको लागि हो? वा नेपाली काग्रेस हामी छोटेबडे नेताका लागि मात्रै हो? सोचौं। भविष्यमा यिने जनता हाम्रा लागि उपलब्ध नहुन पनि सक्छन भनी चिन्तन गर्ने बेला आएको छ, कोरा पदीय राजनीतिमा मात्र नरूलमलिऔं।
१२) तसर्थ मेरो जिज्ञासा छ मेरा आदरणीय याहा उपस्थित सबै केन्द्रीय नेताहरूसँग आज हामी कसको चिन्ता गर्न यहाँ बसेका हौं? हाम्रो कार्य समितिको बैठकले कसलाई सम्बोधन गर्न गइरहेको छ? देशको वर्तमान अवस्थाको चिन्ता गर्न हो की? नागरिकको चिन्ता गर्न र त्यसको उपचार खोज्न हो की? वा आ आफ्नो व्यक्तिगत र गुटगत महत्वाकांक्षा र स्वार्थ सिद्ध गर्न हो? निसन्देह पार्टीमा आमुल परिवर्तनको खाँचो छ। तलदेखि माथिसम्म। त्यो स्वभाविक प्रकृया अवरोध नगरौं। अस्वभाविक देशको परिस्थिति छ त्यसमाथि गम्भीर विचार विमर्श सुरू गरौं।
यो कार्यसमितिले देशका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्न पनि नचुकौं। म यहाँ सवै नेताहरूलाई कांग्रेसको विगतको आम निर्वाचनमा घोषणापत्र मार्फत गरेका प्रतिबद्धता, अठोट, प्रण, प्रतिज्ञा, आह्वान र अपिल हेर्न अनुरोध गर्दछु। के ती फगतका राजनीति नाराका कोरा कागज थिए? के ति कर्मकाण्डी मात्र हुन्? हामीले बहुदल प्राप्त गरेपछि आर्थिक र सामाजिक विकासका प्रगतिका तथ्यांक प्रस्तुत गरे तापनि आम नागरिकले विगतमा भएका भ्रष्टाचार, नातावाद, र कृपावाद विरुद्ध आवाज उठाउन छोडेनन् र दुई दिने विद्रोहबाट लोकतान्त्रिक प्रक्रियामा बनेको झण्डै दुई तिहाइको सरकारलाई तासको घर जस्तै ढालिदिएका छन्। यद्यपि शिक्षा क्षेत्रमा हामीले एक दशकमा ३ गुणा सरकारको बजेट बढाएका रहेछौं तर तथ्यांकले मात्र हुँदैन; राजनीति दर्शनशास्त्रि प्लुटोले भनेजस्तै, लोकतान्त्रिक सरकारको मुख्य कार्य भनेको नागरिकलाई राम्रो र नैतिक जीवन बिताउनका लागि आवश्यक अवस्था बनाइराख्नु हो। कुनै पनि राजनीतिक प्रणालीको अन्तिम परीक्षण नैतिक हुन्छ—यसले केवल ४-६ लेनको सडक मात्र बनाउँदैन, तर यसले कुन प्रकारको समाज उत्पादन गर्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। हामीले विकास गरेको समाजले हामीलाई नै विश्वास गर्नका लागि हाम्रो विकास र शासकीय शैलीमा सुधार गर्न आवश्यक छ। त्यसैले, हाम्रा कार्यशैली, नीति र आचरणहरूमा सुधार गर्दै विगतका गल्तिहरूबाट उब्जेको नकारात्मक शंका अहिले जरादेखि निर्मूल गर्नु पर्ने संवैधानिक र राजनीतिक अपरिहार्यता देखिएको छ। यो कठिन कार्यभार कांग्रेसको जिम्मेवारीमा परेको छ।
१३) दुई दशक सत्ता राजनीतिले मात्र प्राथमिकता पायो: विगत करिब नौ दशकमा हरेक दशकमा नेपालमा राजनीतिक, सामाजिक र प्राकृतिक उथलपुथल भएको छ। जनताले सधैं यी उथलपुथलपछि नेपालले दिगो राजनीतिक प्रणाली र समृद्धिको लागि आर्थिक विकासको मार्ग पहिल्याउने आशा राख्दछन्। तर जनताको आकांक्षाको स्तर र हाम्रा प्रयासले सुधार गर्न खोजेका राजनीतिक तथा आर्थिक प्रणालीको विकासको गति मेल नखाएपछि हरेक दशकमा नेपालले पुन: अस्थिरता र निराशाको रोग भोग्नु परेको यथार्थ हो। २०८२को जेन-जेडको बिद्रोह पनि यसैको निरन्तरता हो। नेपालका राजनीतिक संक्रमणकालको निरूपण गर्दा २०१५ र २०४६ सालका परिवर्तनमा बाहेक, मुलुक र दलहरूको ध्यान मुख्यतया राजनीतिक संस्थाहरू निर्माणमा केन्द्रित भएको देखिन्छ। दल र दलका प्रायः नेतृत्वहरूले समेत आफ्नो व्यक्तिगत भविष्य सजिलो बनाउन राजनीतिक संरचनाहरू निर्माण गरेका छन् भनेर आम नागरिकले शंका गर्दै आएका छन्। लेखक पॉल कोलियरले भनेझैं, "द्वन्द्वोत्तर परिस्थितिहरूमा आर्थिक संरचनाहरूको डिजाइनको बेवास्ता गर्दै राजनीतिक संरचनाहरूको डिजाइनलाई धेरै महत्व दिइएको छ," जुन संरचना प्रायः ओझेलमा पारिएको र कमजोर आर्थिक क्षेत्रले धान्न सक्दैन। आर्थिक विकास र स्थिरता बिना राजनीतिक स्थिरता कायम गर्न सकिँदैन। समावेशी आर्थिक विकास र राजनीतिक स्थिरता नभएमा द्वन्द्वकालमा विद्रोहीहरूले सीप, संगठन, र लगानी विकास गर्छन्, जुन हिंसा र अस्थिरता सिर्जनाका लागि फेरि उपयोगी हुन्छन्। यस्ता सीप र संगठनको लागि शान्ति महँगो पर्छ, र शान्तिको समयमा तिनीहरूले काम गर्न सक्दैनन्। त्यसैले, विद्रोहीहरू आर्थिक असमानता र राजनीतिक अस्थिरताका लागि पुनः संघर्षमा फर्कने अवसरको खोजीमा रहन्छन्। त्यसको ज्वलन्त उदाहरण भदौ २४ मा नेपालमा पनि देखियो। तर दुर्भाग्य हामी पनि केवल कोरा राजनीतिकै मात्र बहस र मन्थन गरिरहेका छौं।
१४) आगामी बाटो: अहिले मुलुकको राजनीति संक्रमणकालीन अवस्थामा छ। नेपाली काग्रेसको सानो गल्तीले लोकतन्त्र अध्यारो सुरुङतिर लम्कने ठूलो डर छ। आम नागरिक किमकर्त्यव्यविमूढ छन्, निजीक्षेत्र शोकाकुल छ। गरिब, किसान र मध्यम वर्ग महङ्गिको मारमा र बेरोजगारीको चक्रमा फसेको छ। अर्थतन्त्र सिथिल छ, भविष्यको प्रक्षेपण पनि उत्साहजनक छैन। हामी सम्पत्ति शुद्धीकरणको पाटोमा अझै खराब सूचीमा छौं। युवापुस्ताले जेन-जेडको आन्दोलनपछि पनि सुनिश्चितताको बाटो कता हो भन्ने दिशा पहिल्याउन सकेका छैनन्। प्राध्यापक पॉल कोलियरकै अनुसन्धानको कुरा मान्ने हो भने "गरिबीले आम नागरिकको, विशेषगरी युवाको जीवनलाई आफैंमा सस्तो बनाउँछ, र ब्यक्तिगत लाभहुने कुनै पनि विद्रोही आन्दोलनमा सामेल हुनाले राजनीति चेत कम भएका केही युवाहरूको, जो निराशाजनक गरिबीको माहोलमा पिल्सिएका छन्, केहि कमाउने एउटा सानो मौका दिन्छ।" यो कुरा हामीले २४ गतेको आन्दोलनमा भएको लुटपाटमा देख्यौं, यद्यपि यस सत्यलाई केहीले स्वीकार नगर्लान्।
त्यसैले लोकतन्त्रका मौलिक सिद्धान्त, मूल्य, र मान्यताको जगेर्ना गर्दै युवापुस्तादेखि जेन-जेडसम्मले अगाडि सारिएका मागहरूलाई लोकतान्त्रिक विधिमार्फत सम्बोधन गर्दै स्थिर राजनीतिक प्रणाली र समुन्नत नेपाली राजनीतिक मार्गचित्र १५ औं महाधिवेशनमा खडा गर्नु नेपाली कांग्रेसका लागि अपरिहार्य देखिएको छ र यो नेपाली कांग्रेसले पुन: पाएको ऐतिहासिक जिम्मेवारी पनि हो। त्यसैले महाधिवेशनले केवल कोरा राजनीति र पार्टीको पदलाई मात्र महत्व दिने हो भने, हामी फेरि समाजभन्दा धेरै टाढा रहेको राजनीति भूमरीमा आफू भित्रमात्रै रमाउने छौं। त्यसैले महाधिवेशनले विगतका हाम्रा यस्ता कमजोरीहरूलाई औल्याएर देशको क्षमताअनुसारको आर्थिक नीति र सामाजिक विकासको र पारदर्शी शसकीयशैलिको खाका महाधिवेशनले प्रस्तुत गर्नुपर्छ।
असल र जनताकेन्द्रित राजनीति नै सबैको मुल नीति हो। तर पटक-पटकका असफलताले पनि हामीले यो सिक्न सकेनौं। हामी नेपालीलाई पटक-पटक असफल हुने छुट छैन। हाम्रो जनसांख्यिक बनोट हेर्दा पनि अब हामीलाई जनसांख्यिक लाभ लिने दुई दशक भन्दा धेरै कम समय हुनेछ। यो जनसांख्यिक लाभ लिएर नेपालको समावेशी विकासको लक्ष्य प्राप्त गर्ने आधार भनेको राज्यमा उपलब्ध युवा र जेन-जेडको सचेत जनशक्ति, स्रोत र साधनहरूको प्रयोग र दिगो उपयोग सुनिश्चित गर्नु हो। यसका लागि कोरा राजनीति मात्र होइन, व्यावहारिक विकासका नीतिहरू आवश्यक छन्। यसबाट हामी जनताको आर्थिक स्थिति सुधार्न र उनीहरूको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन सफल हुनेछौं।
हामीले संविधान संशोधन गर्ने भनेर एमालेसँग काधमाकाध जोडेका थियौं। करिव १४ महिना सरकारमा झुण्डिदा हामीले त्यो एजेण्डा बिर्सियौं। केन्द्रीय समितिले एउटा कार्यदल बनाई काग्रेसले संविधानमा संशोधन गर्न चाहेका विषयमा दस्तावेज बनाएर आगामी निर्वाचनमा एजेण्डा बनाएर जनताबाट अनुमोदन गराएर ल्याउनु पर्छ।
अन्तमा, चौबाटोमा उभिएको कांग्रेसलाई सही बाटो हिडाउन फेरि पनि हामी सामर्थ हुनेछौं भनी हामीले प्रमाणित गर्नु परेको छ। बीपी कोइरालाको विचारलाई स्मरण गर्दै, नेपाललाई आधुनिक परिवेशको मुलुक र थप बलियो लोकतान्त्रिक राजनीतिक प्रणालीतर्फ उन्मुख गराउन १५ औं महाधिवेशनमा वर्तमान आवश्यकताहरूलाई सम्बोधन गर्ने ठोस कार्ययोजना बनाउनु अत्यावश्यक छ। अबको युगले एक न्यायपूर्ण र समृद्ध समाजको निर्माणलाई प्राथमिकता राखेर गरिने जोखिमयुक्त सुधार माग्दछ; तब मात्र दिगो समुन्नति हासिल गर्न सकिन्छ। यसका लागि सरकारको सशक्त भूमिका, राजनीतिक दल र जनताको बिशेषगरी गरिखाने बर्ग र नयाँ पिढिको सक्रिय सहभागिता अनिवार्य छ। सिर्जनात्मक उपाय र दृष्टिकोणहरू अपनाएर, नेपाली कांग्रेसले मुलुकमा स्थायी र आमूल आर्थिक परिवर्तन ल्याउन सक्षम हुनेछ भन्ने सन्देश हामी सबैले बिधान अनुसार नियमित महाधिवेशनबाट दिनुपर्ने छ। यसबाट नै बीपीले देखेको सपना र लिएको अठोट अनुसारको मुलुक बन्नेछ।