नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारकै कारण समयमा निर्वाचन नहुने बताएका छन्।
बिहीबार प्रेस चौतारी नेपाल दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख दलका शीर्ष नेताहरूको अनुहार हेर्नै नचाहेको अभिव्यक्ति दिइरहनुले चुनाव नहुने परिस्थिती निर्माण भएको बताएका हुन्।
'प्रधानमन्त्री नै केपी ओली, शेरबहादुर देउवा, प्रचण्डको मुख हेर्न चाहन्न भन्नुहुन्छ। व्यक्ति सुशिला कार्कीले मुख हेर्नुस वा नहेर्नुहोस हामीलाई कुनै मतलव भएन। मुख देखाउन हामीलाई कुनै रहर पनि होइन, तर देशको प्रधानमन्त्रीले त्यसो भन्न मिल्छ?’ उनले भने।
उनले दलहरूको लामो इतिहास रहेको र त्यस अवधीमा कमी कमजोरी रहे पनि त्यसको मूल्यांकन गर्ने अधिकार जनतालाई मात्रै रहेको उनले बताए।
तर अहिले देखिएको डर र त्रासको परिस्थितिमा निर्वाचन हुन नसक्ने उनले बताए।
‘यस्तो बेलामा प्रधानमन्त्रीले सबैलाई समेटेर जानुपर्ने हो। तर उहाँ नेताको मुखै हेर्दिन भन्नुहुन्छ। गृहमन्त्री कोही अमूक व्यक्तिलाई जसरी भए पनि मुद्दा लगाउँछु भन्नुहुन्छ। उहाँहरुको छेउछाउमा बसेका ती संदिग्ध पात्रहरु धम्कि दिन्छन्। चुनावमा को जाँदो रहेछ भन्छन्। घर-घरबाट थुत्छौं भन्छन्। चुनाव जिते पनि हामी खारेज गर्छौं भन्छन्,' ज्ञवालीले भने
त्यसरी भड्काउने अभिव्यक्ति दिँदा पनि सरकार केही बोल्न नसकेको ज्ञवालीले बताए।
भौतिक कारबाही गर्छु भन्नेहरू खुलेआम हिड्नेहरूलाई सरकारले संरक्षण गरेको ज्ञवालीको आरोप छ।
'के चुनाव गराउने सरकारले त्यस्तो भन्छ?,' उनले भने।
उपमहासचिव ज्ञवालीले कृष्णप्रसाद भट्टराई र खिलाराज रेग्मी अन्तरिम सरकार प्रमुख हुँदाको अवस्था पनि स्मरण गराए।
'कृष्णप्रसाद भट्टराईले यस्तै अभिव्यक्ति दिनुभएको थियो? खिलराज रेग्मीले यही भन्नुभएको थियो?,' उनले भने।
उनले ०६२/०६३ को आन्दोलनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदाको समय पनि स्मरण गरे।
'त्यतिबेला म पनि क्याबिनेटमा थिएँ। माओवादीहरु हतियारसहित रहेको बेलामा उनीहरुलाई शान्ति प्रक्रियामा ल्याएर संविधानसभाको चुनाव गराउनु थियो । त्यो सरकार त्यसै गरी बोल्थ्यो? त्यसैगरी अरु दलहरूलाई धम्की दिन्थ्यो?,’ उनले भने।
त्यसकारण यो सरकार चुनाव गराउने पक्षमा नरहेको देखिने ज्ञवालीले बताए।
'हाम्रो मनमा गम्भीर सन्देह छ कि सरकार चुनाव गराउने होइन अरु केही गर्न तिर लागिरहेको छ,’ उनले भने।