नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेको राजनीतिक समस्याको निकासको रोडम्याप प्रतिनिधिसभाको पुनःस्थापना, जेनजी सहितको सर्वपक्षीय सरकार र अर्ली इलेक्सन भएको बताएका छन्।
प्रेस चौतारी नेपाल दाङ शाखाले बिहीबार बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले यस्तो बताएका हुन्।
जेनजी आन्दोलनका नाममा भदौ २४ गते २३ गतेको घटनालाई बहाना बनाएर झन्डै ६ सय जति प्रहरी कार्यालयहरू ध्वस्त पारिएको, एक हजार दुई सय ४७ बढी आधुनिक हतियारमध्ये अहिले पनि ६ देखि सात सय आधुनिक हतियार अपराधीको हातमा रहेको उनले चर्चा गरेका थिए।
त्यस्तै, एक लाख जति गोली गठ्ठामध्ये ९० हजार जति अहिले पनि सरकारले फिर्ता ल्याउन नसकेको, भगाइएका एक हजार चार सय कैदीमध्ये साढे पाँच हजार बढी कैदीहरू बाहिरै रहेको र उनीहरूले अनेकौं उपद्रव तथा घटनाहरूका श्रृंखला घटाएको ज्ञवालीले बताए।
जसले गर्दा समाज भयग्रस्त मनोविज्ञानमा रहेको, प्रहरीमा सशस्त्र द्वन्द्वको दश वर्षमा पनि त्यो लेबलको त्रासदी नछाएको, हतियार बुझाएर हात उठाएर आत्मसर्मपण गर्दासम्म पनि कुटीकुटी मार्ने, नाङ्गै बनाएर खोला खोला दौडाउने खालको जुन स्थिति भयो त्यो त्रासदीबाट मनोवैज्ञानिक रूपमा प्रहरी बाहिर आउन सकेको अवस्था नरहेको एमाले उपमहासचिव ज्ञवालीले तर्क गरे।
यस्तो अवस्थामा प्रहरी कुन मनोबलका साथ निर्वाचनको सुरक्षामा खटिन्छन् र मतदाता ढुक्कसँग मतदान स्थलमा गई मत हाल्ने स्थिति बन्छ भन्ने कुराको यकिन नभई निर्वाचन हुन कठिन हुने उनको भनाइ थियो।
‘निर्वाचनको वातावरण तयार भइनसकेको हुँदा निर्वाचन हुने दिशातिर मुलुक नजाने प्रतिनिधि सभाको स्थिति रिक्त रहने,’ ज्ञवालीले भने ‘प्रतिनिधि सभा असंवैधानिक तरिकाले विघटन गरिएको छ, किनभने सर्वोच्च अदालतका विगतका नजिरले पनि त्यही भन्छ।’
ज्ञवालीले नेकपा कालमा तत्कालीन दुई तिहाइ बहुमत निकटको सरकारले संसद विघटन गर्दा सर्वोच्च अदालतले उल्टाइदिएको प्रसंग जोडेका थिए।
‘बहुमतको सरकारको प्रधानमन्त्रीले संसद विघटन गर्दा त्यहाँ वैकल्पिक सरकार बन्ने स्थिति नहुँदा त प्रतिनिधि सभा विघटन गर्न पाइँदैन भनेर सर्वोच्च अदालत स्वयमले भनेको छ,’ ज्ञवालीले प्रश्न गरे, ‘अहिले प्रतिनिधि सभाको सदस्य नरहनु भएको व्यक्ति प्रधानमन्त्री बन्नु भएको छ उहाँको सिफारिसमा प्रतिनिधि सभा विघटन कसरी संवैधानिक हुन सक्छ? त्यो कसरी गर्न पाउनु हुन्छ उहाँले?’
त्यसैले आफूहरूले प्रतिनिधि सभाको विघटनलाई असंवैधानिक भन्ने गरेको उनले स्पष्ट पार्न खोजे।
चुनाव पनि नहुने र लामो समय संसद पनि नरहने स्थिति भनेको मुलुकको लोकतन्त्रका लागि एकदमै जोखिम हुने उनको तर्क थियो।
‘हामीले ०५९ सालमा देख्यौं नि, पहिले प्रतिनिधि सभा विघटन भो। शेरबहादुरले विघटन गर्नु भो। चुनावको मिति घोषणा गर्नु भो। चुनाव गराउन सक्नु भएन,’ ज्ञवालीले भने, ‘ज्ञानेन्द्रले अक्षम प्रधानमन्त्री भनेर हटाए। त्यसपछि असोज अठार हुँदै हुँदै माघ १९ सम्म लगेको त्यो घटना हाम्रा अगाडि ताजै छ।’
त्यसकारण लोकतन्त्रलाई थप संकटमा पर्न नदिन तथा लोकतन्त्र अपहरित हुने स्थिति आउन नदिनका निम्ति चुनाव हुने नसक्ने यो अवस्था र असंवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरिएको हुनाले एमाले प्रतिनिधि सभालाई पुनः स्थापना गरिसकेपछि मात्रै लोकतन्त्रलाई लिकमा फर्काउन सम्भव हुने निष्कर्षमा पुगेको ज्ञवालीले बताए।
‘नेकपा एमालेको अहिलेको राजनीतिक समस्याको समाधानको रोडम्याप भनेको प्रतिनिधि सभाको पुनः स्थापना, सर्वपक्षीय सरकार त्यहाँ गएर फेरि दलहरूले सरकार को बन्ने भन्ने नम्बरको खेल होइन एउटा स्वीकार्य सरकार बनाउँ र युवा साथीहरू सडकमा उत्रनु भयो त्यसको अन्तर्य जे सुकै भए पनि केही नवयुवा साथीहरूका आफूहरूलाई जेनजी भनेर चिनाउनेहरूका केही कन्सर्डहरू छन्,’ उनले भने, ‘उहाँहरू अहिले दुई वटा कुराबाट चिन्तित हुनुहुन्छ हामीले यत्तो आन्दोलन गर्यौं यी उपलब्धिहरू कसरी संस्थागत हुन्छन्? दोस्रो कतै हामीलाई उल्टै मुद्दा लाग्ने स्थिति पो बन्छ कि! केही कुराहरू उहाँहरूलाई ढुक्क पार्नुपर्ने स्थिति छ।’
संविधान संशोधन आवश्यक छ भनेर एमाले–कांग्रेसले पहिलै सात बुँदे गर्दैखेरी भनेको कुरा अनुभूत गरेको कुरा भएको हुँदा यी सबै कुराहरू परामर्शबाट संविधान संशोधन र त्यसपछि अर्ली इलेक्सन पछिको निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण यो नेकपा एमालेको अहिलेको रोड म्यापको निष्कर्ष रहेको ज्ञवालीले बताए।
त्यो बाहेक अर्को कुनै पनि बाटोबाट गएर दलहरूको सहमतिको बीचमा उल्लेखित कुराहरू थाँती राखेर यथास्थितिमै चुनाव भइहाले पनि त्यसले समाधान नदिने उनको जिकिर थियो। विगतमा राजा ज्ञानेन्द्रले नगरपालिकाहरूको चुनाव गराएको प्रसंग झिक्दै उनले त्यतिखेर केही थान मेयरहरू निर्वाचित भए पनि त्यसले कुनै समाधान नदिएको उल्लेख गरे।