नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै विभिन्न समयमा आफूले गरेका गल्तीबारे सुनाएका छन्।
थापाले महामन्त्रीको भूमिकाको सन्दर्भमा प्रश्नहरू पनि आएको उल्लेख गर्दै केही प्रश्न व्यक्तिगत रूपमा आएको पनि बताए।
‘केही जिम्मेवारीका सन्दर्भमा केही प्रश्नहरू छन्। व्यक्तिगत जस्तो भएर आएको हुनाले गर्दा त्यही ठाउँमा बसेर केही प्रष्टीकरण पनि दिनुपर्ने छ। किनकि योभन्दा पछि फेरि यही जिम्मेवारीबाट प्रष्टीकरण दिन पाइएला कि नपाइएला, थाहा छैन। त्यसैले यसलाई दिनु पनि आवश्यक ठान्छु,’ उनले भने, ‘म १३औं महाधिवेशनमा पनि महामन्त्रीको उम्मेदवार थिएँ। १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार भएँ। १४औं महाधिवेशनमा दुई पटक सभापतिको उम्मेदवार हुँदा मैले दुवै पटक शेखर कोइरालालाई मत दिएको हो। दिएको मात्र होइन, जिताउन भरमग्दुर प्रयास गरेको। किनकि म सत्य सभापति सभापतिको त्यो जेनेरेसन, राजनीतिक दलको नेतृत्वबाट बिदा हुनुपर्छ भन्ने ठान्थेँ। र त्यसका पछाडि मेरा केही भावनात्मक कुराहरू मात्र होइन, केही मेरा सैद्धान्तिक, आफ्ना मान्यताहरू पनि थिए।’
उनले २०६८ सालदेखि नेताहरूले विश्राम लिनुपर्छ भन्न थालेको पनि बताए।
‘अन्तर्वार्तामा, लेखमा, बोलीमा सबै ठाउँमा र मेरा आफ्ना कारणहरू, विदेशमा के हुन्छ, अरू देशमा के हुन्छ भन्दै भन्दै २०७८ सम्म आएँ। ७८ मा आएर बिदा गराउने कोसिस गरियो। शेखर दाइलाई सभापति बनाउने कोसिस गरियो। सकिएन। महामन्त्री भइयो। अहिले पछि फर्केर हेर्दै गर्दा खेरि त्यहाँ नै आफूले ठूलो गल्ती गरेको भन्ने लाग्छ,’ उनले भने, ‘किनकि ६८ देखि ७८ सम्म हजारौं हजार तन्नेरीहरूका बीचमा विभिन्न माध्यमबाट गरेर नेतृत्व फेर्नुपर्छ भनियो। पार्टीभित्रको नेतृत्व फेर्नु त आफ्नो एउटा विधान हुन्छ, तरिका हुन्छ। त्यो फेर्न सकिएन।’
नेतृत्व फेर्न नसकेपछि यत्रो वर्ष हामीलाई फेर्नुपर्छ भन्ने तर त्यही मिसेर काम गरेको भन्दै आलोचना भएको उनले बताए।
‘मैले जति बदल्न सक्नुपर्थ्यो, मैले बदल्न सकिनँ। मैले मेरो त्यही कमजोरीहरूरहे। त्यसलाई मैले स्वीकार्नुपर्छ। स्थानीय निर्वाचनमा टिकट वितरण गर्ने बेलामा सभापतिजीले मलाई बोलाउनुभयो। साँझको समय थियो। र मैले उहाँलाई एउटा पालिकाको सन्दर्भमा भने, यो निर्णय आज यदि तपाईंले गर्नुभयो भने सभापतिज्यू दाइ, यसको यो निर्णयको कारणले गर्दा जुन पात्र आउँछ, तपाईंले त्यो पात्र पनि चिन्नुहुन्न। मैले चिनाइदिएँ उहाँलाई तर जुन पात्र आउँछ, त्यसले नेपालको राजनीतिमा धेरै समयसम्म हामीले ठूलो मूल्य चुकाउनुपर्छ। यो निर्णय नगर्नुस्, मैले सभापतिलाई भने,’ उनले भने, ‘सभापतिले 'यार यार मिल्दैन यार' भनिसक्यो, 'यार' भन्नुभयो। भोलिपल्ट नेताहरूको अलिकति ठूलो समूहमा पनि मैले भने। मैले कसैलाई पनि बुझाउन सकिनँ। मैले नाम लिए, नाम भने के हुन्छ, पछि के अवस्था आउँछ भन्ने कुरा बताएँ। तर सिनियर नेताहरूलाई मैले त्यो कुरा बुझाउन सकिनँ। मलाई अहिले के लाग्छ भने मैले गल्ती गरेकै हो।’
उनले यस्ता मोडहरूमा आफूले सभापति र बहुमतले भनेपछि त्यसलाई मानेको भन्दै मान्न हुँदैनथ्यो भनेका छन्।
‘मैले मान्नु हुँदैनथ्यो। म घुँडा टेकेर बस्नुपर्थ्यो, म लड्नुपर्थ्यो। मैले स्वीकार गर्नुपर्थ्यो। मैले निर्णय गर्न दिनुहुँदैनथ्यो। मेरो सम्पूर्ण ताकत, बल मैले लगाउनुपर्थ्यो। तर मैले 'रूल अफ गेम' मेरो आफ्नो कुरा राखे, भएन त भएन, मैले मान्नुपर्छ भनेर मानेँ,’ उनले भने।
निर्वाचनअगाडि गर्ने गठबन्धन, त्यो पनि माओवादीसँग गर्ने गठबन्धनले पार्टीको तलका समर्थकहरूको जुन लोयल्टी पार्टीसँग छ, त्यसलाई समाप्त गर्छ भनेर आफूले भनेको पनि उनले बताए।
‘मलाई के लाग्यो भने, मैले अहिले के लाग्छ भने मैले गल्ती गरेकै हो। त्यो कुरा राखिसकेपछि मैले के निर्णय गराउन सक्छु? सही निर्णय गराउन नसकेको भए म चुनाव नलड्नुपर्थ्यो। मैले त्यो निर्वाचन लड्न जाने, मैले गठबन्धन गर्नुहुँदैन पनि भन्ने, गठबन्धनको निर्णय भएपछि गठबन्धनको चुनाव लड्न जाने, त्यो गल्ती गरेकै हो। मैले त निर्वाचन नलड्ने आँट गर्नुपर्थ्यो। जसरी म यो पटक हामीले सोच्नुपर्ने छ, त्यसैगरी त्यो पटक सोच्नुपर्थ्यो। नलड्ने आँट गर्नुपर्छ। यसरी निर्वाचन जानु हुँदैन भनेपछि त्यसरी निर्वाचन लगियो भने त्यो निर्वाचन लड्नुहुँदैनथ्यो। कहाँ-कहाँ मनमा निर्वाचन लड्ने पर्यो भन्ने आयो, त्यो गल्ती गरेकै हो,’ उनले भने।
भिडिओ: