नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले अहिले पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नेहरू अपराधी भएको बताएका छन्।
पार्टी भ्रातृसंस्था युवा संघ लुम्बिनी प्रदेश कमिटीले बिहीबार दाङको तुलसीपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले अहिले सबभन्दा बढी प्रहार एमाले र अध्यक्ष ओलीमाथि भइरहेको उल्लेख गर्दै यहीबेला ओलीको विकल्प खोज्न नहुने बताएका हुन्।
‘यस्तो बेलामा अध्यक्षको विकल्प खोज्ने कुरा लोकतन्त्र होइन, आपराधिक कुरा हो,’ बस्नेतले भने, ‘मैले भन्ने गरेको छु कहिलेकाहीँ गरगहना अथवा नयाँ कपडा किन्नुभयो भने यसो टिकटकमा भन्नुहुन्छ देखाएकै हो भनेर। यसपालिको महाधिवेशनमा केपी ओलीलाई अध्यक्ष बनाउने र देखाउने नै हो।’
ओलीको विकल्प खोज्छु भन्नेहरूले कुतर्क गरिरहेको आरोप लगाउँदै उनले संयमित हुन पनि भनेका छन्।
नेता बस्नेतले एमालेको रानो माहुरी भनेकै ओली भएको चित्रण गर्दै भने, ‘केपी ओलीलाई कमजोर बनाएर, आक्रमण गरेर, दुःख दिएर एमाले समाप्त गर्ने विदेशी तथा स्वदेशी डिजाइनलाई कुनै पनि हालतमा सफल हुन दिइने छैन।’
‘रानो माहुरी एक्टिभ भएसम्म नयाँ माहुरी नयाँ रानो बन्न खोज्यो भने अरू सबै माहुरी मिलेर त्यो बन्न खोज्ने माहुरीलाई टोक्दिन्छ र बन्न दिँदैन,’ उनले भने, ‘रानो माहुरी कमजोर भयो भने नयाँ रानो माहुरी बनाउनका निमित्त सबै कामदार माहुरीहरू मिल्छन् र रोयल हनी खुवाउँछन्।’
उनले थपे ‘केपी ओलीलाई हामी कार्यकर्ताले रोयल हनी खुवाएर बलियो रानो बनाउने हो र बलियो एमाले बनाउने हो।’
बस्नेतले माधव नेपाल, भीम रावल लगायतका नेताहरूको कडा आलोचना पनि गरे।
नेपाली कम्युनिस्ट पार्टीमा उनीहरू समाहित बन्दा उनीहरू एमालेका पूर्व नेता हुन् भन्न पनि असजिलो हुने अवस्था आएको टिप्पणी गरे।