नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दुई दिनका लागि स्थगित भएको छ।
असोज २८ गतेदेखि सुरू भएको बैठक बीचमा केही दिन रोकिँदै पुन: बस्दै आएको थियो।
अहिलेसम्म बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाहेक सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूले धारणा पनि राखिसकेका छन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब केन्द्रीय समिति बैठक कात्तिक २९ गते दिउँसो २ बजे बस्नेछ।
आजको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे र किशोरसिंह राठौरले धारणा राखेका थिए।
केन्द्रीय समितिमा १० एजेन्डामाथि नेताहरूले बोलेका छन्। नियमित महाधिवेशन गर्ने कि विशेष, चुनावअघि महाधिवेशन गर्ने कि पछि भन्नेमा मतभेद जारी नै छ। नेताहरूले धारणा राख्ने क्रम सकिएकोले सहमति जुटाउन दुई दिन केन्द्रीय समिति बैठक स्थगित गरिएको हो।