नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी केन्द्रीय समिति बैठकमै विशेष महाधिवेशन हुने घोषणा गरेका छन्।
नियमित महाधिवेशन गरौंभन्दा नमानेकोले अब विशेष महाधिवेशन हुने र त्यसले केही समयभित्रै नियमित महाधिवेशन गराउने महामन्त्री थापाको भनाइ छ।
महामन्त्री थापाका अनुसार यो केन्द्रीय समितिले विशेष महाअधिवेशनको निर्णय गर्नुपर्छ र मंसिर मसान्तमा विशेष महाधिवेशन हुन्छ। त्यसले नयाँ सभापति छान्ने उनलेे बताए।
‘पार्टीको यो पङ्ति (केन्द्रीय समिति) परिचालिन भएर मात्रै हुन्छ भन्ने मलाई लाग्दै लाग्दैन। चुनावमा त्यसरी गएर अर्थ पनि हुँदैन, अधिवेशन गरेको कांग्रेसले देश सम्हाल्छ। अधिवेशन हाम्रो आन्तरिक होइन राष्ट्रिय कुरा हो,’ महामन्त्री थापाले भने, ‘कतिपय साथीहरूले सभापति (शेरबहादुर देउवा) आउनुस्, यसलाई जोगाउनुस् भन्दै हुनुहुन्छ, जसले अहिले सभापतिलाई तान्दै हुनुहुन्छ, त्यो सभापतिको सबैभन्दा अहित चाहने मान्छे हो।’
सभापतिले समयभित्रै अधिवेशन गर भनेर गएको पनि उनले बताए।
‘सभापतिले छोडिसक्नुभयो, अब हामीले सम्हाल्ने हो,’ उनले भने, ‘सभापतिले छाडेको ठाउँमा विशेष महाधिवेशनबाट सभापति ल्याएर सम्हाल्ने हो। नियमित महाधिवेशन गरौं भनेको कोही मान्नुभएन, त्यसो भए विशेष महाधिवेशन गरेर त्यसबाट सभापति ल्याउनुपर्यो। त्यसले संक्रमणकाल चलाउँछ अनि नियमित महाधिवेशन गराउँछ।’
यो काम गर्न सबैभन्दा सजिलो सभापतिले बनाइसकेको उल्लेख गर्दै महामन्त्री थापाले भने, 'सभापतिले सजिलो बनाइदिएको ठाउँमा मेरो आदरणीय दाइहरूले असजिलो नबनाइदिनुहोला।’
कांग्रेसका १४ औं महाधिवेशनमा रहेका ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये २४८८ जनाले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए।