बिहार बिधानसभा चुनावको मतगणना आजदेखि सुरू हुँदैछ।
शुक्रबार बिहान ८ बजेदेखि मतगणना सुरू गर्ने तयारी रहेको भारतीय अनलाइन हिन्दुस्तान टाइम्सले जनाएको छ।
विधानसभाका २४३ सिटका लागि यसपालि २ चरणमा मतदान भएको थियो।
६ नोभेम्बरमा पहिलो चरण र ११ नोभेम्बरमा दोस्रो चरणको मतदान भएको थियो।
सुरूवातमा हुलाकबाट मतदान भएका मतपत्र गनिनेछ। त्यसपछि विद्युतीय भोटिङ मेसिनबाट भएको मतदानको गिन्ती सुरू हुने हिन्दुस्तान टाइम्सले जनाएको छ।
मतगणना शनिबारसम्ममा सकिने आकलन छ।
१९५१ यता बिहार बिधानसभामा इतिहासकै धेरै मतदान भएको भनेर बिबिसी हिन्दीले लेखेको छ।
यसपालि ६७.१३ प्रतिशत मतदान भएको छ। यो पछिल्लो निर्वाचनमा भन्दा ९.६ प्रतिशत बढी हो।
यस पटकको चुनावमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको एनडिए गठबन्धन तथा राष्ट्रिय जनता दल (आरजेडी) र कांग्रेसको महागठबन्धनबीच मुख्य प्रतिस्पर्धा छ। त्यस्तै, जन सुराज पार्टी पनि पहिलो पटक चुनावी मैदानमा ओर्लिएको छ।
सरकार बनाउन कुनै दल वा गठबन्धनले १२२ सिट जित्नुपर्नेछ।
दुई चरणको मतदान सकिएपछि विभिन्न मत सर्वेक्षण (एक्जिट पोल) का नतिजा सार्वजनिक भएका छन्। प्रायः सबैमा एनडिए गठबन्धनले स्पष्ट बहुमत ल्याउने अनुमान गरिएको छ। यो अनुमान सही भए ७४ वर्षीय नितिश कुमार फेरि बिहारका मुख्यमन्त्री बन्ने छन्।
राष्ट्रिय जनता दल (आरजेडी) र कांग्रेसको महागठबन्धन मत सर्वेक्षणमा पछाडि देखिएको छ। महागठबन्धनले ३५ वर्षका तेजस्वी यादवलाई मुख्यमन्त्रीका रूपमा अगाडि सारेको छ।
पहिलो पटक चुनावमा होमिएका रणनीतिकार प्रशान्त किशोरको जन सुराज पार्टीले बढीमा दुई–तीन सिट मात्र जित्ने अनुमान गरिएको छ।
धेरै पटक एक्जिट पोल र अन्तिम नतिजा फरक देखिएकाले मुख्यमन्त्रीको कुर्सीमा नितिश कुमार पुग्छन् कि तेजस्वी यादव भन्ने शुक्रबार नै थाहा हुनेछ।
अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीका अनुसार एक्जिट पोलले एनडिएमा उत्साह ल्याएको छ भने महागठबन्धनले यसलाई अस्वीकार गरेको छ।
बिहार सरकारका मन्त्री अशोक चौधरीले एक्जिट पोलको नतिजा ठिक साबित हुने र बिहारमा फेरि एनडिएको सरकार बन्ने बताएका छन्।
बिहारस्थित भाजपा अध्यक्ष दिलीप जयसवालले पनि जनताले प्रधानमन्त्री नरेन्द्र मोदीको ग्यारेन्टी र मुख्यमन्त्री नितिश कुमारको विकास मोडेलका पक्षमा मतदान गरेको प्रतिक्रिया दिए।
पूर्णियाका सांसद पप्पु यादवले भने यसपालि त्रिशंकु विधानसभा बन्ने वा महागठबन्धन नै जित्ने बताएका छन्।
आरजेडी प्रवक्ता मृत्युञ्जय तिवारीले पनि एक्जिट पोल पहिले पनि गलत साबित भएको र यसपालि फेरि गलत हुने टिप्पणी गरे।
एक्जिट पोलका अनुमानहरू
मैट्राइज–आइएएनएस पोल —
एनडिए: १४७–१६७ सिट
महागठबन्धन: ७०–९० सिट
जन सुराज: ०–३ सिट
दैनिक भास्कर पोल —
एनडिए: १४५5–१६० सिट
महागठबन्धन: ७३–९१ सिट
जन सुराज: ०–३ सिट
पिपल्स पल्स पोल —
एनडिए: १३३–१५९ सिट
महागठबन्धन: ७५–१०१ सिट
पोल डायरी पोल —
एनडिए: १८४–२०९ सिट
महागठबन्धन: ३२–४९ सिट
अन्य एजेन्सीहरूका अनुमान पनि लगभग यस्तै छन्। अधिकांशले एनडिए गठबन्धनलाई स्पष्ट बहुमत दिइरहेका छन्।