फागुन २१ गतेको प्रतिनिधि सभा चुनावअघि महाधिवेशन माग गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका २५ जना केन्द्रीय सदस्यहरूले सामूहिक रूपमा ध्यानाकर्षण पत्र बुझाउने भएका छन्।
कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आज बिहान साढे ११ बजे केन्द्रीय कार्यालय सानेपामा भेटेर २५ जना केन्द्रीय सदस्यहरूले चुनावअघि महाधिवेशनको माग गर्दै लिखित रूपमा ध्यानाकर्षण गराउन लागेका हुन्।
‘कार्यवाहक सभापतिज्यूले बिहान साढे ११ बजेको समय दिनुभएको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘चुनावअघि महाधिवेशन गर्नुपर्छ भनेर ध्यानाकर्षण गराउन लागेका हौं।’
देउवा प्यानलबाट २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य भएकाहरू २५ जनाले चुनावअघि महाधिवेशन माग गर्दै आएका छन्।
असोज २८ गतेदेखि कात्तिक २७ गतेसम्म चलेको केन्द्रीय समिति बैठकमा पनि उनीहरूले महाधिवेशन गरेर मात्रै चुनावमा जानुपर्ने धारणा राखेका थिए। केन्द्रीय समिति बैठक नेताहरूले बोल्ने क्रम सकिएर थप छलफल गरी निर्णय गर्ने भन्दै स्थगित छ।
भोलि दिउँसो २ बजे केन्द्रीय समिति बैठक बस्दैछ। त्यसैले चुनावअघि महाधिवेशन गर्न दबाब दिन २५ जना केन्द्रीय सदस्यहरूले आज ध्यानाकर्षण पत्र बुझाउन लागेका हुन्।
देउवा पक्षका २५ केन्द्रीय सदस्य यसअघि कात्तिक २३ गते सोल्टीमोडमा छलफलसमेत गरेका थिए।
कांग्रेसमा नियमित वा विशेष जे महाधिवेशन गरेर भए पनि चुनावमा जानुपर्ने मत पनि छ भने चुनावपछि महाधिवेशन गर्ने मत पनि छ। त्यसैले केन्द्रीय समितिले यतिका दिनसम्म निर्णय लिन सकेको थिएन।
आज केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बस्दैछ। विशेष महाधिवेशन माग गरेकाहरूले आजै युवा भेला पनि गर्दैछन्।
बिहीबारको केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री गगन थापाले नियमित महाधिवेशन गर्न नमानेकोले अब मंसिर २७ र २८ गते विशेष महाधिवेशन गर्न प्रस्तावसमेत गरेका छन्।
कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका थिए।
यो पनि: