एकीकृत समाजवादी पुनर्गठन अभियानमा लागेका घनश्याम भूसालले एमाले अध्यक्ष केपी शर्मा ओली त्यत्तिकै चुनावमा नआउने बताएका छन्।
अध्यक्ष ओलीले अहिले जसरी ट्याउँट्याउँ गरिरहेका छन्, उनी त्यत्तिकै चुनावमा नआउने सम्भावना रहेको भूसालले टिप्पणी गरेका हुन्। उनलाई मुलुकको राजनीति र समाजले लतार्नु पर्ने धारणा राखे।
एकीकृत समाजवादीका संयोजकसमेत बनेका भूसालले ओली मात्रै चुनावका लागि बाधक भएको बताएका छन्।
‘हामीसँग अलरेडी (पहिले नै) पार्टी छँदैछ। आउने चुनावमा हामीले राम्ररी एजेन्डासहित फेस गर्छौं। हामीले चुनावमा भाग लिने कुरामा हामी प्रष्ट छौं। हामी विप्लवजीहरूसहित चुनावमा जान्छौं। चुनावका लागि ओलीजी मात्रै बाधक हो,’ उनले भने।
अरू कुनै कुराले चुनाव नरोकिने उनले बताए।
‘अहिले देखिएको (चुनाव हुनुहुँदैन भन्ने पक्षमा ओलीजी मात्रै हो। तर मलाई के लाग्छ भने सबैले चुनाव प्रचारप्रसार गरिसकेपछि ओलीजी पनि लतारिनु बाहेक अर्को कुनै विकल्प हुँदैन,’ उनले भने।
भवितव्य वा तात्कालीक प्राविधिक कारणले निर्वाचन सर्ने बेग्लै कुरा नत्र चुनाव सार्नु र रोक्नुपर्ने कारण नरहेको उनले बताए।
‘भवितव्य वा तात्कालीक प्राविधिक कारणले निर्वाचन सर्यो भने त्यो अर्को कुरा हो। नत्र भने सरकारको तयारीको हिसाबले भन्नुहुन्छ, अरू राजनीतिक वातवरणको हिसाबले भन्नुहुन्छ भने चुनाव सार्नुपर्ने, नहुनुपर्ने कुनै कारण देख्दिनँ। ओलीजीले अहिले जुन ट्याउँट्याउँ गर्नुभएको छ। उहाँ सम्भवतः चुनावमा त्यत्तिकै आउनु हुन्न। उहाँलाई मुलुकको राजनीतिले, समाजले, नागरिकहरुले लतार्नेछन्,’ उनले भने।