होटलमा शपथ खाएर विवादमा आएका मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुर विमानस्थलमा आफ्नो समर्थक उतारेर शक्ति देखाएका छन्।
संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतमा मधेसको मुख्यमन्त्री नियुक्त भएका यादवले बर्दिबासको होटलमा शपथ खाएपछि विवादमा आएका थिए।
संवादका लागि भन्दै काठमाडौं आएका यादव शुक्रबार जनकपुर फर्किएका छन्। एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवको स्वागत गर्न एमालेका कार्यकर्ताहरू विमानस्थल पुगेका थिए।
उनको स्वागतका लागि मुख्य सडक र चोकमासमेत कार्यकर्ताहरू माला र खादा लिएर उपस्थित भएका थिए।
यादव मुख्यमन्त्री नियुक्त भएपछि मधेसमा संकट गहिरिँदै गएको छ। यादवविरूद्ध सबै दल एक ठाउँमा उभिएका छन्। ७४ जना सांसदहरूले अदालतमा मुद्दासमेत दायर गरेका छन्। अदालतले पनि यादवलाई दूरगामी महत्त्वको निर्णय नगर्न अन्तरिम आदेश दिइसकेको छ।



