नेपाली कांग्रेसमा विशेष महाधिवेशन गर्नुपर्ने माग गर्दै हस्ताक्षर बुझाएका महाधिवेशन प्रतिनिधिहरूको अगुवाइमा आज युवा भेला हुने भएको छ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशन माग गरेका थिए।
तर विशेष महाधिवेशन प्रक्रिया अघि बढेको छैन। सनाखत पनि भएको छैन। नेताहरूले नियमित महाधिवेशनमा जोड दिए पनि केन्द्रीय समितिले निर्णय लिन सकेको छैन।
यस्तो अवस्थामा विशेष महाधिवेशन सान्दर्भिक रहेको भन्दै विशेष महाधिवेशन पक्षधरहरूले दबाबमूलक भेला गर्दै आएका छन्।
नयाँ बानेश्वरको अर्पण ब्याङ्केटमा आज मध्याह्नका लागि भेला बोलाइएको थियो। अब केहीबेरमा भेला सुरू हुने नेताहरूले बताएका छन्।
हिजो विशेष महाधिवेशन पक्षधरले महिला भेला गरेका थिए। त्यसअघि उनीहरूले काठमाडौं भेला गरेर विशेष महाधिवेशन माग गर्न नेतृत्वलाई आग्रह गरेका थिए।
महामन्त्री गगन थापाले हिजोको केन्द्रीय समितिमा बोल्दै नियमित महाधिवेशन गर्न नेताहरूले नमानेकोले अब विशेष महाधिवेशनमा जानुपर्ने भन्दै त्यसका लागि मंसिर २७ र २८ गतेको मिति प्रस्ताव गरेका थिए।
कांग्रेस केन्द्रीय समिति बैठक भने भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित छ।
नेताहरूसँग केन्द्रीय कार्यसम्पादन समितिमा छलफल गरी समझदारी जुटाउने प्रयासमा कार्यवाहक सभापति छन्। आज दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक धोबिघाटमा बस्दैछ।