नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा आज दिउँसो १ बजे कार्यसम्पादन समिति बैठक बस्न लागेको हो।
बैठक धोविघाटस्थित एक होटलमा बस्नेछ।
केन्द्रीय समिति बैठक स्थगित गरेर कार्यसम्पादन समिति बैठक बोलाइएको हो।
एक महिना केन्द्रीय समिति बैठक चले पनि महाधिवेशन कहिले गर्ने भन्नेमा सहमति जुट्न सकेको छैन।
नियमित महाधिवेशन नभए विशेष महाधिवेशन प्रक्रिया सुरू गर्नुपर्ने भएकोले कार्यवाहक सभापति खड्का दबाबमा छन्।
उनले कार्यसम्पादन समितिमा रहेका नेताहरूसँग छलफल गरी समझदारी बनाउने प्रयास गरेका हुन्।
कार्यसम्पादन समितिमा पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यहरू छन्।
केन्द्रीय समिति बैठक भने भोलि दिउँसो २ बजेका लागि बोलाइएको छ।