केही समयअघिसम्म दलहरूको औचित्य नरहेको भन्दै तिनका कार्यकर्तालाई 'झोले' भनेर लाञ्छित गर्ने धरानका मेयर हर्क साम्पाङ यतिबेला आफै दल खोलेर चुनावी अभियानमा छन्।
यसक्रममा उनी संगठन विस्तारमा मात्रै केन्द्रित छैनन्, आफ्नै नामका पछि ‘वाद’ जोडेर ‘हर्कवाद’ को एजेन्डालाई पार्टीको मार्गदर्शक सिद्धान्त घोषणा गर्ने तहमा पुगेका छन्।
मंगलबार धरानमा आयोजित कार्यक्रममार्फत पार्टीको अवधारणा पत्र तथा एजेण्डाहरु उनले सार्वजनिक गरेका छन्।
हर्कवादलाई पार्टीको मूल सिद्धान्त घोषणा गरेका उनले भनेका छन् ‘अनिवार्य श्रम र श्रमदानको नीति र निरन्तरको अभ्यासले मात्रै अभाव, गरीबी, विभेद र त्यसबाट उत्पन्न द्वन्द्व, लडाइँ, विनाश र अशान्तिको अन्त्य गर्न सकिन्छ भन्ने मूल राजनीतिक दर्शन हो हर्कवाद।’
सामाजिक अभियन्ताका रुपमा खटिँदा मात्रै होइन, २०७९ को स्थानीय चुनाव जितेर धरानको मेयर बनेको लामो समयसम्म पनि साम्पाङले दल र तिनका कार्यकर्तालाई सधैं दुत्कार्दै आए। दलहरूप्रतिको त्यही अनुदार रवैयाकै कारण उनी र दल अन्य जनप्रतिनिधिबीच उपमहानगरमा सधैं बेमेल रह्यो, अझै छ।
यो बेमेलको ग्राफ कति उच्च छ भने, उनी मेयर बनेयता न समयमा बजेट आएको छ, नीति कार्यक्रम नै तालिका अनुसार बन्न सकेको छ। श्रम संस्कृति पार्टी खोलेर अध्यक्ष बनेका उनले आफ्नै नामको सिद्धान्त नै ल्याएका छन्।
त्यसो त उनले कोशीका विभिन्न जिल्लामा सभा गर्ने क्रममा दोहोर्याउँदै आएका छन् ‘यो पार्टीको व्यवहार र जरा भनेकै मै हुँ।’
पछिल्लो महिना दिनयता संगठन विस्तारका लागि म्याराथन रेसमा रहेका साम्पाङले यो कामलाई संगठन विस्तार भनेका छैनन्, ‘श्रमदाता विस्तार’ नाम दिएका छन्।
‘हाम्रो पार्टीमा कोही नेता र कोही कार्यकर्ता हुने छैन,’ पार्टीका अध्यक्षसमेत रहेका मेयर साम्पाङले भने, ‘हाम्रोमा सबै श्रमदाता मात्रै हुन्छन्। म नेता भएर ठूलो कुर्सीमा बस्ने होइन, श्रम गर्दै हिलोमा, धुलोमा भेटिनेछु।’
ठ्याक्कै यही र यस्तै भावुक आह्वान गर्दै आउँदो चुनाव लक्षित गरेर पार्टी खोलेका साम्पाङले कोशी प्रदेशका पहाडी इलाकामा ठूला–ठूला सभा आयोजना गरिसकेका छन्। घरी रोएर, घरी भावुक आह्वान गरेर अनि कतै गीत गाएर सर्वसाधारण आकर्षित गरिरहेका उनले पछिल्लो महिना दिनयता मात्रै कोशीका ८ ठाउँमा ठूला जनसभाहरू गरिसकेका छन्।
हर्क आफै र उनका समर्थकले सामाजिक सन्जालमार्फत सार्वजनिक गरेका ती जनसभाका तस्बिर र भिडिओहरूमा देखिन्छ, उनका सभाहरूमा जनसहभागिता उल्लेख्य छ।
‘अहिलेसम्म हामीले जहाँ–जहाँ सभाहरु आयोजना गरेका छौं, त्यहाँ त्यहाँ जनसमर्थन उच्च पाएका छौं,’ श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले भने, ‘त्यसैले अध्यक्ष ज्यूसहित हामी उत्साही छौं।’
मेयर साम्पाङको दलको केन्द्रीय कमिटीमा आदिवासी–जनजाति समुदायको बाहुल्य रहेको भनेर आलोचना हुँदै आएको छ। आदिवासी–जनजाति बहुल क्षेत्रमै उनले पछिल्ला सभा आयोजना गरेका कारण जनसहभागिता पनि उच्च देखिएको टिप्पणी भइरहेको छ। तर पार्टीले देशैभरि यस्ता सभाहरु आयोजना गर्ने तयारी गरेको महासचिव राईको भनाइ छ।
‘अहिले जिल्ला, स्थानीय तहहरुमा हाम्रो पार्टीका कमिटीहरू धमाधम बनिरहेका छन्,’ उनले भने, ‘सोमबार मात्रै झापाको दमकमा सभा आयोजना भयो।’
यही मंसिर २० मा मकवानपुरको हेटौंडामा त्यस्तै सभा आयोजना गरेर हर्क साम्पाङ कोशी प्रदेश बाहिर निस्कँदैछन्। २१ गते चितवनको नारायणगढमा, २२ गते काठमाडौंको सिफलमा, २३ गते काभ्रे र २७ गते खोटाङममा सभाको तयारी भइरहेको महासचिव राईले जानकारी दिए।
श्रम संस्कृति पार्टीले जिल्लाहरुमा धमाधम समिति बनेको तर सबैको जानकारी संकलन नभइसकेको बताउने गरेको छ। पार्टीले मुलुकका सातै प्रदेशमा कमिटी बनाएको छ। ‘कोशीमा पार्टीले अहिलेसम्म कसैलाई पनि जिम्मेवारी दिएको छैन,’ राईले भने ‘मधेशमा दिपकजंग ठाकुर र ऐनुदिन कवारीलाई इन्चार्जको जिम्मा दिइएको छ।’
बागमतीमा जनजीत तामाङ, लुम्बिनीमा कुलवीर दर्लामी, गण्डकीमा हर्क पुन, कर्णालीमा भगत बराइली र सुदुरपश्चिम प्रदेशमा महेन्द्र पुनलाई इन्चार्जको जिम्मा दिइएको पार्टीले जनाएको छ।
श्रम गरेर मात्रै देश उँभो लाग्ने नारा लगाउँदै चुनावी सभाहरू गर्दै हिँडेका साम्पाङले अघि सारेको हर्कवादमा प्रकृति, सस्कृति र प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्नसक्ने उल्लेख छ। त्यसका लागि अनिवार्य श्रम र श्रमदान उनको सिद्धान्तको मुख्य शर्त छ। हर्कको दलले वालिग मताधिकारद्धारा प्रत्यक्ष चुनिने राष्ट्रपतिको पक्षमा आफूलाई उभ्याएको छ।
साम्पाङका अनुसार कार्यकारी राष्ट्रपतिको एक कार्यकाल ५ बर्षको हुनेछ भने एक व्यक्ति २ पटक भन्दा बढी चुनिन पाउने छैन।
‘राष्ट्रपति र उपराष्ट्रपति एकै लिङ्ग र एकै जाति समुदायको नरहने (दलले उम्मेद्वारी दिँदाको अवस्थामा) तर चुनिँदा के हुन्छ, सो नतिजानुसार हुनेछ,’ उनको भनाइ छ, ‘राष्ट्रपतिले राजनीतिक क्षेत्रबाहिरको बिषय विज्ञ या सांसद जसलाई पनि लिएर आफ्नो पायकको सरकार गठन गर्न पाउने। सांसद सरकारमा गए सांसद पद निलम्बन हुनेछ।’
हर्कका अनुसार व्यवस्थापिका संघमा २ सदनात्मक र प्रदेशमा १ सदनात्मक व्यवस्थापिका रहने कल्पना हर्कवादको छ। संघीय व्यवस्थापिका अन्तर्गत राष्ट्रियसभा सबै प्रदेशका समान प्रतिनिधित्व गर्ने गरी रहने र प्रतिनिधिसभा प्रदेशको जनसंख्याको अनुपातमा पुर्णसमानुपातिक प्रतिनिधत्व रहने व्यवस्था हुनुपर्ने उल्लेख छ।
प्रदेशका मुख्यमन्त्रीसमेत स्थानीय सरकार चुनिए झैं प्रत्यक्ष निर्वाचित हुने र राज्यका सबै अंगहरुमा आदिवासी, जनजाति, खसआर्य, मधेशी, दलित, मुस्लिम र अल्पसंख्यक सिमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्ने गरी समानुपातिक प्रतिनिधित्व गर्ने पुर्ण समानुपातिक निर्वाचन प्रणाली अंगीकार गर्ने यो दलको एजेन्डा छ।