चालु आर्थिक २०८२/८३ को तेस्रो त्रैमास (माघ–चैतसम्म) सकिन अब पाँच दिन मात्र बाँकी छ। बजारमा अध्ययन गरेर लगानी गर्नेहरू अहिलेदेखि नै राम्रा कम्पनी छानेर लगानी गर्न थाल्छन्।
अन्य समयभन्दा यो फरक समय हो। यदि अहिले कुनै व्यक्तिले हल्लाको भारमा मात्रै सेयर किनिरहेको छ भने केही सातामा निस्किने वित्तीय विवरणका कारण सो मूल्य टिकाउ नहुने अवस्था पनि आउन सक्छ।
अर्कोतर्फ चैत मसान्त सकिँदै गर्दा बैंकहरूबाट सेयर कर्जा लिएर लगानी गरेकाहरूलाई कर्जाको किस्ता तिर्न मार्जिन कल पनि आउँछ। यही कारण यस्तो समयमा धितोमा राखिएका सेयरहरूको मूल्यमा अस्वाभाविक उतारचढाव समेत आइरहेको हुन सक्छ।
त्यसैले अन्य बेलाभन्दा यो समयमा धेरैले कम्पनीको वित्तीय विवरणमा हुन सक्ने सुधारहरूको आधारमै लगानी गर्छन्। यो सही लगानी रणनीति पनि हो।
त्यसो भए अब कुन क्षेत्रमा के हेर्ने त?
पहिले बैंक तथा वित्तीय क्षेत्रलाई हेरौं।
बैंकहरूको ब्याजदर घट्ने क्रममा रहेकाले उनीहरूको ब्याज आम्दानी सामान्य मात्र सुधार हुन वा यस्तो आम्दानी घट्न सक्छ। तर बैंकहरूले यसअघि कर्जा असुलीमा भइरहेको समस्याका कारण राखेको प्रावधान रकम कर्जा असुलीमा आएसँगै फिर्ता भएको हुन सक्छ।
यसले बैंकहरूको नाफा बढाउन सक्छ।
पहिलो, दोस्रो त्रैमासदेखि यसमा सुधार देखिँदै गएका बैंक तथा वित्तीय संस्थाहरू लगानीको लागि राम्रो विकल्प हुन सक्छ। तुलनात्मक रूपमा सुरक्षित लगानी क्षेत्र मानिएका वाणिज्य बैंकहरूको मूल्य पनि कम छ।
विकास बैंक र वित्त कम्पनीमा केहीको मूल्य उच्च छ। यस्तोमा यस्ता संस्थाहरूको वित्तीय सूचक हेरेर राणनीति बनाउनुपर्छ।
त्यसैले, अगाडिका त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरूको प्रति सेयर आम्दानी, खराब कर्जा, वितरण योग्य मुनाफा लगायत सूचकमा सुधार भइरहेको छ, छैन हेर्नुपर्छ।
हाइड्रोपावर (जलविद्युत) क्षेत्र
यो समयमा पानीको बहाव बढ्न थालेकाले जलविद्युत क्षेत्रको उत्पादन र आम्दानी दुवै बढ्ने सम्भावना हुन्छ। विशेषगरी नदीको बहावमा आधारित आयोजनाहरूमा यस्तो सम्भावना छ। अहिले बैंकहरूको ब्याजदर न्यून विन्दुमा रहेकाले जलविद्युत कम्पनीहरूको ब्याज खर्चमा पनि सुधार हुने देखिन्छ।
तर केही समय अघिदेखिको पेट्रोलियम पदार्थ आपूर्तिमा विश्वभर भइरहेको अवरोधका कारण निर्माण चरणमा रहेका वा अन्य निर्माणाधीन आयोजनामा लगानी गरिरहेका जलविद्युत कम्पनीको लागत बढिरहेको हुन सक्छ। यस्ता पक्षमा लगानीकर्ताले ध्यान दिन जरूरी छ।
जीवन बीमा र निर्जीवन बीमा क्षेत्र
यी कम्पनीहरूको आम्दानीको स्रोत बीमालेख मात्र हुँदैन। यस्ता कम्पनीले जारी गर्ने बीमालेख वा व्यवसाय बढिरहेको छ कि छैन भनेर हेर्नुपर्छ। नियामक निकाय बीमा प्राधिकरणले यस्तो तथ्यांक हरेक महिना सार्वजनिक समेत गरिरहेको हुन्छ।
यस्ता कम्पनीहरूमा परिरहेको दाबीको संख्या कस्तो छ, ठूला बीमा दाबी कत्तिका छन्, बीमालेख नवीकरणको दर कस्तो देखिँदै आएको छ भन्ने जस्ता पक्षमा ध्यान दिनुपर्छ।
त्यसबाहेक यस्ता कम्पनीको लगानीबाट आउने आम्दानी पनि राम्रो स्रोतका रूपमा हुन्छ। कम्पनीहरूको खुद नाफा वृद्धि, सञ्चित कोष लगायत सूचक समेत हेरेर रणनीति बनाउनुपर्छ।
तुलनात्मक रूपमा कम संख्यामा सूचीकृत कम्पनीहरू रहेका उत्पादन, होटल तथा अन्य क्षेत्रहरू मूल्य उच्चले उतारचढाव हुने क्षेत्रमा समेत पर्छन्। यस्ता कम्पनीको मूल्य उच्च भएकै कारण लगानीकर्ताहरू डराइरहेका पनि हुन्छन्।
तर, आर्थिक गतिविधि बढ्न थालेमा यिनको आम्दानीमा पनि सुधार हुन्छ।
यस्ता कम्पनी छनोट गर्दा सबभन्दा महत्त्वपूर्ण कुरा आम्दानी वृद्धि हो। पर्यटन लगायत क्षेत्रमा अहिले आर्थिक गतिविधि केही कमजोर भएको छ। अन्तर्राष्ट्रिय स्तरमा बढेको द्वन्द्वले पर्यटक आगमनमा खासै सुधार भएको छैन।
यसको प्रभाव सूचीकृत कम्पनीमा परे वा नपरेको, हेर्न सकिन्छ। होटलको अकुपेन्सी दर बढेको छ भने आम्दानी बढ्छ।
त्यसैले यी अवस्था कस्ता छन्, हेर्नुपर्छ।
पेट्रोलियम पदार्थ आपूर्तिमा आएको अवरोधका कारण कतिपय उत्पादनमूलक उद्योगको लागतमा केही वृद्धि भएको छ। कतिपयले उत्पादित वस्तुको मूल्य बढाएर पनि यसलाई समायोजन गरिरहेका छन्।
लगानीकर्ताले यस्ता विषयमा पनि चासो राख्नुपर्छ।