भेनेजुएलाले धमाधम अमेरिकी नागरिक पक्राउ गर्न थालेको छ।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार पछिल्ल महिनामा मात्रै कम्तिमा ५ जना अमेरिकी नागरिकहरूलाई भेनेजुएलाको सुरक्षा बलले पक्राउ गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि दबाब बढाउँदै जाँदा त्यसको प्रत्युत्तरमा भेनेजुएलाले अमेरिकी नागरिकहरूलाई पक्राउ गर्न थालेको भनेर सिएनएनले लेखेको छ।
पक्राउ परेकाहरू केहीमाथि लागुऔषध तस्करीमा संलग्न भएको हुन सक्ने बताइएको छ। यद्यपि उनीहरूमाथिको आरोप के हो भनेर ठ्याक्कै खुलाइएको छैन।
अमेरिकी अधिकारीहरूले ट्रम्पले दबाब नबढाऊन् भनेर भेनेजुएलाले उनीहरूलाई हतियारको रूपमा प्रयोग गर्न खोजेको आरोप लगाएका छन्।
हाल अमेरिकी अधिकारीहरूले उनीहरू पक्राउ पर्दा भेनेजुएलामा के गरिरहेका थिए भन्नेबारे थप जानकारी संकलन गरिरहेको जनाइएको छ।
ट्रम्प प्रशासनका अधिकारीहरूका अनुसार मादुरो सरकारले अमेरिकाविरुद्ध कूटनीतिक दबाब सिर्जना गर्न जानाजानी अमेरिकी नागरिकलाई थुनामा राखिरहेको छ।
हालैका महिनामा अमेरिकाले भेनेजुएलाविरुद्ध प्रतिबन्धित तेल ट्यांकरहरूमा प्रतिबन्ध, लागुऔषध तस्करीमा संलग्न जहाजमाथि कारबाही, साथै सीआईए ड्रोनमार्फत भेनेजुएलाको एक बन्दरगाह संरचनामाथि आक्रमण गरेको थियो।
यो रणनीति भेनेजुएलाको निकट सहयोगी रुससँग मिल्दोजुल्दो रहेको अमेरिकी अधिकारीहरूको भनाइ छ।
रुसले पनि पछिल्ला वर्षहरूमा अमेरिकी नागरिकलाई पक्राउ गरी वासिङ्टनसँगको तनावपूर्ण सम्बन्धमा दबाबको माध्यम बनाउँदै आएको छ।
अमेरिकी विदेश मन्त्रालय र ह्वाइट हाउसले यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्।
ट्रम्प प्रशासनले खुलेर शासन परिवर्तनको कुरा नगरे पनि मादुरोलाई अवैध राष्ट्रपति र लागुऔषध तस्करसँग जोडिएको आरोप लगाउँदै आएको छ।
गत डिसेम्बरमा अमेरिकाले मादुरोका आफन्तहरूमाथि प्रतिबन्ध लगाएको थियो। त्यही महिनामा भेनेजुएलाभित्र पहिलोपटक स्थल लक्ष्यमा आक्रमण गर्दै एक बन्दरगाहमा ड्रोन हमला गरिएको सिएनएनले जनाएको छ।
यस विषयमा प्रतिक्रिया दिँदै मादुरोले हाल भेनेजुएला सुरक्षित रहेको दाबी गरेका छन्।
'राष्ट्रिय सुरक्षा प्रणालीले देशको शान्ति र भू–अखण्डता सुनिश्चित गरेको छ,' उनले राज्य–नियन्त्रित टेलिभिजनसँगको अन्तर्वार्तामा भनेका छन्।
मानवअधिकार समूहहरूका अनुसार भेनेजुएलामा सयौं राजनीतिक बन्दी छन्।
सन् २०२४ को विवादास्पद निर्वाचनपछि पनि धेरैलाई पक्राउ गरिएको थियो। बिहीबार केही दर्जन बन्दी रिहा गरिएको भए पनि तीमध्ये कोही पनि अमेरिकी नागरिक नभएको अधिकारकर्मी अल्फ्रेडो रोमेरोले बताएका छन्।