नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको बताएका छन्।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकका लागि शुक्रबार सानेपास्थित पार्टी कार्यालय आएका बेला पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले भने, 'विशेष महाधिवेशन हुँदैन। त्यसको औचित्य उहिल्यै समाप्त भइसकेको छ। मंसिर १५ गते नै सकिइसक्यो।'
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी १५औं महाधिवेशन स्थगन भएको र सर्वसम्मतिमै विशेष महाधिवेशनतर्फ केन्द्रीय कार्यालय अघि बढेको बताएका थिए।
सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औं महाधिवेशन कार्यतालिकाअनुसार अघि बढ्न नसकेपछि एउटा सूचनासमेत जारी नगरेको अवस्थामा महामन्त्रीद्वयले यस्तो विज्ञप्ति निकालेका हुन्।
यस सम्बन्धमा सोधिएको प्रश्नमा निधिले भने, 'हामी निर्वाचनमा जाने तयारी गर्दैछौ, अरू कुरा थाहा छैन।'
त्यसपछि पत्रकारहरूले 'महाधिवेशनका लागि भृकुटीमण्डपमा हल बुक भइसकेको' कुरा उठाउँदा निधिले भने, 'महाधिवेशन हुँदैन।'