नेपाली कांग्रेसका सह-महामन्त्री फरमुल्लाह मन्सुरले कांग्रेसमा गगन थापाको नेतृत्व रोक्न पार्टी फुटको हौवा देखाइएको आरोप लगाएका छन्।
कार्यसम्पादन समिति बैठकअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग बोल्दै सहमहामन्त्री मन्सुरले पार्टी कब्जा गर्नेहरूले विशेष महाधिवेशन गरे पार्टी फुट्ने हल्ला चलाइरहेको आरोप लगाएका हुन्।
'सक्दै नसक्ने, हिँड्ने नसक्ने, बोल्नै नसक्ने मान्छे नेतृत्वमा रहेर कांग्रेस बलियो हुन्छ? गतिशील, विचारशील, संगठनमा कौशलता, आफू पनि बुझ्न सक्ने लेख्न र अरूलाई पनि बुझाउन सक्ने गगन थापाको नेतृत्व रोक्नका लागि यो पार्टी फुटको हौवा देखाएर पार्टीलाई यथास्थितिमा राख्ने षड्यन्त्र भइरहेको छ। यो षड्यन्त्रलाई चिर्ने काम हाम्रो हो,' उनले भने।
उनले पार्टी फुटका निम्ति नभई बलियो र गतिशील बनाउनका लागि विशेष महाधिवेशन आवश्यक रहेको बताएका छन्। तर कब्जा जमाएर आफ्नो स्वार्थ सिद्धीमा लागेकाहरू महाधिवेशन हुन नदिने र स्वघोषित नेता बन्ने धुनमा रहेको उनको भनाइ छ।
'बरू चुनावमा १० वटा सिट जितोस् कि ५ वटा जितोस्। तर पार्टी मेरो कब्जामा रहोस् भन्ने षड्यन्त्रकारी छन्। यस्ता परिवर्तन विरोधीले यो काम गरिरहेको कारणले अहिले विशेष महाधिवेशनद्वारा नयाँ नीति र नयाँ नेतृत्व लिएर जाऔं भनेर कांग्रेसको परिवर्तनकामी शक्तिहरूको नेतृत्व गर्ने गगन थापा र विश्वप्रकाश जीहरूको विशेष महाधिवेशन गर्ने सन्दर्भ आएको हो,' उनले भने।