नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक शुक्रबार बस्दै छ।
अपराह्न ३ बजेदेखि सुरू हुने भनिएको बैठकका लागि नेताहरू केन्द्रीय कार्यालय सानेपा पुग्ने क्रम जारी छ।
विशेष महाधिवेशनको प्रतिवेदन लेख्नका लागि धुलिखेल गएका महामन्त्री गगन थापा पनि बिहानै काठमाडौं फर्किएका थिए। उनी पनि केन्द्रीय कार्यालय पुग्दै छन्।
कांग्रेसमा नियमित महाधिवेशनको कार्यक्रम अगाडि नबढेपछि दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन प्रक्रिया अघि बढाएका छन्।
त्यसका लागि पुस २७ र २८ गते भृकुटीमण्डपस्थित हल बुकिङसमेत भइसकेको छ।
तर सभापति देउवा पक्ष भने आमचुनाव मुखमा आएका बेला विशेष महाधिवेशन गर्न नहुने पक्षमा छ। विशेष महाधिवेशन अघि बढ्ने पार्टी फुट्ने भनेर संस्थापन पक्ष नेताहरूले बताइरहेका छन्।
विशेष महाधिवेशन अघि बढाइएको विषयमा छलफल गर्नका लागि शुक्रबार कार्यसम्पादन समिति बैठक बोलाइएको हो।
बैठकमा सहभागी हुन कार्यवाहक सभापति खड्का पनि सानेपा पुगिसकेका छन्।
कार्यालय भित्र प्रवेश गर्नुअघि उनलाई पत्रकारहरूले प्रश्न गरे- जटिलताको समाधान के हुन्छ?
'निर्णय आउँछ,' कार्यवाहक सभापति खड्काले दुई शब्दमा उत्तर दिए।