नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वैशाख मसान्तमा महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका आएको बताएका छन्।
वैशाख मसान्तमा १५औं महाधिवेशन गर्ने गरी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यतालिका प्रस्तुत गरेको निधीले बताए।
आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि नेता विमलेन्द्र निधिले पत्रकारहरुसँग कुराकानी गर्दै भने, 'वैशाख २८ देखि ३१ गतेसम्म १५औं महाधिवेशन गर्ने गरी कार्यवाहक सभापतिज्यूले संशोधित कार्यतालिका ल्याउनुभएको छ। यही विषयमा छलफल भइरहेको छ।´
कांग्रेसको १५औ महाधिवेशन पुष २६ देखि २८ गतेसम्म गर्ने यसैको कार्यतालिका कार्यान्वयन नभएपछि नेताहरूबीच फेरि छलफल भएको हो।
यसैबीच ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पुष २७ गतेदेखि विशेष महाधिवेशन गर्ने भन्दै भृकुटी मण्डपस्थित हल बुकिङ गरेका छन्।
नेता निधिले भने यस बीचमा नियमित महाधिवेशन कार्यतालिका आइसकेकोले विशेष महाधिवेशनको औचित्य सकिएको दाबी गरे।